गर्जाङ–खिम्ती प्रसारण लाइन तयार

गर्जाङ–नयाँ खिम्ती १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्धारित समयभन्दा ३ वर्ष बढी समय लगाएर पूरा भएको छ । गर्जाङमा निर्माण भएको सब स्टेसन र प्रसारण लाइनको परीक्षण चार्ज सुरु भएको छ ।
खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको हो । प्रसारण लाइन चार्ज गर्दा जोखिम हुने भएकाले प्रसारण लाइनको टावर र तारमुनी नजाने आयोजनाले सूचना समेत जारी गरेको छ । गर्जाङ र न्यू खिम्ती सब स्टेसनका उपकरणको परीक्षण भने एक हप्तादेखि गरिएको आयोजना प्रमुख अनुप गौतमले जानकारी दिए ।
रामेछापको गोकुलगंगा गाउँपालिकाको गर्जाङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) को नयाँ खिम्ती सबस्टेसनमा टुंगिने ३१ किलोमिटर लामो लाइन निर्माणको काम पूरा भएको हो । लाइनमा १०५ वटा टावर निर्माण गरिएको छ । लाइन परीक्षणको बाँकी काम दसैं विदा लगत्तै भएर नियमित प्रसारणमा जाने उनले बताए ।
आयोजना अन्तर्गत गर्जाङमा १३२ केभीको नयाँ सबस्टेसन र नयाँ खिम्ती सबस्टेसनमा १३२ केभीको ‘वे’ निर्माण गरिएको छ । गर्जाङ सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी ६/८ एमभिए क्षमताका थ्री फेज पावर ट्रान्सफर्मरहरू जडान गरिएको छ ।
गर्जाङ सबस्टेसनबाटै स्थानीय रूपमा विद्युत् दिइने भएकोले त्यस क्षेत्रको विद्युत् आपूर्ति पनि भरपर्दो र गुणस्तरीय हुने भएको छ । यो प्रसारण लाइनबाट २ सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ ।
आयोजना प्रारम्भिक काम आर्थिक वर्ष २०६७/६८ बाट सुरु भएको थियो भने निर्माण लागि पिङगाओ ग्रुप कम्पनी, चीनसँग २ वर्षमा पूरा गर्ने गरी २०७३ माघमा ठेक्का सम्झौता भएको थियो । उपल्लो खिम्ती र माथिल्लो खिम्ती आयोजनाका प्रवद्र्धक हिमालय ऊर्जा विकास कम्पनीका प्रवद्र्धकहरू सम्बद्ध फ्रेन्डसीप इन्जिनियरिङले सब कन्ट्रयाकमा काम लिएको थियो ।
स्थानीयको जग्गा विवाद, कोभिड १९ को लकडाउन, ठेकेदारको ढिलासुस्तीले आयोजनाको काम ४ वर्ष ढिला भएको हो । प्रसारण लाइन तपार भएपछि गर्जाङमा तयार भएको १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती दोस्रो जलविद्युत आयोजनाबाट उत्पादित विद्युत र ३ मेगावाटको चाके खोलाको विद्युत तत्कालै प्रवाह हुने छ । यो प्रसारण नहुँदा खिम्तीका यी ३ वटै आयोजनाको विद्युत् जिरी–चरिकोट–सिंगटी ३३ केभी प्रसारण लाइन मार्फत प्रवाह भइरहेको छ । केही वर्षमै निर्माणाधिन ४८ मेगावाटको खिम्ती २ र लिखु खोलामा निर्माणाधीन आयोजनासमेत यसमा जोडिने छन् ।
गर्जाङ– खिम्ती प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा रामेछापको गोकुलगंगा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोसी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध गरेका थिए । केही स्थानमा मार्गधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दै प्रसारण लाइनको तार तान्न दिएका थिएनन् ।