८४ जनालाई ५ लाखसम्मको छात्रवृत्ति
घातक रोगको उपचारका लागि १० लाख

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिक तथा उनीहरुका परिवारका लागि औषधि उपचार खर्च दिने भएको छ । कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ को तेश्रो संशोधन गरी हाल योगदानकर्ताले प्राप्त गर्दै आएको औषधि उपचार सुविधा निजको पति वा पत्नी समेतले पाउने गरी व्यवस्था गरिएको हो ।
यसका साथै घातक रोगको औषधि उपचार सुरक्षा योजना अन्तर्गत कोषमा कम्तिमा दुई वर्ष योगदान गर्ने योगदानकर्ताको कोरोनरी आर्टरी वाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्कघात, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया, मोफेलिया वा थालासेमिया रोगहरुको लागि सेवा आवधिभर दश लाखसम्मको उपाचार खर्च समेत कोषले व्यहोर्ने व्यवस्था गरिएको कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए ।
घातक रोगको औषधि उपचार सुविधा कोषमा कुनै योगदानकर्ताले योगदान गर्न छाडेको दुई वर्षसम्म लागू रहने व्यवस्थाका साथै कोषको वृद्धाअवस्था सुरक्षा योजना अन्तर्गत निवृत्तिभरण प्राप्त गर्ने योगदानकर्ताले निवृत्तिभरण प्रारम्भ भएको सात वर्षसम्म घातक रोग सम्वन्धी सुविधा उपयोग गर्न सकिने गरी विषेश व्यवस्था गरिएको छ ।
कार्यविधिको तेश्रो संशोधन स्वीकृत भएको मितिले ९१ दिनबाट प्रारम्भ हुने व्यवस्था रहेको छ । यस संशोधनले हाल योगदानकर्ताले प्राप्त गर्दै आइरहेको औषधि उपचार सुविधा निजको पति वा पत्नि समेतले पाउने गरी व्यवस्था गरिएको छ । सामाजिक सुरक्षा कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने क्रममा योगदानकर्ताका सन्ततिहरुलाई चिकित्सा विज्ञान, इन्जिनियरिङ, नर्सिङ, वन विज्ञान, कृषि विज्ञान र होटल तथा ट्राभल व्यवस्थापन विषयका लागि हरेक वर्ष प्रत्येक प्रदेशबाट १२ जनाका दरले जम्मा ८४ जनालाई छात्रवृत्ति प्रदान हुने व्यवस्था योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ मा गरिएको जनाइएको छ । योगदानकर्ता सन्तति छात्रवृत्ति कार्यक्रम आगामी शैक्षिक सत्रदेखि लागू हुनुका साथै प्रतिव्यक्ति बढिमा ५ लाख रुपैयाँका दरले छात्रवृत्ति प्रदान हुने व्यवस्था यस कार्यविधिमा रहेको छ ।
योगदानकर्ताको हितलाई सर्वोपरी ठान्दै कोषले विगतमा विभिन्न किसिमका सामाजिक सुरक्षाका योजनाहरु सञ्चालनमा ल्याएको जनाएको छ । सामाजिक सुरक्षाका कार्यक्रमहरु थप विस्तार गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयनमा टेवा पुग्ने विश्वासका साथ आगामी दिनहरुमा समेत यस किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिने कोषले जनाएको छ ।
सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको तीन वर्षको अवधिमा योगदानकर्ताहरुको हितलाई ध्यान दिँदै विभिन्न योजनाहरुमा निरन्तर रुपमा सुधार गर्दै आएको आएको जनाएको छ । विभिन्न योजना थप गर्न सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि,२०७५ को तेश्रो संशोधन र योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयवाट हालै स्वीकृत भएको छ ।
कोषमा हालसम्म १७ हजार ४१७ रोजगारदाता र ३ लाख ६४ हजार ७४१ श्रमिक सूचीकृत भएका छन् । यसैगरी हालसम्म २३ अर्ब ४० रुपैयाँ योगदान जम्मा भएको मध्ये २ अर्ब २६ करोड रुपैयाँ दाबी भुक्तानी भएको कोषले जनाएको छ ।