Logo

नेपालकै नमुना महभीरको ‘रक क्लाइम्बिङ’

इलाममा रहेको रक क्लाइम्बिङ स्थल नेपालकै नमुना रहेको पर्यटनकर्मीको भनाइ छ । सहासिक खेल तथा पर्यटनका रुपमा लिइने रक क्लाइमिङ फराकिलो र सम्भावनाका हिसावले नेपालकै नमुना रहेको पर्यटन कर्मीको धारणा रहेका छ ।
इलाम सदरमुकाम इलाम नगरपालिका ८ स्थित महभीरमा रहेको सो स्थल नेपालमै राम्रो र नमुना स्थल भएको पर्यटनकर्मीले ठहर गरेका छन् । ‘नेपालका अन्य रक क्लाइम्बिङ स्थलहरु कुनै पनि यो (महभीरको रक क्लाइम्बिङ स्थल) जत्तिको राम्रो र फराकिलो नभएको बताइएको छ । त्यसैले यो ठाउँ बढी भन्दा बढी सम्भावना भएको उनीहरुको भनाइ छ ।
दुवै मोहडाबाट सगरमाथाको आरोहण गरिसकेकी कीर्तिमानी आरोही एवम् रक क्लाइम्बिङकी प्रशिक्षक तथा इलाम नगरपालिकाको पर्यटन सद्भावना दूत कल्पना महर्जनका अनुसार ‘महभीर पर्यटनका लागि इलामको गहना’ हो । उनले नेपालका कुनैपनि रक क्लाइम्बिङ स्थल महभीरमा जस्तो फराकिलो, राम्रो, अग्लो भएको बताइन् । “यो ठाउँलाई भगवानले चाहीँ दिएकै हो” कल्पनाको उत्सुकता भाव सहतिको भनाइ छ । यसको प्रचार गर्नसके धेरै देशीविदेशी खेलाडीको आकर्षणस्थल बन्ने उनको विस्वास छ ।
उनले महभीरको रक क्लाइम्बिङ स्थलको बढी भन्दा बढी प्रचार गर्नुपर्ने, यहाँ स्थानीय युवालाई आधारभूत तालिम नै सञ्चालन गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु सञ्चालन गर्नुपर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई रक क्लाइम्बिङका लागि प्रोत्साहित गर्नुपर्ने बताइन् । प्रचार प्रसारका लागि इलामकै सञ्चारकर्मी र सरोकारवालाहरुले बढी भन्दा बढी भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।
“गर्न सकियो भने नेशनल खेलको पनि सम्भावना छ । स्पोर्टस इन्डोर वाल क्लाइम्बिङ चाहिँ ओलम्पिकमा छिरिसकेको गेम हो । हामीसँग नेपालभरीमा पचासमात्र खेलाडी छन् । यो ठाउँले थप नेशनल खेलाडी उत्पादन गर्न सक्छ । यही ठाउँले स्थानीय युवाहरुलाई रोजगार दिनसक्छ । खेलाडीको रुपमा विकास गर्न सक्छ । स्थानीय बासिन्दाको आर्यआर्जन बृद्धि हुनसक्छ । इलामलाई देश बिदेशमा चिनाउँछ” कल्पनाको जोड थियो, ‘तर प्रचार नगरे त्यो सम्भावना मर्छ ।” नेपालमा मुस्ताङको रक क्लाइम्बिङ स्थलमात्र महभीरको भन्दा केही अग्लो भएको भन्दै कल्पनाले मुस्थाङको पनि भुइँको सतह भने महभीरको जस्तो फराकिलो नभएको बताइन् ।
पर्यटन पत्रकारितामा समेत कलम चलाइरहेकी कल्पनाले महभीरका अरु भागमा पनि आकर्षक ठाउँहरु भएको र यहाँ भएका बोट बिरुवा, नजिकैको माई नदी, हाइड्रोपावर जस्ता ठाउँहरु यहाँका थप आकर्षक भएको बताइन् । त्यसका लागि यो ठाउँ सम्भावनाले युक्त छ । कल्पना अहिले इलाम नगरपालिका क्षेत्रको पर्यटन विकासका लागि दूतको काम गर्दै आएकी छिन् ।
रोल्पा घर भएकी रक क्लाइम्बर खेलाडी तथा रक क्लाइम्बिङ खेलकी प्रशिक्षक मनिषा बुढामगरले पनि महभीरको रक क्लाइम्बिङ स्थलमा अहिले नै चारपाँच वटा रुट बन्न सक्ने बताइन् । “यो स्थानलाई अझ डेकोरेसन र ब्यवस्थापन गर्न सके नेपालकै नम्बर १ मा आउनसक्ने सम्भावना छ” मनिषाले भनिन्, “त्यसका लागि स्थानीय र सरोकारवालाले भूमिका खेल्नुपर्छ ।” यो जत्तिको फराकिलो ठाउँ आपूmले अहिलेसम्म नदेखेको पनि उनको भनाइ थियो ।
महभीरमा पहिलोपटक रक क्लाम्बिङसम्बन्धि सात दिने आधारभूत तालिम आयोजना गरेको याम बहादुर गुरुङ (कमल) फाउण्डेशनका अध्यक्षसमेत रहेका इलाम नगरपालिकाको पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष प्रकाश अधिकारीले नेपालमै रक क्लाम्बिङका लागि राम्रो स्थान भएकोले यो स्थानलाई विकास गर्नुपर्ने बताए । उनले भने, “यो ठाउँको विकास भएको खण्डमा यसले पर्यटक भित्र्याउन र स्थानीयको आयआर्जन बढाउन ठूलो सहयोग पुग्छ भनेर यसका जानकारहरुले बताएपछि हामी त्यसमा अलि बढी समय दिँदैछौँ ।”
इलामको साँखेजुङका स्थानीय बासिन्दा एकपटक सफलतापूर्वक सगरमाथाको आरोहण गरिसकेका यामबहादुर गुरुङ पनि महभीरको रक क्लाइम्बिङको विकासका लागि आफू लागि परेको बताउँछन् । “यो जत्तिको ठाउँ अन्यत्र छँदै छैन । यसलाई उजागर गर्न सकियो भने सम्भावनै सम्भावना छ” गुरुङले थपे, “तर यसका लागि पत्रकारबाट थप सहयोग हुनु पर्‍यो । सरकारी निकाय र अन्य सरोकारवालाले पनि जोड दिए हुन्छ ।” देश दिेश घुमिसकेका र वाल क्लाइम्बिङ खेलमा भाग पनि पटक पटक लिइसकेका गुरुङले महभीरको रक क्लाइम्बिङको विकासमा थप पाइला चाल्ने बताए ।
उनले महभीरसम्म पुग्ने मोटरबाटो कालोपत्रे बन्नसके त्यहाँ बाह्य खेलाडी र पर्यटकलाई भित्र्याउन सहज हुनेमा जोड दिए । इलाम सदरमुकामबाट त्यस स्थानमा पुग्न साढे पाँच किलोमिटर मोटरमा हिँड्नु पर्छ । ८५ फिट अग्लो महभीरको रक क्लाइम्बिङ स्थलमा दुई तह छ । यसमा रक क्लाइम्बिङका लागि रोप (डोरी) अड्याउन हालसम्म एक रुटमा मात्र चारवटा नट (फलामको किला) लगाइएको छ । अब तत्कालै नगरपालिकालाई आग्रह गरेर अरु नट लगाइने आरोही कल्पनाले बताइन् ।
यस क्षेत्रको विकास गर्न सम्वन्धित पक्षले चासो देखाउने हो भने यहाँको विकास सम्भव छ । नयाँ र साहसिक पर्यटक भित्र्याउन यस क्षेत्रले समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्