भक्ति थापा पार्क निर्माण सुरु «

भक्ति थापा पार्क निर्माण सुरु

राइनासकोटको कोटगाउँ डाँडामा भक्ति थापा पार्क निर्माण सुरु गरिएको हो । गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा राइनास नगरपालिकाले निर्माण सुरु गरेको पार्कको २० प्रतिशत काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ । पार्क निर्माण भएसँगै राइनासकोटको पर्यटन विकासका लागि थप कोशेढुंगा हुने अपेक्षा गरिएको छ ।
चालू आर्थिक वर्षदेखि सुरु भएको भक्ति थापा पार्क चार करोडको लागतमा निर्माण गर्ने लक्ष्य राखिएको छ । यसका लागि गण्डकी प्रदेश सरकार र राइनास नगरपालिकाले ५०–५० प्रतिशत लगानी गरेका छन् । पार्कसँगै भक्ति थापाको १५ फिट अग्लो शालिक राखिने राइनास नगरपालिका प्रमुख सिँहबहादुर थापाले बताए । “राइनासकोट आँफैमा पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको क्षेत्र हो,” नगरप्रमुख थापाले भने, “ऐतिहासिक भक्ति थापा पार्कले अझै यसको ऐतिहासिक आकर्षण थप्ने छ ।”
नेपाल एकीकरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सरदार भक्ति थापाको सम्मान स्वरुप पार्क निर्मण गर्न लागिएको नगरप्रमुख थापाको भनाइ छ । राइनासकोट ऐतिहासिक तथा पुरातात्विक महत्वको क्षेत्र हो । यो चौविसे राज्यका पालमा लमजुङ राज्यको महत्वपूर्ण कोटको रुपमा रहेको थियो । द्रब्य शाहले यही कोटबाट लिगलिग हुँदै गोरखामा अधिपत्य जमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्