पर्यटक आगमन ६ लाख पुग्ने

सन् २०२२ मा नेपालको पर्यटन आगमनदरमा ५० प्रतिशतले सुधार आउने देखिएको छ । नेपाल अध्यागमन विभागकोे तथ्यांकअनुसार सन् २०२२ को जनवरीदेखि सेप्टेम्बरसम्मको आगमनदरको तथ्यांक हेर्दा र आगामी ३ महिनाको आगमनदर आकलनको आधारमा ५० प्रतिशतले सुधार आउने अनुमान सरोकारवाला निकायहरुको छ ।
कोभिड–१९ का कारण ओरोलो लागेको पर्यटन आगमन सन् २०२२ मा पनि न्यून आगमनकै संख्या कायम रहने देखिएको हो । सन् २०१९ मा ११ लाख ५२ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२२ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा ६ लाखभित्र नै खुम्चिने देखिएको नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख दीपकराज जोशीको भनाइ छ ।
सेप्टेम्बरमा ५८ हजार ३ सय १४ पर्यटक आएसँगै सन् २०२२ को पछिल्लो ९ महिना नेपाल आउने पर्यटकको संख्या ३ लाख ८१ हजार पुगेको छ भने आगामी ३ महिना अक्टोबर, नोभेम्बर र डिसेम्बरमा औसतमा ५० हजारकै दरमा आगमन भएमा ५ लाख ५० हजार वा ६ लाखभित्र नै आगमनदर सीमित हुने देखिएको बोर्डका पूर्व प्रमुख जोशीको विश्लेषण रहेको छ । कतारमा हुने २२ औं फिफा विश्वकप फुटबल प्रतियोगिताका कारण कतार एयरवेजले सिजनको अन्त्यमा (नोभेम्बर१७ देखि डिसेम्बर २०) सम्म दैनिक २ उडान कटौती गर्नु र मुलुक चुनावमा होमिनुले पनि पर्यटक आगमन पुरानो लयमा फिर्ता नहुने देखिएको पूर्व प्रमुख जोशीको भनाइ छ । उनले भने, “स्रोत बजारमा प्रचार प्रसारको कमी, हवाई सञ्जालको विस्तारसँगै उडान संख्यामा वृद्धि नहुनु र सरोकारवाला निकायबीचको समन्वय अभावका कारण सन् २०१९ को तुलनामा नेपालको पर्यटन बजार सन् २०२२ मा ५० प्रतिशतले मात्र सुधार हुने देखिएको छ ।”
पर्यटन व्यवसायी वसन्त मिश्रले भने छिमेकी मुलुक चीन हालसम्म बन्द हुनु र इन्धनमा भएको मूल्यवृद्धि, रुस–युत्र्रmेनको युद्धको अवस्थामा पनि अनुसार ५० प्रतिशत पर्यटन आगमनमा भएको सुधार सकारात्मक भएको बताए । उनले भने, “पछिल्लो विश्वव्यापी पर्यटक गतिविधिलाई हेर्दा हामी ५० प्रतिशत पर्यटक आगमनदरको पुनरुत्थान हुने अवस्थामा छौं । यसरी हेर्दा सन् २०२२ मा ६ लाखको हाराहरीमा पर्यटक आगमनदर हुने देखिन्छ ।”
विश्वमा अन्य पर्यटकीय मुलुकले ७० देखि ८० प्रतिशत सम्म पर्यटन पुनरुत्थान गरिरहेको अवस्थामा नेपाल पर्यटकीय देश भएर पनि ५० प्रतिशतले मात्र पर्यटन आगमनमा सुधार हुनु सकारात्मक नभएको पूर्व प्रमुख जोशीको भनाइ छ । जोशीले भने, “यसको मूल कमजोरी नै पर्यटक उद्योगसँग सम्बन्धित सरोकारवाला निकायको समन्वय आभाव हो ।”
सन् २०२२ को आठौं महिना अगस्टमा ४१ हजार ३ सय ४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । ०२२ कै जुलाई महिनामा भने ४४ हजार ४ सय ६२ पर्यटक आएका थिए । अध्यागमन विभागका अनुसार सन् २०२२ को ८ महिनासम्म ३ लाख २३ हजार ५ सय ७९ पर्यटकले नेपपाल भ्रमण गरेका थिए । अप्रिल, मे, जुन महिनाको तुलनामा जुलाइमा पर्यटकको आगमन दर भने घटेको छ । अप्रिलमा ५८ हजार २ सय ४८, मेमा ५३ हजार ६ सय ८, जुनमा ४६ हजार ९ सय ५७ र जुलाईमा ४४ हजार ४ सय ६२ पर्यटक नेपाल आएका थिए ।
अफ सिजनमा पनि पर्यटक आगमनदरमा क्रमश: वृद्धि हुँदै जानु सकरात्मक भएको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । उनले भने, “कोभिड–१९ पछिको पर्यटन आगमन दरमा क्रमश: सुधार हुँदै पर्यटक आगमनदर लयमा फिर्ता हुने क्रममा रहेको छ । नोभेम्बर र डिसेम्बरको लागि प्रिबुकिङ पनि राम्रो नै रहेको छ । यति हुँदा पनि सन् २०२२ मा ६ लाख हाराहारीमा पर्यटकको आगमन हुने देखिन्छ ।”
नेपालले पछिल्लो समय भारतका सहरमा भने पर्याप्त मात्रामा नेपाल भ्रमणको लागि खुल्ला छ भन्ने सन्देश प्रवाह हुन नसकेकोले गर्दा आगमन दरमा जति सुधार हुनुपर्ने त्यस्तो नरहेको वरिष्ठ उपाध्यक्ष शाहको भनाइ छ ।
नेपालले आक्रामक मार्केटिङको रणनीति अपनाएर हाम्रो पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार गर्नु आवश्यक भएको उनको सुझाव छ । यसको लागि नेपाल भ्रमणको लागि सुरक्षित छ र नेपाल भ्रमणको लागि भारतीय शहरमा जानकारी प्रदान गर्नुपर्ने वरिष्ठ उपाध्यक्ष शाहले बताए । निर्वाचनका कारण पर्यटकीय गतिविधिमा सुधार नहुने हुँदा आगामी सिजनमा नै पर्यटक आगमनमा कमी हुने शाहले बताए । सन् २०२२ को पहिलो महिनाबाट नै पर्यटक आगमनदरमा सुधार हुँदै गएको थियो । जनवरीमा करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए । दोश्रो महिना २० हजार, तेश्रो मार्चमा ४२ हजारले नेपाल भ्रमण गरेका थिए ।
कोभिड–१९ महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । कोभिड–१९ कारण विगत २ वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्रमा आगमन वृद्धि केही महिना सुधारोन्मुख भए पनि सिजनमा भने अपेक्षाकृत रुपमा पर्यटक आगमनदरमा सुधार नआएको सरोकारवालाको भनाइ छ ।
सेप्टेम्बर महिनामा भारतबाट १४ हजार ४ सय, दोश्रोमा अमेरिकाबाट ७ हजार ९ सय, तेश्रोमा बेलायतबाट ३ हजार ९ सय, बंगलादेशबाट २ हजार ३ सय, चीनबाट १ हजार ३ सय र अष्टे«लियाबाट ४ हजार ३ सय पर्यटक नेपाल आएका छन् । नेपाल भ्रमणको लागि आउने पर्यटकमा भारतीय हिस्सा सबैभन्दा बढी छ । हवाई मार्गबाट मात्र आएको पर्यटकको संख्या भएकाले गर्दा भारतीय पर्यटकको आगमनदर संख्या कम देखिएको बोर्डले जनाएको छ । सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक आएकोमा २०२० मा २ लाख ३० हजारमा झरेको थियो भने २०२१ मा १ लाख ५० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
जनवरी – १६ हजार ९ सय ७५
फेब्रुअरी – १९ हजार ७ सय ६६
मार्च – ४२ हजार ६
अप्रिल – ५८ हजार २ सय ४८
मे – ५३ हजार ६ सय ८
जुन – ४६ हजार ९ सय ५७
जुलाई – ४४ हजार ४ सय ६२
अगस्ट – ४१ हजार ३ सय ४
सेप्टेम्बर – ५८ हजार ३ सय १४