प्रत्यक्ष निर्वाचनमा होमिँदै व्यवसायी

चार मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक दर्जनभन्दा बढी उद्योगी तथा व्यवसायीहरु प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । अधिकांश व्यवसायीहरु राजनीतिक दलबाटै उम्मेदवार बनेका छन् भने सत्तारुढ नेपाली कांग्रेसले सबैभन्दा बढी निजी क्षेत्रलाई उम्मेदवार बनाएको छ ।
निर्वाचन आयोगले तोकेको निर्धारित समय आइतबार अपराह्न ५ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गरी उनीहरु तयारीमा जुटेका हुन् । कानुन निर्माण तहमा आफ्नो उपस्थिति पुर्याई व्यावसायिक सहजीकरण र लबिङमा महत्वपूर्ण भूमिका खेल्न संसदीय राजनीतिमा होमिएको उनीहरुको तर्क छ ।
डलर अर्बपति उद्योगी विनोद चौधरीले नवलपरासी बर्दघाट सुस्ता पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका चौधरी यसअघि समानुपातिक सांसद पनि थिए ।
त्यसैगरी निर्माण व्यवसायी मोहन आचार्यले रसुवाबाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका छन् । उनी पनि यसअघि सोही जिल्लाबाट सांसद थिए । पर्यटन व्यवसायी राजेन्द्र बजगाईंले गोरखा निर्वाचन क्षेत्र नम्बर १ कांग्रेसबाट उम्मेदवारी दिएका छन् । फेल्ट एसोसिसन नेपालका निवर्तमान अध्यक्ष अमृत खड्काले ललितपुर ३ मा एमालेबाट उम्मेदवारी दिएका छन् । त्यसैगरी मेडिकल व्यवसायी डा. सुनिल शर्मा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कांग्रेसका उम्मेदवार बनेका छन् । त्यस्तै बंैक सञ्चालक डा. वीरेन्द्र महतो जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका छन् । उनी माछापुच्छ«े बैंकका अध्यक्ष हुन् । सिन्धुली १ मा कांग्रेसबाट मनोनयन दर्ता गराएका श्यामकुमार घिमिरे स्वास्थ्य व्यवसायी हुन् । उनी समाज डेन्टलका सञ्चालक हुन् ।
वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बुले झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन्् । नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका साँवा यसअघि सांसद थिए । निर्माण व्यवसायी पूर्णबहादुर तामाङ (कान्छाराम) रामेछापबाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् । उनी यसअघि पनि सोही जिल्लाबाट उम्मेदवार बनी पराजित भएका थिए ।
यस्तै, निर्माण व्यवसायी विक्रम पाण्डे चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाबाट उम्मेदवार बनेका छन् । उनी सो क्षेत्रबाट एकपटक विजयी भएका छन् भने गत निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पराजित भएका थिए । पर्यटन व्यवसायी सुमन पाण्डेले नुवाकोट क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका पाण्डे प्रतिनिधिसभाका लागि नयाँ अनुहार हुन् ।
हाल प्रधानमन्त्री तथा मत्रिपरिषद्को कार्यालयमा राज्यमन्त्री तथा व्यवसायी उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । यसअघि उनी स्वास्थ्य राज्यमन्त्रीसमेत भएका थिए । कालिञ्चोक केबलकारका सञ्चालक तथा लगानी बोर्डका आमन्त्रित सदस्य व्यवसायी बालकृष्ण शिवाकोटीले दोलखाबाट उम्मेदवारी दर्ता गराएका छन् । नेकपा (एमाले) का तर्फबाट उम्मेदवारी दर्ता गराएका शिवाकोटी प्रतिनिधिसभाका लागि नयाँ अनुहार हुन् ।
मन्त्रीसमेत रहिसकेका ग्यास व्यवसायी कृष्णकुमार श्रेष्ठ (किसान) ले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दर्ता गराएका श्रेष्ठ यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत बनिसकेका छन् । व्यवसायी आकर्षण पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट उम्मेदवारी दर्ता गराएका छन् । लौरौ चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका पोखरेल गैरआवासीय नेपाली हुन् । हाल उनले कमलादीमा एसियाकै पहिलो स्काइवाक टावर निर्माण गरेको बताएका छन् ।
उम्मेदवारी दिनेमा यस पटक उद्योगी व्यवसायीको संख्या उत्साहजनक देखिएको छ । मूलत: काुनन निर्माण प्रक्रियामा सहभागी भई आफ्नो दल र जनभावना बमोजिम काम गर्न उद्योगी–व्यवसायीहरु तल्लीन देखिएका छन् । उद्योगी व्यवसायी निर्वाचन प्रणालीमा सहभागी हुन आउनु राम्रो कुरा हो, यद्यपि व्यवसाय छोडेर आउने कि राजनीति मार्फत व्यवसाय बढाउने त्यो महत्वपूर्ण भएको त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभाग प्रमुख प्राडा शिवराज अधिकारी बताउँछन् । “यदि राजनीतिक अस्त्र प्रयोग गरेर व्यवसाय बढाउने काम गरियो भने त्यसले अर्थतन्त्रमा एैंजेरु लगाउने काम गर्छ,” उनी भन्छन्, “उद्योगी व्यवसायीले उद्यम व्यवसाय नै गर्ने हो भने राजनीतिक व्यक्तिले राजनीति गर्ने हो ।” मतपरिणाम जे जस्तो आए पनि प्रत्यक्ष निर्वाचन प्रक्रियामा सहभागी हुनु र नतिजा स्वीकार गर्नुलाई सकारात्मक रुपमा लिन सकिने उनको भनाइ छ ।
प्रत्यक्ष मात्रै होइन, सामानुपातिक सूचिमा पनि उद्योगी व्यवसायीको संख्या उल्लेख्य छ । नेपाली कांग्रेसले बागमती प्रदेश सभाका लागि समानुपातिक सांसदको सूचीमा निजी क्षेत्रका व्यवसायीहरुलाई पनि उल्लेख्य स्थान दिएको छ । पूर्वमन्त्री तथा व्यवसायी याङ्किला शेर्पासहित नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सुरकृष्ण वैद्य तथा नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान कांग्रेसको प्रदेशसभा समानुपातिक सूचीमा रहेका छन् । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन नेकपा एमालेका तर्फबाट समानुपातिक सूचीमा परेका छन् । त्यसैगरी वीरगन्जका व्यवसायी अनिल रुंगटा कांग्रेसका तर्फबाट समानुपातिक सूचीमा परेका छन् । उनीहरु दुवै आफ्नो क्लस्टरमा एक नम्बरमा रहेकाले सांसद बन्ने पक्कापक्की देखिन्छ ।
व्यवसायी (दल) – व्यवसाय
विनोद चौधरी (कांग्रेस) – उद्योग तथा सेवा
राजेन्द्र बजगाईं (कांग्रेस) – पर्यटन
अमृत खड्का (एमाले) – फेल्ट
डा. सुनिल शर्मा (कांग्रेस) – मेडिकल
श्यामकुमार घिमिरे (कांग्रेस) – स्वाथ्य
मोहन आचार्य (कांग्रेस) – निर्माण
डा. वीरेन्द्र महतो (जसपा) – बैंकर
विक्रम पाण्डे (राप्रपा) – निर्माण
एलपी साँवा लिम्बु (नेकपा एमाले) – वैदेशिक रोजगार
आकर्षण पोखरेल (स्वतन्त्र) – पर्यटन
बालकृष्ण शिवाकोटी (एमाले) – केबलकार