Logo

हिन्दू राष्ट्रका लागि छिट्टै सडकमा आउँछौं : राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दू राष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले आफूहरुले हिन्दू राष्ट्र बनाउने बाचा गरिसकेकोले यसको लागि सम्पूर्ण शक्तिहरु सशक्त सडक संघर्षमा उत्रिने बताएका हुन् ।
उनले भने, “नेपाललाई विदेशीको ईशारामा दुईचार जना नेताले धर्मनिरपेक्ष बनाए । हाम्रो पार्टी यसको विरुद्धमा छ । अब सम्पूर्ण शक्ति एक भएर धर्मनिरपेक्षतालाई उल्टाउँछौं ।” उनले नेपालमा ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ॐकार परिवार रहेकोले अब सबै एकीकृत भई हिन्दूराष्ट्र बनाउन लाग्नुपर्नेमा जोड दिए । उनले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि विदेशी सहयोग नचाहिने पनि स्पष्ट पारे । राणाले थपे, “नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि हामीलाई अन्तको सहयोग चाहिँदैन । हामीसँग भएको संख्या नै काफी छ ।”
अध्यक्ष राणाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिबेला ढुलमुल भएर बसिरहेको पनि आरोप लगाए । उनले भने, “कांग्रेसले प्रमुख विपक्षीको भूमिका खेल्नै सकेको छैन । अब कांग्रेसले प्रष्ट रुपमा विरोधी शक्तिको नेतृत्व लिनुपर्छ ।” राणाले वर्तमान ओली सरकार यही रुपमा अघि बढे उपयुक्त छैन भन्ने कुरामा कांग्रेस प्रष्ट हुनुपर्नेमा जोड दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा विम्स्टेक राष्ट्रका प्रमुखहरुलाई बोलाइएको र नेपालका प्रधानमन्त्री ओली पनि सहभागी भएको उल्लेख गर्दै मोदी र ओलीबीच के–के कुराकानी भयो भन्ने कुरा आफूलाई थाहा नभएको बताए । राणाले नेपाल–भारतबीचको सम्बन्ध राम्रो हुनुपर्नेमा पनि जोड दिए ।
आफ्नो पार्टी र कमल थापाले नेतृत्व गरेको राप्रपाबीच एकताको सम्भावना रहेको पनि सुनाए । उनले भने, “राय मिल्ने शक्तिसँग एकता हुन्छ ।” अध्यक्ष राणाले वर्तमान प्रधानमन्त्री ओलीले राजनीतिक रुपमा बहुदलीय व्यवस्था यता अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गरेको पनि सुनाए । उनले भने, “उहाँले एमाले र माओवादी केन्द्रलाई एकता गरेर नेकपा बनाउनुभयो । नेकपाले चुनावमा भारी बहुमत हासिल ग¥यो । उपेन्द्र यादवसहित उाँले दुई तिहाईको सरकार बनाउनुभयो । यो राजनीतिक रुपमा ठूलो सफलता हो ।”
शक्तिशाली सरकार गठन भएको एक वर्षभन्दा बढी समय व्यतीत भइसक्दा पनि अहिलेसम्म जनताले ठोस उपलब्धि प्राप्त गर्न नसकेको उनको आरोप छ । उनले भने, “आखिरीमा यो सरकारको काम हेर्दा हात्ति आयो हात्ति फुस्साजस्तै छ ।”
प्रधानमन्त्री ओलीले प्राप्त म्याण्डेटअनुसार काम गर्न नसकेको उनको आरोप छ । उनले भने, “जनताले उहाँलाई मनपरी गर्नको लागि बहुमत दिएको होइन । बरु राष्ट्र बनाउनको लागि दिएको हो । त्यो कुरा उहाँले बुझ्नुपर्छ । अहिले लामो अवधि भैसक्यो उहाँले शासन गर्नुभएको, तर मुलुक फेरवदल गर्न केही पनि गर्न सक्नुभएन ।”

प्रतिक्रिया दिनुहोस्