Logo

जाडोयाम सुरुसँगै घटे डेंगुका बिरामी

जाडोयाम सुरु भएसँगै अस्पतालहरूमा डेंगुका बिरामीहरू कम हुँदै गएका छन् ।
काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दसैँ सुरु हुनुअघिको तुलनामा दसैँ अवधिमा डेंगुका बिरामीहरू कम हुँदै गएको हो । डेंगुको संक्रमण खास गरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुने गर्छ । दसैँ अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडो याम शुरु भएसँगै डेंगुको संक्रमण कम हुँदै गएको र बिरामीहरू पनि कम अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए । उनका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत छन् भने एक जना आईसीयूमा उपचाररत छन् ।
त्यस्तै इमर्जेन्सीमा करिव ७० जना दैनिकजसो उपचारका लागि आइरहेको उनले बताए । सूचना अधिकारी गौतमले अस्पतालमा अन्य सरुवारोगका बिरामीहरू भने यस वर्ष विगतको तुलनामा कम रहेको बताए ।
उनले दसैंको बेलामा अस्पतालले डेंगु बढ्ने भन्ने अनुमान गरेर आवश्यक तयारी गरेपनि बिरामीहरू कम भएको बताए । सबैले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, घर वरपर पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा डेंगीबाट बच्न सक्ने बताए । उनले डेंगुको प्रकोप अझै रहने भएकाले केही समयसम्म सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे ।
उनले भने, ‘अहिले हामीले डेंगीको प्रकोप झेलिरहेका छौँ । अस्पतालमा साधारण बेडमा ११ जना भर्ना भएर उपचाररत हुनुहुन्छ । आइसीयूमा एकजना हुनुहुन्छ । इमर्जेन्सीमा करिव ७० जना दैनिकजसो आइराख्नुभएको छ । अरु सरुवा रोगहरू कम नै छ । असोजको मध्यतिर पनि सर्पदंशका बिरामीको संख्या बढी छ, कम भएको छैन । ५ जना भर्ना भएर उपचाररत हुनुहुन्छ । डेंगीका बिरामीको संख्या भने पहिलाको भन्दा केही घटेको छ । दसैंमा हामीले जसरी डेंगु बढ्छ भनेर अनुमान गरी तयारी गरेका थियौँ । त्यो अनुसार भने बिरामी बढ्नुभएन । त्यसलाई राम्रो नै मान्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा हामी डेंगीबाट बच्न सक्छौँ । नेपाल सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आवश्यक छ ।’
सूचना अधिकारी गौतमले विगतको वर्षमा भन्दा यस वर्ष सर्पदंशका बिरामीहरू भने बढीरहेको बताए । गत वर्षहरूमा असोज महिनाबाट सर्पदंशका बिरामीहरू धेरै नआएको तर यस वर्ष भने हाल पनि ५ जना सर्पदंशका बिरामीहरू अस्पतालमा उपचाररत रहेको बताए । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने देशभर भएको केही दिनको निरन्तर वर्षाले झाडापखाला, हैजा र डेंगुको खतरा बढेकाले सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्