जाजरकोट अस्पतालको भवन निर्माण अन्तिम चरणमा

३० करोड लागतमा निर्माण भइरहेको जाजरकोट अस्पतालको अत्याधुनिक भवन निर्माणको अन्तिम चरणमा पुगको छ ।
संरचना अभाव हुँदा उपचारमा असहजता आएपछि २६ असार २०७७ देखि नयाँ भवन निर्माण सुरु गरिएको थियो । संघीय आयोजना कार्यान्वन इकाई सुर्खेतले उक्त भवन निर्माण गर्न ३० करोड २९ लाख ४७ हजार ८४ रुपैयाँ खर्च गरिरहेको छ ।
३० महिनाभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ काम सुरु गरेको निर्माण कम्पनी सिनर्जी, ज्ञानज्योति, क्षितिज जेभी कोटेश्वर काठमाडौंले तोकिएकै मितिमा सम्पन्न गर्न आफू तयार रहेको जानकारी दिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख नवराज कँडेलले जानकारी दिए ।
२५ पुस २०७९ भित्र निर्माण कार्य पूरा गरी हस्तान्तरण गर्ने योजनामा रहेको निर्माण कम्पनीका प्रतिनिधि मनोज गौतमले जानकारी दिए । भवनको १६ असोज २०७७ मा तत्कालीन वन तथा वातारणमन्त्री शक्तिबहादुर वस्नेतले शिलान्यास गरेका थिए । ६ वटा नयाँ अत्याधुनिक भवन निर्माणको काम जारी रहेको गौतमले बताए । चारवटा भवनको रंगरोगनको काम सम्पन्न भएको र दुईवटा भवनमा रंगरोगनको काम चलिरहेको छ । भौतिक संरचना अभावमा उपाचरमा समस्या आएपछि तत्कालीन वनमन्त्री शक्तिबहादुर बस्नेतले अत्याधुनिक भवन बनाई सेवा प्रवाहमा सहयोग गर्न आफू प्रतिबद्ध भएको बताएका थिए ।
उनको यो चुनावी नारासमेत रहेको थियो । स्वास्थ्य सेवा कार्यालय र अस्पताललाई ५० शैयामा स्तरोन्नति भए पनि संरचना अभावमा काम गर्न मुस्किल हुँदै आएको थियो ।
प्रदेश सरकारको ५० लाख लगानीमा भवन निर्माण कार्य जारी रहेको समयमा उपचार गर्न सहजहोस् भनी केही संरचना निर्माण गरिएको थियो । विभिन्न रोगका कारण धेरै सर्वसाधारणले ज्यान गुमाएपछि जाजरकोट अस्पताललाई २०७३ जेठमा १५ शैयबाट ५० शैयामा रूपान्तरण गरिएको थियो ।
भौतिक संरचना अभावकै बीचमा शैया मात्र विस्तार गरिएको भन्दै चर्को आलोचना भएपछि नयाँ अत्याधुनिक भवनका साथै चिकित्सकसहित स्वास्थ्यकर्मीको दरबन्दीसमेत थपेर काम सुरु गरिएको थियो । अभावकै बीचमा काम गर्दै आएको अस्पताल र स्वास्थ्य सेवा कार्यालयले अब नयाँ भवन निर्माण सकिए लगत्तै पूरै सेवा प्रवाहका लागि आफू तयार रहेको बताएको छ ।
सुर्खेतको मेहलकुना र जाजरकोट अस्पताल मात्र ५० शैयामा रूपान्तरण भएका थिए । अन्य जिल्लामा १५ शैयाका अस्पताल नै रहेका छन् । जाजरकोट अस्पतालभन्दा छिमेकी जिल्लाका अस्पताल १५ शैयका अस्पताल छन् । संघीय सरकारकै पहलमा जाजरकोटमा अक्सिजन पलान्ट जडान गरी अक्सिजन उत्पादन सुरु भएको छ ।
अस्पताल प्रदेश मातहतमा रहेको छ । पालिकामा समेत स्वास्थ्य संस्थाहरू निर्माण कार्य जारी छ । पालिकाले आफै तलब, भत्ता उपलब्ध गराउने गरी मेडिकल अधिकृतहरू भर्ना गरेर सेवा प्रवाह गरिरहेका छन् ।