राष्ट्रिय खेलकुदका संरचना बनाउन चुकेको पोखरा

गण्डकी प्रदेशले ३९ वर्षअघि जोगाएको साख के यसपालि राख्न सक्ला, यतिबेला गण्डकी प्रदेशवासीको मनमा निकै कौतूहलता भएको छ । खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद्ले खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले २०३८ सालमा १६ खेलबाट सुरु गरेको उक्त प्रतियोगिता तत्कालीन गण्डकी अञ्चलमा २०४० सालमा दोस्रो संस्करणको उक्त खेलकुद हुँदा गण्डकी दोस्रो भएको थियो, त्यो साख यसपालि जोगाउन सक्ला कि नसक्ला, यति वेला प्रदेशवासीको कौतूहलताको विषय भएको छ ।
नेपालगन्जमा भएको आठौं खेलकुदमा बागमतीपछि विभागीयबाहेकमा गण्डकीले १२ स्वर्णसहित दोस्रो समग्रमा चौथो भएको थियो । १३ औं सागलाई लक्षित गरी पोखरामा १ अर्ब २८ करोडको लागतमा पोखरा फुटवल स्टेडियम बन्यो । त्यसैगरी हाल पोखरामा ह्यान्डबल, भलिबल, बास्केटबल, आर्चरी, टेनिसको ट्रेनिङ सेन्टर नै स्थापना भएको छ भने वैकल्पिक फुटबल मैदान, क्रिकेट मैदान, ब्याडमिन्टन कोर्टसहितको हललगायतका खेलकुदका भौतिक संरचना बनेका छन् । पोखरेलीहरूका लागि अर्काे दु:खको कुरा के छ भने २० करोडको लागतमा पोखरा रंगशालामा निर्माण हुने भनिएको पौडी पोखरी र सुटिङको टे«निङ सेन्टर नवौं खेलकुदमा पनि बन्न भने सकेन । यही असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने उक्त प्रतियोगितामा पौडीसहित अधिकांश खेल पोखरा र पोखरा रंगशालामा हुने भएको हो । महिला क्रिकेट भने पोखरा रंगशालामा आइतबारबाट सुरु हुँदै छ ।
यसैबीच, उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा २०७६ वैशाख ११ गते आठौं खेलकुद सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव तथा कार्यकारी समितिका संयोजक केशवकुमार विष्टले गण्डकी प्रदेश खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलाई नवौं संस्करणको आयोजनाका लागि झन्डा हस्तान्तरण गरेका थिए । नवौं राष्ट्रिय खेलकुदका बारेमा विभिन्न व्यक्तिहरूसँग कारोबारकर्मी दीननाथ बरालले गरेको कुराकानीको सार :
पहिलेको संरचनाले ३७ वर्ष थेग्यो
खेमबहादुर गुरुङ
खेलकुदकर्मी
पोखरामा २०४० सालमा निर्माण भएको खेलकुदको भौतिक संरचनाले करिब ३७ वर्षजसो थाम्न सक्यो तर ३९ वर्ष पनि पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित हुने गरी खासै खेलकुदका भौतिक संरचना निर्माण हुन नसक्नु हामी पोखरेलीका लागि दु:खको कुरा हो । करिब तीन वर्षअघि १३ औं दक्षिण एसियाली खेदलकुद पोखरामा पनि आठ खेल हुने भएकाले केही भौतिक संरचना भएको थियो, त्यसकै आधारमा हाल चुनौतीका बाबजुत जबरजस्ती नवौं खेलकुद पोखरामा हँुदै छ ।
दोस्रो राष्ट्रिय खेलकुदमा स्वयम्सेवक उपसमिति संयोजक तथा निर्माण समितिको सदस्य भएको हुनाले साँच्चै तत्कालीन अवस्थामा पनि हतारहतारमा निर्माण भएको पोखरा रंगशालाले करिब ३७ वर्षसम्म थाम्न सक्यो, त्यो हाम्रो लागि ठूलो उपलब्धि भएको थियो तर नवौंमा पोखरामा हुनुपर्ने पौडी पोखरी र सुटिङलगायतका खेलकुदको संरचना बन्न नसक्नु हाम्रो लागि ठूलो दुर्भाग्य हो । दोस्रो राष्ट्रिय खेलकुदका बेला दर्शक र पर्यटक भनेको अलि कम हुन्थ्यो, हाल पोखरामा भने कुनै पनि खेलमा दर्शक र पर्यटकहरू उत्तिकै रूपमा सहभागिता हुने गरेको छ । यस कारण यसपालि हुने खेलकुदमा पोखरेली मैदानमा दर्शक र पर्यटकहरूको राम्रो सहभागिता हुने हामीले अपेक्षा गरेका छौं । ३९ वर्षअघि पोखरा चिनाउन जुन रूपमा दोस्रो खेलकुदले गर्यो तर हाल जुन रूपमा नवौंले पोखरा चिनाउन र पोखरामा हुने नवौं खेलकुदको प्रचारप्रसार व्यापक हुनुपर्ने हो तर त्यो हुन नसकेको मलाई भान भएको छ । जुन रूपमा नवौंले लोकप्रियता र जताततै यसको चर्चा–परिचर्चा हुनुपर्ने हो त्यो अलि कमी भएको मेरो ठम्याइ छ । पहिला मेडल र पुरस्कारको जुन रूपमा महŒव थियो पछिल्लो समयमा यसको भन्दा पुरस्कार राशिमा बढी खेलाडीहरूको आकर्षण बढेको पाइन्छ । गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदलाई अब हामी सबै पोखरेलीहरू उत्साहित भई एकजुट भई भव्य र सभ्य रूपमा सम्पन्न गर्न लाग्नुपर्ने समय आएको छ ।
नवौं राष्ट्रिय खेलकुदमा नबनेको खेल संरचना अर्को वर्ष वा एक–दुई वर्षमा बन्ने कुरामा हामीलाई विश्वास छैन । विश्वकप, ओलम्पिकजस्ता खेलकुदको ठूलो मेगाइभेन्टजस्तै हाम्रो लागि राष्ट्रिय खेलकुद नै हो । खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद्ले जुन रूपमा खेलकुद र खेलाडीहरूको विकास गर्ने उद्देश्यले आयोजना गर्दै आएको राष्ट्रिय खेलमा दोस्रो संस्करणमा पोखरामा करिब ३ हजार खेलाडी, अफिसियलसहितको उपस्थिति रहेको थियो भने हाल नवौंमा भने करिब १० हजारभन्दा बढी खेलाडी, प्रशिक्षकसहितको अफिसियलहरूको सहभागिता हुने भएको छ । कास्की जिल्ला फुटबल संघको अध्यक्ष हुँदै प्रदेश अध्यक्ष हुँदा पोखरा रंगशालामा निर्माण भएको पोखरा फुटबल स्टेडियम पानी चुहिने हुँदा कतै दुर्घटना पो हुन्छ कि भन्ने चिन्ता हुन्थ्यो । यद्यपि सागले गर्दा १ अर्ब २८ करोडको लागतमा हालै १६ हजार ५ सय सिट क्षमताको पोखरा फुटबल प्यारापिट बन्नु हाम्रो लागि ठूलो उपलब्धि हो । तत्कालीन अवस्थामा दैनिक भत्ता करिब ३५ रूपमा पाएका थियौं भने हाल २ हजारसम्म पुगेको मैले बुझेको छ । यसबाट के प्रस्ट हुन्छ भने समय कति परिवर्तन सिल छ पहिलाको र अहिलेको मूल्य श्रृङ्खला कहाँबाट कहाँ पुगेको छ ।
नेपालीहरूको महान् पर्व दसैं सकिन नपाउँदै अनौपचारिक रूपमा सुरु हुने नवौं राष्ट्रिय खेलकुदकै बीचमा निर्वाचनको माहोल आएको छ भने अर्को ठूलो चाड तिहार पर्वसमेत नवौं खेलकुद सकिएलगत्तै आउने छ । यसले पनि एनआरएनहरूलाई समेत पुनर्मिलनको रूपमा समेत रहने मैले विश्वास लिएको छु ।
हतारमा कमीकमजोरी भए
तेजबहादुर गुरुङ
सदस्य सचिव
प्रदेश खेलकुद परिषद्, गण्डकी
३९ वर्षपछि प्रदेशमा नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता हँुदै छ । यो ज्यादै महŒवपूर्ण विषय हो । यो गण्डकी प्रदेशको मात्र नभई संघीयतापछिको पहिलो संस्करणको सुरुवात हाम्रो प्रदेशमा हुनु समग्र देशकै लागि पनि ठूलो कुरा हो । कोभिडबाट प्रभावित भएको अवस्थामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु हाम्रो लागि ठूलो उपलब्धिको हो । यद्यपि हामीले हतारमा गर्ने यस प्रतियोगिताको दौरानमा केही कमीकमजोरी भए होलान्, तर यसलाई समग्रतामा सकारात्मक रूपमा हेर्नुपर्छ । ३९ वर्षपछि पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा धेरै परिवर्तन अवश्य हुनुपथ्र्याे, तर देशको राजनीतिक, सामाजिकलगायतका कारणले गर्दा दुई–दुई वर्षमा हुने उक्त प्रतियोगिताले पोखरेलीमा खेलकुदका देखिने गरी ठूला भौतिक संरचना निर्माण गर्न भने चुुकेकै हो । पौडी पोखरीबिना निजी स्तरमा गर्नुपर्ने सुटिङ काठमाडौंमा गर्नु बाध्यताले गर्दा हामीलाई यसको सधै अभाव हुने नै भयो । २०४० सालमा जसरी म पश्चिमाञ्चलको टिमबाट ह्यान्डबलको कप्तानको रूपमा खेलेर स्वर्ण पदक दिलाएको व्यक्ति केही वर्षको अन्तरालमै उक्त प्रतियोगिता व्यवस्थापन गर्ने जुन पदमा पुगेर काम गर्न पाउनु मेरो लागि अर्को खुसीको कुरा हो । मैले खेलाडी प्रशिक्षक हुँदा जे कुरा सिकें, त्यो अब यस खेलमा लागू गर्दै छु । यो अभियानमा राखेप, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय पोखरा महानगरपालिकाको सहयोग प्राप्त भएको छ भने आम पोखरेली र नागरिक समाजको समेत सहयोग प्राप्त भएको छ । यस खेलकुदमा ३६ खेलमा ८ देखि १० हजार जना खेलाडीसहितको अफिसियलको सहभागिता हुनुले कोभिडबाट थलिएको खेलकुदको चलायमान हुनुको साथै पर्यटनको समेत प्रवद्र्धन हुने हामीले विश्वास लिएका छौं । नवौं खेलकुदले होटल रेष्टुरेन्टहरू मात्र नभई यातायातदेखि यहाँका धेरै क्षेत्रको आर्थिक चलायमान हुने हामीले विश्वास लिएका छौं । देशको विषम परिस्थितिमा हुने यस खेलकुदलाई सफल पार्ने हामी सबै प्रदेशवासी तथा पोखरेलीहरूको अलि बढी जिम्मेदारी भएकोले यहाँ आउने खेलाडीहरूको हौसला र प्रोत्साहनका लागि विभिन्न निजी व्यपारिक प्रतिष्ठानहरूले छुटसहितको प्याकेज सुविधा उपलब्ध गराउनसमेत यस पत्रिकामार्फत अनुरोध गर्छु ।
विषम परिस्थितिमा हुन लागेको यस खेलकुदले धेरैलाई सन्देश दिनुका साथै संघीयताको पहिलो अभ्यास हो । जेजस्तो परिस्थितिमा पनि पोखरेलीहरू एक हुन्छन् भन्ने सन्देश १३ औं सागबाट दिएको अवस्थामा पुन: अब नवौं खेलकुदले थप छर्लङ्ग पार्नेछ । गण्डकी प्रदेशले यस वर्षपछि प्रदेशस्तरमा दोस्रो र समग्रमा चौथो स्थामान रहने गरेका छौं । ४० देखि ५० स्वर्ण पदक ल्याउने हाम्रो दाबी हो ।
खेलकुदको महत्व बुझाउन सकेका छौं
राजेशकुमार गुरुङ
सदस्य, संयोजक
राखेप, खेल मैदान व्यवस्थापन उपसमिति
३९ वर्षको लामो अन्तरालमा गण्डकी प्रदेशमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले समग्र प्रदेशवासीलाई खेलकुदको महŒव बुझाउन थप सहयोग पुग्ने छ । हामीले यस प्रतियोगिताबाट जुन रूपमा अपेक्षा गरेका थियौं यद्यपि धेरै खेलकुदका भौतिक संरचनाहरू त बनाउन सकेनौं, तर खेलकुदको महŒव बुझाउन र छोटो समयमा खेल पर्यटन प्रवद्र्धनमा भने अवश्यक सहयोग पुग्ने हामीले विश्वास दिएका छौं ।
यस खेलले गण्डकी प्रदेशका मनाङ, मुस्ताङ र लमजुङ बाहेक ८ जिल्लामा हुने खेलकुदले प्रदेशको राजधानी पोखरासहित अन्य जिल्लामा समेत खेलकुद र पर्यटनको प्रवद्र्धन हुने हामीले विश्वास लिएका छौं । जसरी हामी खेल मैदान अवलोकन गर्न विभिन्न जिल्लामा पुग्यौं, उहाँहरू जुन रूपमा सकरात्मक ढंगले हामीलाई स्वागत सत्कार र खेल आयोजना गर्न आग्रह गर्नुभएको थियो, हामीले प्राविधिक टोलीसँगको सहकार्यमा सम्भव र मिलेसम्म उचित खेल मैदान व्यबस्थापन गरेका छौं । प्रदेशको राजधानी पोखरामा धेरै खेलकुदहरू हुनु स्वाभाविक हो, किनभने पोखरा रंगशाला सम्भवत: देशकै ठूलो रंगशाला धेरै खेल मैदान एकै थलोमा हुनुले पनि पोखरामा धेरै खेलकुद प्रतियोगिता हुने भएको हो । यही असोज २८ देखि एक साता गण्डकी प्रदेशको राजधानी पोखरा केन्द्रित हुने गरी उक्त प्रतियोगिता पोखरामा हुनेछ । यसले आर्थिक क्रियाकलापमा समेत धेरै सकारात्मक प्रभाव पार्नेछ । देशको यस्तो परिस्थितिमा पनि यस खेलकुद आयोजना गर्नु ठूलो कुरा हो । यसमा हामीले सोचे जति धेरै खेलकुदका भौतिक संरचनाहरू त बनाउन सकेनौं, तर हामीले जस्तोसुकै समयमा पनि पोखरामा खेलकुद गर्न सक्छौं भन्ने गतिलो सन्देश भने दिन सक्नेछौं । १३ औं सागमा जसरी हामीले धेरै क्षेत्रबाट इज्जत प्राप्त गरेका थियौं, त्यो इज्जत नवौं राष्ट्रिय खेलकुदमा जोगाउन सक्नुपर्छ । पोखरा रंगशालामा बक्सिङलगायतका केही खेलका लागि रकम विनियोजन हुनु सकारात्मक कुरा हो । जब पर्यो राति तब बूढी ताती भन्ने नेपाली समाजमा चलिआएको उखानजस्तो खेलकुुदको हतार–हतारमा हुने भौतिक संरचनाले दिगोपन र त्यसको गुणस्तरमा सधैं प्रश्न उठ्न सक्छ । त्यसकारण कम्तीमा एक वर्षअघि भौतिक पूवर्धार निर्माणमा जुट्नुपर्छ, त्यसपछि राज्यको लगानी दिगो हुन्छ । गण्डकी प्रदेशमा हुने खेलकुदको कुम्भ मेलाले ठूलो आर्थिक चलायमान हुनेछ, आगन्तुक पाहुनालाई खेलस्थलका स्थानीयले भव्य स्वागत गरी आफ्नो पहिचान दिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं । खेल मैदान व्यवस्थापनमा जुन रूपमा हामीलाई एक वर्षअघि जिम्मा दिएर समयमै आवश्यक बजेटको प्रबन्ध हुनुपर्ने हो, त्यो हुन नसक्दा हाल जेनतेन भएका भौतिक खेलकुदका संरचनामा मर्मत–सम्भार गरीकन हाल काम चलाउने अवस्थामा मैदान व्यवस्थापन भएको छ ।