स्वार्थले तहसनहस बनेको विद्यालय

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित मुसुरीडाँडा (पोखरीटार)मा हरियो जस्ता हालेको १० कोठे लामो टहरा देखिन्छ । टहराको ठीक सामुन्ने दुई तले पक्की भवन छ । त्यसकै नजिक कक्षा ११ र १२ सञ्चालनका लागि २०६६ सालमा निर्माण गरिएको दुई तले कच्ची भवन छ । टाँटीले बारेको टहराभित्र कक्षा १ देखि कक्षा १० सम्मको पठन–पाठन हुँदै आएको छ । पक्की भवनबाट प्रशासनिक, पुस्तकालय, कम्प्यूटर, विज्ञान प्रयोगशाला सञ्चालन भइरहेको छ । तत्कालिन जिल्ला शिक्षा कार्यालयमार्फत आर्थिक वर्ष २०७०/०७१ मा प्राप्त २४ लाखमा निर्माण सुरु गरिएको चार कोठे भवन पूरा नहुँदै अलपत्र परेको देखिन्छ ।
साविक बतासे–२ भण्डारीडाँडामा रहेको सो विद्यालयलाई विवादकाबीच साविक बतासे–२ कै मुसुरीडाँडा (पोखरीटार)मा सारिएपछि टहराभित्र शिक्षण क्रियाकलाप सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको हो । आवश्यक संरचना तयार नहुँदै भण्डारीडाँडाबाट मुसुरीडाँडामा विद्यालय सार्दा ४८३ छात्र/छात्रा टहराभित्र पठन–पाठन गर्न वाध्य बनेका छन् । २०१७ सालमा स्थापना गरिएको विद्यालय गत ४ वैशाख २०७९ मा करिब दुई किलोमिटरमाथि रहेको मुसरीडाँडा सारिएको प्रअ पवन राईले बताए ।
जनता माविका कक्षा १ देखि कक्षा १० सम्मका छात्रछात्रा बाँसको ठाँटीले बारेर बनाइएको टहराभित्र जेनेतन लेखपढ त गरिरहेका छन् । तर एउटा कोठाको होहल्लाले अर्को कोठाको पठनपाठनमा बाधा पुर्याइरहेको छ । घाम लागेको बेला जस्ता तातेर अधिक गर्मी हुने र जाडोमा हावा छिरेर अधिक चिसो हुने गरेको छ । वर्षा भएको बेला जस्ताको छाना बजेर केही सुनिन्न । टहरा आसपासमा स्थानीय बोलेको र होहल्ला गरेको आवाजले पनि शैक्षिक क्रियाकलापमा वाधा पुर्याइरहेको विद्यार्थीको भनाइ छ ।
भण्डारीडाँडाबाट कक्षा १ देखि कक्षा १० सम्मको पठनपाठन भइरहेको अवस्थामा २०६७ सालदेखि मुसुरीडाँडाबाट कक्षा ११ र १२ पठनपाठन सुरु गरिएको थियो । गाउँपालिकाले कक्षा १ देखि कक्षा १२ सम्मको तहलाई मावि बनाइएको भन्दै २०७६ सालमा पठनपाठन एकै ठाउँबाट गर्ने व्यवस्था मिलाउन निर्देशन दियो । निर्देशन अनुसार कक्षा ११ र १२ लाई भण्डारीडाँडामा झारियो । १९ कात्तिक २०७६ मा निर्वाचनका माध्यमबाट ज्ञानेन्द्र राईको नेतृत्वमा नयाँ व्यवस्थापन समिति गठन भए । सो व्यवस्थापन समितिले पुन: १६ जेठ २०७७ मा विद्यालयलाई मुसुरीडाँडा समायोजन गर्ने निर्णय गर्यो । सो निर्णय विरुद्ध असन्तुष्ट अभिभावक रिट हाल्न जिल्ला हुँदै सर्वोच्च अदालत पुगे । तर अदालतले व्यवस्थापन समितिकै पक्षमा फैसला गरेपछि र गाउँ कार्यपालिकाको २६ माघ २०७८ को निर्णय र प्राप्त पत्र अनुसार विद्यालयलाई मुसुरीडाँडामा समायोजन गरिएको जनता मावि बतासेका अध्यक्ष ज्ञानेन्द्र राई बताउँछन् ।
प्लस टुका लागि आवश्यक संरचना बनाउन रेग्मी सेवा समाजको आर्थिक सहयोगमा २०६५ सालमा मुसुरीडाँडामा जग्गा खरिद गरिएको थियो । बिना जानकारी जग्गा खरिद गरिएको भन्दै त्यो बेला अभिभावकबीचको विवादले उग्र रुप लिएको थियो । यद्यपी, १० माघ २०६६ मा मुसुरीडाँडामा आवश्यक संरचना बनाउँदै जाने र क्रमश: विद्यालय स्थानान्तरण गर्ने तथा साविक बतासे–१ दिनुवा क्षेत्रमा विद्युत विस्तार गर्ने सहमती गरिएको थियो । त्यो निर्णयमा बतासेका अधिकांश लिडर र अगुवाले हस्ताक्षर गरेको देखिन्छ । तर विवाद साम्य हुनुको सट्टा अझ चुलिँदै गएको थियो ।