हुम्लाको मनोनयन काठमाडौं मै दर्ता

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि हुम्ला जिल्लाका उम्मेदवारहरुले काठमाडौंबाट नै मनोनयन दर्ता गराएका छन् ।
विगत हप्ता दिनदेखि परेको वर्षाका कारण दुर्गम हिमाली जिल्लाहरुमा हिमपात भइरहेकोले प्लेन जान नसक्दा हुम्ला जिल्लाका उम्मेदवारहरुले भने निर्वाचन आयोगमा उपस्थित भएर मनोनयन पत्र दर्ता गराएका हुन् । नेकपा (एमाले) को तर्फबाट हुम्ला जिल्लामा प्रतिनिधि सभाका उम्मेदवार दल रावलले मौसम खराबीका कारण जिल्लामा जान नसकेका कारण पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र निर्वाचन आयोगमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा पठाएको बताए । उनले आफ्नो पार्टीको प्रतिनिधि सभा र प्रदेश सभामा पनि निर्वाचन आयोगमार्फत नै मनोनयन दर्ता गराएको बताए । सत्तारुढ गठबन्धनका उम्मेदवारले पनि काठमाडौंबाट नै मनोनयन दर्ता गराउनुभएको उनको भनाई छ । नेता रावलले आफू सांसद निर्वाचित भएमा हुम्ला जिल्लाको सडक समस्या समाधान गर्न पहल गर्ने बताए ।
त्यस्तै हुम्ला जिल्ला प्रदेश सभा ख मा एमालेको तर्फबाट उम्मेदवार छक्कबहादुर लामाले पनि जिल्लामा हिमपातका कारण जान सम्भव नभएपछि काठमाडौंबाटै मनोनयन दर्ता गर्नुपरेको बताए । नेता लामाले आफू उम्मेदवार बन्ने चाहाना नभएपनि जनताको मागका कारण उम्मेदवार बन्नुपरेको बताए ।