राजवंशी विश्वविद्यालय स्थापना गर्न पहल

राजवंशी समाज विकास केन्द्रीय समितिले राजवंशी विश्वविद्यालय स्थापना गर्न पहल सुरु गरेको छ । राजवंशी समाज विकास समिति केन्द्रीय कार्यालयको आयोजनामा झापाको बिर्तामोडमा राजवंशी विश्वविद्यालय स्थापनार्थ प्रारम्भिक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी पहल सुरु गरेको हो ।
कार्यक्रममा नेपालमा राजवंशी विश्वविद्यालयको आवश्यकताका बारेमा छलफलका साथै महत्वपूर्ण विषयवस्तुमा शिक्षा क्षेत्रमा आबद्ध विद्वान, प्राध्यापक, राजवंशी समाजका अगुवा, बुद्धिजीवीहरूले आ–आफ्ना सुझाव तथा धारणा राखेको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए ।
नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव तथा राजवंशी समाज विकास समितिका केन्द्रीय उपाध्यक्ष मोहन राजवंशीको अध्यक्षता तथा भारतीय वायु सेनाका अवकाश प्राप्त वीङ कमाण्डर डा. रञ्जितकुमार मण्डलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
राजवंशी समाज विकास केन्द्रीय समितिले आगामी केन्द्रीय समितिको पूर्ण बैठकमा ‘राजवंशी विश्वविद्यालय स्थापनार्थ’ निर्णय गर्ने राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए । नेपालको झापा र मोरङमा राजवंशीहरूको बाहुल्य छ ।