कास्कीका संघ र प्रदेश दुवै क्षेत्रमा गठबन्धन–एमाले भिडन्त

कास्कीमा पनि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको लागि गठबन्धन र एमाले बिच प्रतिष्पर्धा हुने भएको छ । चार मंसिरमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको लागि कास्की निर्वाचन क्षेत्रबाट आइतबार विभिन्न दल तथा स्वतन्त्र उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
स्थानिय तहको निर्वाचनमा समेत गठबन्ध बिरुद्ध एमाले बिच प्रतिष्पर्धा भएको करिब ६ महिना पछि मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा पनि मुख्य गरी दुई समुह गठबन्धन र एमाले बिच प्रतिष्पर्धा हुने भएको हो । कास्कीको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका साझा उमेदवार कागं्रेस नेता किशोरदत्त बरालसंग नेकपा एमालेको तर्फबाट एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ बीच प्रतिस्पर्धा हुने भएको छ । बराल नेपाली कांग्रेस कास्कीका सभापति हुन् भने गुरुङ प्रदेश सभाका निवर्तमान सदस्य समेत हुन् । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका एमालेका खगराज अधिकारी भने संघबाट प्रदेशमा आई कास्की निर्वाचन क्षेत्र नम्बर १ को क बाट माओबादी केन्द्रका युवा नेता दीपक कोईरालासँग प्रतिष्पर्धा गर्ने भएका हुन् । कोईराला यस अघि प्रदेश सभा सदस्य भएका थिए । कास्की निर्वाचन क्षेत्र नम्बर १ को ख बाट एमालेका बेदबहादुर गुरुङसंग कागं्रेसका दीपक गुरुङको प्रतिष्पर्धा हुने भएको छ ।
कास्की २ मा एमाले उम्मेदवार विद्या भट्टराई र गठबन्धनका साझा उमेदवार एकीकृत समाजवादीका नेता श्रीनाथ बराल बिच प्रतिष्पर्धा हुने भएको छ । प्रदेशसभा तर्फ कास्की २ क मा एमालेका भीम कार्की र गठबन्धनबाट माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने बिच प्रतिष्पर्धा हुने भएको हो । प्रदेशसभा कास्की २ ख मा गठबन्धनको तर्फबाट प्रदेशका कानुन तथा सञ्चार मन्त्री विन्दुकुमार थापा र एमालेबाट पूर्व प्रदेश सांसद मिना गुरुङ बिच प्रतिष्पर्धा हुने भएको छ ।
पार्टी नेतृत्वको सत्ता गठबन्धनका विरुद्ध विद्रोह गर्दै नेपाली कांग्रेसका पुराना नेता महादेव गुरुङले प्रतिनिधि सभा तर्फ कास्की जिल्ला निर्बाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै कास्की ३ मा गठबन्धनका साझा उमेदवार गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनसंग एमालेका नेता दामोदर बैरागीसंग प्रतिष्पर्धा हुने भएको छ । कास्की ३ क मा गठबन्धनका साझा उम्मेदवार माओबादीका पुराना नेता दुर्गादत्त भण्डारीसंग एमालेका गणेशमान गुरुङ बिच प्रतिष्पर्धा हुने भएको छ भने कास्की ३ ख मा एमालेका राजिव पहारीसंग गठबन्धनका साझा उमेदवार कागेंसका युवा नेता प्रकाश बराल बिच प्रतिष्पर्धा हुने भएको छ । पहारी यस अघि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए भने बराल जिल्ला खेलकुद विकास समितिबाट हाल राजीनामा दिएर उमेदवार बनेका हुन् ।