ठूली दह संरक्षणमा बेवास्था

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा पर्ने ठूली दह संरक्षणमा स्थानीय सरकारको ध्यान जान सकेको छैन । जिल्लाकै एक ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा परिचित ठूली दह संरक्षण तथा प्रचारप्रसारमा स्थानीय सरकारको बेवास्ता परेको हो । रुकुम जिल्ला सदरमुकाम समेत रहेको मुसिकोट नगरपालिका वडानम्बर –७, को ठूलीदह पर्यटकीय सम्भावना बोकेको गन्तव्यको हो ।
पर्यटनको प्रचुर सम्भावना बोकेको यो दहमा वर्षेनि हजारौं पर्यटक घुम्न आउने गर्दछन् । दह वरपरको मनमोहक दृश्य, समथर फाँट, तालतलैया र पर्यावरणीय वातावरण यहाँको मुख्य विशेषता हो । तर स्थानीय सरकारको कुनै पनि गुरु योजनाभित्र नपरेको ठूली दहको बेवास्ताले पर्यटकलाई खिन्न बनाउने गरेको छ । यहाँ पुग्ने बाटोघाटोदेखि अन्य पूर्वाधार विकासमा जोड दिनुपर्ने आन्तरिक पर्यटक सुस्मिता विश्वकर्मा बताउँछिन् ।
दह आसपासमा चौपाय जहाँतहि छोड्ने काम रोक्ने र दहसम्म सडक पुग्न सकेमा थप पर्यटन प्रवद्र्धन हुने उनको भनाइ छ । मुसिकोट नगरपालिकाले सुरुवातमा सानोतिना पूर्वाधार निर्माणको काम गरेपछि पछिल्ला वर्षहरुमा खासै ध्यान दिएको छैन । तर दहको संरक्षणका लागि मुसिकोट नगरपालिकाले विकास र प्रचारप्रसाका लागि फरक खालको योजना बनाएर कार्यन्वयनमा लैजाने नगरप्रमुख महेन्द्र केसी बताउँछन ।
“जलासयमुक्त बनाएर माथी डुंगा चलाउनेदेखि सडकको पहुँच बढाउनका लागि योजना बनिरहेको छ” नगरप्रमुख केसीले भने, “ठूली दहको प्रवद्र्धनका लागि कार्यपालिकामा छलफल गरेर केही कार्यक्रम पक्कै बन्छ ।” जैविक विविधताले भरिपूर्ण ठूली दह संरक्षणमा जोड दिएमा आन्तरिक तथा बाह्य पर्यटकको लागि आर्कषणको केन्द्र बन्न सक्छ । त्यसका लागि वडा तथा स्थानीय तहहरुले आवश्यक योजना र कार्यक्रम बनाउन आवश्यक छ ।