Logo

मुस्ताङको स्वादिलो स्याउ बजारमा

मुस्ताङमा उत्पादन भएको स्याउ बजारमा आएको छ । बजारीकरणका लागि बगैंचामा यतिबेला स्याउ व्यापारीहरुको चहलपहल बढेको छ ।
बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्तिलाई रोक्दै यस वर्ष भदौको अन्तिम सातादेखि मात्र कृषकलाई स्याउ टिप्न दिने निर्णय कृषि ज्ञान केन्द्र मुस्ताङ कार्यालयले गरेको थियो । मुस्ताङमा उत्पादन भएको स्याउ सडक सुविधाले बिक्रीमा सहज भएको छ । म्याग्दीको सदरमुकाम बेनी, बागलुङ कुस्मा, पोखरा, काठमाडौंलगायतको सहरमा स्याउ पुगेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए ।
उनका अनुसार, यस वर्ष मुस्ताङमा स्याउ उत्पादन बढेको छ । बिगतका वर्षहरुमा बोटबाट स्याउ नपाक्दै बजारमा लैजाँदा उपभोक्ताले मुस्ताङको स्याउमा गुणस्तर खस्किएको गुनासो गरेपछि यस वर्षदेखि बोटमा पाकेपछि मात्रै बजारमा स्याउ निर्यात गर्न थालिएको छ । अनुकुल मौसमका कारण यस वर्ष स्याउ उत्पादन बढेको अनुमान गरिएको कार्यालय प्रमुख बस्ताकोटीले बताए । गत वर्ष ५ हजार ५ सय ६४ मेट्रिक टन स्याउ बिक्रीबाट मुस्ताङमा ५१ करोड रुपैयाँ भित्रिएको थियो । मुस्ताङमा १ हजार ४ सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएकोमा ५८० हेक्टरमा गरिएको स्याउका बोटहरुले उत्पादन हुने गरेको छ । जसमध्ये ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती विस्तार भएको छ ।
जिल्लाको थासाङ गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ बाहेक ५ वटै स्थानीय तहमा स्याउ खेती हुँदै आएको छ । स्याउको राजधानीको रुपमा चिनिने मुस्ताङमा स्याउ खेतीलाई थप व्यावसायिक र विस्तार गर्न कृषि ज्ञान केन्द्रले नि:शुल्क काटुन सहयोग, प्राविधिक सुविधा र स्थानीय सरकारले गाउँमै सडक पहुँचले कृषकलाई स्याउ खेतीमा सहज भएको छ । कार्यालयले स्याउ खेती विस्तार र बजारीकरणका लागि बल्क विस्तार कार्यक्रम समेत सञ्चालन गरेको छ ।
मुस्ताङमा स्थानीय परम्परागत रैथाने स्याउसँगै उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती विस्तारले तीव्रता पाएको छ । उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती अन्तरगत गाला, फुजी, रिङरुट, गोल्डेन डेलिसियस र जोनाप्रिन्स प्रजातिका स्याउ खेती विस्तारले पछिल्लो समय तीव्रता पाएको छ । बारागुङ मुक्ति क्षेत्र र घरपझोङ गाउँपालिकामा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती बढी विस्तार भएको छ ।
स्याउ मुस्ताङको मुख्य नगदे बाली हो । व्यापारीले किसानको स्याउ बगैंचामा प्रतिकेजी ९० देखि १ सय रुपैयाँमा खरिद गरी बेनी, बागलुङ, पोखरा, काठमाडौं लगायतका बजारमा बिक्री गर्दै आएका छन् । बजारमा मुस्ताङी स्याउको मूल्य प्रतिकिलो २ सयदेखि ३ सय रुपैयाँसम्म पर्ने गरेको छ । हिमालपारिको जिल्ला मुस्ताङमा पुगेको सडक सुविधाले कृषकको बगैंचामा स्याउ कुहिएर जाने समस्या हटेको छ ।

प्रतिक्रिया दिनुहोस्