Logo

कृषि हाटबजारको टहरा प्रयोगविहीन

कृषिउपजलाई बजारीकरण, प्रशोधन र भण्डारणका लागि म्याग्दीमा निर्माण भएका कृषि हाटबजारको टहरा प्रयोगविहीन भएका छन् ।
ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका तरकारी, फलफूल र खाद्यान्न बाली बजारीकरणमा सघाउने उद्देश्यले निर्माण भएका कृषिउपज, बीउ संकलन केन्द्र र हाटबजारका पूर्वाधार बेवारिसे बनेका हुन् ।
तत्कालिन कृषि विकास कार्यालयले निर्माण गरेको मंगला गाउँपालिका केन्द्र बाबियाँचौरको कृषि हाटबजार पूर्वाधार प्रयोगविहीन अवस्थामा छ । मंगला गाउँपालिकाको माटेबगरमा हाटबजारका दुई वटा टहरा र कृषिउपज संकलन केन्द्रको दुई वटा भवन छन् । हाटबजारको भवनमा निर्माण सामग्री थुपारिएको छ । कृषिउपज संकलन केन्द्रको एक वटा भवनलाई गाउँपालिकाले भण्डारणमा प्रयोग गरेको छ । अर्को प्रयोग भएको छैन ।
बेनी र बाबियाचौरमा केही समय हाटबजार सञ्चालन भएपनि त्यहाँ कृषकले ल्याएको तरकारी, फलफूल र पशुपन्छी बिक्री नहुँदा बन्द हुन पुगेको मंगला गाउँपालिका– २ का वडाअध्यक्ष धनबहादुर खातीले बताए । वडाध्यक्ष खातीले कृषक संगठित भएर आएमा कृषि पूर्वाधार प्रयोगमा ल्याउन गाउँपालिकाले सघाउने बताए । “गाउँपालिकाले कृषिलाई प्राथमिकता दिएर कृषि औजार कृषकलाई वितरण गरेको छ” उनले भने । करोडौं लगानीमा बनेका पूर्वाधार बेवारिसे बने पनि कृषकले भने उत्पादित उपजको उचित मूल्य पाउन नसकेको अवस्था छ ।
राज्यले करोडौ लगानी गरेको कृषि बजारीकरण गर्ने पूर्वाधारहरु विचौलियाका कारण प्रयोगविहीन बनेका हुन् । स्थानीय सरकारले कृषि र पशुपालन समृद्धिको आधार भनेपनि कृषि पूर्वाधार प्रयोगमा ल्याउन सकेका छ्र्रैनन् । कृषकलाई फलफूल र तरकारी बिउबिजन वितरण र तालिममा मात्र पालिकाको ध्यान केन्द्रित छ ।

प्रतिक्रिया दिनुहोस्