Logo

चुमनुब्रीको स्याउ बिक्रीका लागि गोरखकाली मेला

गोरखा सदरमुकाममा जारी तेस्रो गोरखकाली मेलामा जिल्लाको चुमनुब्री गाउँपालिकामा फलेको स्याउ बिक्री गरिएको छ । चुमनुब्री गाउँपालिका ४ को पोरमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउ खेती गरेका लाक्पा डुण्डुप लामाले बिक्रीका लागि स्याउ मेलामा ल्याएका थिए । पहिलो चरणमा किङ रेड डेलिसियस र गाला जातका तीन हजार किलो स्याउ बिक्रीका लागि ल्याइएको किसान लामाले बताए । गोरखकाली मेलाको स्टलमा प्रतिकिलो ५ सय रुपैयाँमा स्याउ बिक्री गरिएको छ ।
सडक सञ्जालले नजोडिएको चुमनुब्रीमा उत्पादित स्याउ हेलिकोप्टरबाट ढुवानी गरिएको हो । “बगैंचाबाट हेलिकोप्टरले ६ उडानमा स्याउ काठमाडौं पुर्‍यायो” लामाले भने, “काठमाडौंबाट ट्रकमा राखेर स्याउ गोरखा सदरमुकाम ल्याएकोे हुँ । ढुवानी खर्चमात्रै प्रतिकिलो डेढसय रुपैयाँ छ । त्यसैले ५ सय रुपैयाँ किलोमा बेच्नुपर्‍यो ।” स्याउ बगैंचामा थोकमा प्रतिकिलो २ सय ५० र खुद्रा प्रतिकिलो ३ सय ५० रुपैयाँमा बिक्री गर्ने गरिएको उनको भनाइ छ । ३ वर्ष अघि एक सय ५० रोपनी क्षेत्रफलमा ४ हजार ३ सय ७० स्याउको बोट रोपेर ब्यबसायिक रुपमा स्याउ खेती गरेका लामाले गत वर्षबाट उत्पादन बिक्री सुरु गरेका हुन् ।
उनले गत वर्ष हेलिकोप्टरमार्फत २ हजार किलो स्याउ काठमाडौं पुर्‍याएर बिक्री गरेका थिए । यो वर्षको उत्पादन गोरखाबाट नै बिक्री सुरु गरेको लामाले बताए “गोर्खालीलाई आफ्नै जिल्लामा स्याउ फल्छ भन्ने जानकारी दिनका लागि पनि मेलामा स्टल राखेर स्याउ बेच्न आएको हुँ” उनले भने, “२७ सय मिटरको उचाईमा हिमाली चिसो हावामा फलेको स्याउ पूर्ण अर्गानिक छ त्यसैले जिल्लाबासीले आफ्नै जिल्लामै उत्पादन भएको स्याउ चाख्नुहुन्छ भन्ने विश्वास छ ।” चुमनुब्री स्याउका नाममा बिक्री गरिएको स्याउ बजारमा पाइने अन्यत्रका स्याउ भन्दा स्वादिलो रहेको उपभोक्ताबाट प्रतिक्रिया पाएको लामाले बताए ।
लामाले गोल्डेन, गाला, किङरेड डेलिसियस, रेड डेलिसियस र फुजी गरी पाँच प्रकारका स्याउ उत्पादन गर्दै आएका छन् । गण्डकी प्रदेश सरकारको कृषि मन्त्रालय र किसानको लागत साझेदारीमा इटलीबाट विरुवा ल्याएर पोरमा स्याउ खेती गरिएको हो ।

अहिले एउटा बोटमा ५ केजीसम्म स्याउ फलेको उनले बताए । यो वर्ष करीब २१ हजार किलो स्याउ फल्ने उनको अनुमान छ । उत्पादन बढेसँगै बजार विस्तारका लागि काठमाण्डौका भाटभटेनीसँग पनि सल्लाह भैरहेको लामाले जानकारी दिए । हाल मनास्लु पदमार्गमा जाने पर्यटक सहित स्थानीय बासीन्दाले पनि स्याउ खरिद गर्दै आएका छन् ।
स्याउबाट सुकुटी, वाइन, जुस, केक, जेली, जाम लगायतका १० प्रकारको खाद्यपदार्थ उत्पादन गर्दै आएको उनले जानकारी दिए । यी उत्पादन हाल मनास्लु पदमार्गमा जाने पर्यटकसहित स्थानीय बासीन्दाले पनि उपभोग गर्दै आएका छन् । अर्गानिक सटिफाइट गरेर उत्पादन भएका स्याउ विदेश निर्यात गर्ने प्रक्रिया सुरु गरेको उनको भनाइ छ ।
एक सय ५० रोपनीबाट सुरु गरेको स्याउ खेती विस्तार गरेर उनले ३ सय रोपनी पुर्‍याएका छन् । उनले यो वर्ष ८ हजार नयाँ स्याउका बेर्ना रोपेका छन् । स्थानीय अन्य चार जना कृषकले पनि करिब ५ हजार स्याउको बिरुवा रोपेका छन् । प्राङगारिक मल मात्र प्रयोग गरी लोकल स्याउ फलाएमा बजारको जिम्मा सबै आफूले लिने उनले बताए । नयाँ कृषकलाई आफ्नो बगैंचालाई अनुसन्धान थलोका रुपमा लिन पनि उनले आह्वान गरेका छन् । “व्यावसायिक स्याउ खेती गर्न चाहने किसानलाई मेरो बगैंचामा स्वागत छ” उनले भने, “मैले पूर्णरुपमा अर्गानिक स्याउ खेती गरेको छु, तौरतरीका देखाउँछु, जानेका कुरा सिकाउँछु । युवाहरु व्यावसायिक खेतीमा आउनुपर्छ । अब विदेशी स्याउ आयात रोक्न हामीले उत्पादन बढाउनु जरुरी छ ।”

प्रतिक्रिया दिनुहोस्