सेनाको गोली लागेर ३५ भन्दा बढीको मृत्यु «

सेनाको गोली लागेर ३५ भन्दा बढीको मृत्यु

सुडानको सत्तारूढ सैनिक परिषद्ले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भंग गरी नौ महिनाभित्र आमनिर्वाचन गर्ने घोषणा गरेको छ ।
सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालयबाहिर सेनाले चलाएको गोली लागी ३५ जनाभन्दा बढीको मृत्यु भएको भोलिपल्टै सेनाले उक्त निर्णय सार्वजनिक गरेको हो ।
सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय सुपरीवेक्षणमा निर्वाचन गराइने बताए ।
विगत ३० वर्षदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल बसिरलाई सत्ताच्युत गरेको सेनाले सैनिक परिषद् गठन गरी तीन वर्षभित्र नागरिकलाई सत्ता सुम्पन सहमत भएको थियो । तर, नागरिक स्तरबाट प्रदर्शन नरोकिएपछि सेनाले एकाएक हस्तक्षेप गरेको हो ।
सैनिक शासनविरुद्ध प्रदर्शनकारी सैनिक मुख्यालयबाहिर र सहरका मुख्य प्रशासनिक केन्द्रवरपर महिनौंदेखि अवरोध खडा गरेर धर्नामा बसेका थिए ।
धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउने क्रममा सेनाले गोली चलाएको हो । प्रदर्शनस्थलमा लगातार बन्दुक पड्किएको आवाज आएको पनि एएफपीका पत्रकारले जनाएका छन् ।
आन्दोलनका कारण राजधानी खार्तुमका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रकसहितको टोलीको बाक्लो उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस्