Logo

झापामा सन्थाल नृत्यको रौनक

नेपालीहरूको महान पर्व दसैं सुुरु भएसँगै झापामा सन्थाल नृत्य सुरु भएको छ ।
दसैंको घटस्थापनादेखि नवमीसम्म मुरली, झ्याम्टा र ढोल बोकेर टोली–टोली मिलेर देउसी खेले जस्तै दसैं गीत गाउँदै र नाच्दै घर घर र बजारमा नृत्य देखाउने उनीहरू बिजयादशमीको दिनदेखि झापाका विभिन्न स्थानमा लागने दशैंमेलामा सामूहिक नृत्य देखाउँदै आएका छन् । दसैंमा ‘दुर्गा पूजा’ धुमधामका साथ मनाउने उनीहरूले गाउँगाउँमा स्थापना गरिएका दुर्गा माताका मन्दिरमा पनि नृत्य प्रदर्शन गर्ने गरेका छन् । सन्थाल पुरुष र महिला रङ्गीचङ्गी पहिरन, कमिज गञ्जी, धोती, शिरमा मयुरको प्वाँख र ऐना, कम्मर र खुट्टामा झुम्का र कल्ली लगाएर दसैं मेलामा मौलिक सांस्कृतिक नृत्यहरू बाजा गाजासहित देखाउने गरेका छन् ।
हरेक वर्षको दसैंमा सन्थाल जातिको सांस्कृतिक नृत्य मुख्य आकर्षण बन्ने गरेको छ । पछिल्लो समय लोप हुँदै गएको सन्थाल समुदायको भेषभुषा, रहनसहन, भाषा, संस्कृतिको संस्कृति संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले झापाका विभिन्न स्थानमा दसैं मेला तथा सन्थाल नृत्य प्रतियोगिता गरिँदै आएको छ ।
झापाको घैलाडुव्वा, डाँगीबारी, गरामनी, सैनिकमोड, गौरीगन्ज, टाघनडुब्बा, फूलबारी, महाभारा, लालपानी, शरणामती, झापाबजार, चारआली, लखनपुर, पाडाजुँगी, मंगलबारे, गेउरिया, तोपगाँछी, गौरादहका विभिन्न स्थानमा लाग्ने मेलाहरूमा सन्थाल जातिको नृत्य मुख्य आकर्षण बन्ने गरेका छन् ।
दसैंको बेला मात्र मुख्य आकर्षण बन्ने सन्थाल जातिको नृत्यलाई निरन्तरता दिन कठीन बन्दै गएको झापा बाह्दशीका ताला मुर्मू बताउँछन् ।
विभिन्न संघ–संस्थाका कार्यक्रम र राजनीतिक दलका सभा सम्मेलनमा समेत झाँकी प्रस्तुतिका लागि निम्त्याइने गरे पनि आफूहरूलाई बाजा र पोसाक जुटाउनै हम्मेहम्मे पर्दै गएको उनले बताए ।
पछिल्लो समय सन्थाल समुदायका युवा रोजगारीका लागि भारत तथा अन्य मुलुक जाने गरेकाले नृत्य टोली जुटाउन पनि कठिन हुँदै गएको कमल गाउँपालिका लखिराम मुर्मू बताउँछन् । आफूहरूले नाचेरमात्र घरव्यवहार चलाउन कठीन हुने भएकाले अरू पेसा अंगाल्नुपर्ने बाध्यताले आफ्नो नृत्य संस्कृतिलाई निरन्तरता दिनै कठिन हुँदै गएको उनले बताए ।
पूर्वी नेपालको झापामा सन्थालको जनसंख्या ५१ हजारभन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्