चितवनमा डिजिटल स्मार्ट स्वीच बोर्ड उत्पादन सुरू

चितवनबाट डिजिटल स्मार्ट स्वीच बोर्ड उत्पादन सुरु भएको छ । भरतपुर महानगर–१६ स्थित मोहनपुरमा रहेको एड्भान्सटेक इण्डट्रष्टिज प्रालिले नेपालमै पहिलो पटक डिजिटल स्मार्ट स्वीच बार्ड उत्पादन सुरु गरेको हो । २८ जनाको लगानीमा खुलेको उद्योगले पहिलो चरणमा ९ थरीका स्वीच बोर्डहरु बजारमा ल्याएको छ ।
उद्योगका अध्यक्ष सुनिलकुमार यादवले ३ बाई ३ र ३ बाई ५ साइजका आकर्षक स्वीच बोर्डहरु उत्पादन भएको बताए । हाल मासिक ३ हजार थान स्वीच बोर्डहरु उत्पादन भएकोमा छिटै मासिक ५ हजार थान स्वीच बोर्डहरु उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो । करिब ६ वर्ष परीक्षण तथा अनुसन्धानपछि उत्पादनलाई बजारमा लैजान लागिएको उनले बताए ।
अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टमा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा विई पढेका माडीका जीवन दवाडी, सप्तरी राजविराजका सुनिल कुमार यादव, निजगढ बाराका सागर तिमिल्सिना लगायतको समूहले स्वीच बार्डको अवधारणाबारे प्राजेक्ट बनाए । अध्ययनकै शिलशिलामा सिकेका कुरालाई व्यवहारमा उतार्न उद्योगको रुप दिइएको छ ।
विई पढेका उद्योगका उत्पादन प्रमुख जीवन दवाडीले फाइभ जी टेक्नोलोजीमा आधरित स्वीच बोर्डले विस्तारै उपभोक्ताको मन जित्ने बताए । बत्ती, पंखा, फ्रिज, टिभीलगायतका सम्पूर्ण विद्युतीय उपकरणलाई मोबाइल एप प्रयोग गरी फोनको सहायताले चलाउन वा बन्द गर्न मिल्ने सुविधासमेत स्मार्ट स्वीचमा रहेको छ । स्क्रिन टच, रिमोर्टबाट समेत स्वीच अनअफ गर्न मिल्ने सुविधाहरु रहेका छन् । आकर्षक डिजाइनमा तयार रहेका स्मार्ट स्वीचबोर्डको बजारीकरण कार्य सुरु हुने उनले जानकारी दिए ।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठले विद्युतीय बजारमा नयाँ प्रविधि भित्रिएको बताए । आर्थिक केन्द्रका रुपमा विकास भइरहेको चितवनबाटै पहिलो पटक स्मार्ट स्वीच बोर्डको व्यवसायीक उत्पादन सुरु हुनु खुशीको कुरा भएको उनले बताए । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले घरायसी तथा उद्योग, व्यवसायमा नयाँ प्रविधिको जरुरत भएको बताए । उनले स्मार्ट स्वीचले सहजता ल्याउने अपेक्षा लिइएको बताए ।
नेपाल विद्युत व्यवसायी महासंघका निर्वतमान अध्यक्ष तेजनारायण खरेलले आंशिक रुपमा नेपालमा स्मार्ट स्वीच बोर्डहरु प्रयोगमा आएपनि पहिलो पटक उत्पादन सुरु भएकोमा खुशी व्यक्त गरे । उनले समय सापेक्ष डिजिटल स्वीच बोर्ड उत्पादन चितवनबाट हुनु गौरवको विषय भएको बताए । उनले बजारीकरणमा विद्युत व्यवसायीहरुले सघाउने प्रतिवद्धता जनाए । उत्पादित डिजिटल स्मार्ट स्वीच बोर्डको ४ हजारदेखि ८ हजार ५ सय रुपैयाँसम्म रहेको छ ।