‘इन्टेलिजेन्ट सुपरमार्केट अमेजन गो’

कसैले तपाईंलाई भन्यो, ‘रत्नपार्कको सुपरमार्केटमा पसेर सामान लिएर निस्कँदा कसैले पनि चेक गर्दैन, कति सामान लिइयो सोध्ने मान्छे पनि हुँदैन ।’ दिमागमा लड्डु फुट्न थाल्छ कि ‘गएर चाहिए जति सामान लिएर आइहालौं ।’ आधुनिक प्रविधिका बारेमा अलिक चासो दिनेमा पर्नुहुन्छ भने तपाईंले अनुमान गर्नुहोला, क्रेडिट कार्ड स्वाइप गरेर सामानको पैसा तिर्नुपर्छ ।
माथिका दुवै सोचभन्दा फरक खालको सोचमा आधारित सुपरमार्केट अमेरिकामा खुलेको छ । अमेजन कम्पनीले स्थापना गरेको पसलमा न कार्ड स्वाइप गर्नुपर्छ, न नगद पैसा नै कतै मेसिनमा खसाल्नु पर्छ । अमेजनले चलाएको यो सुपरमार्केट प्रविधि कृत्रिम बौद्धिकतामा (एआई) मा आधारित छ । तपाईंको गतिविधिलाई एआईले निगरानी राख्छ र तपाईंले जे जे सामान पसलबाट लिनुभयो, सोही सामानको मात्र तोकिएको मूल्य तपाईंको खाताबाट अटोमेटिक रुपमा कटाउने गर्दछ । यस्तो सुपरमार्केट अमेरिकामा खोलिएको छ ।
अमेजनले आधुनिक प्रविधिको प्रयोग गरेको चेकआउट फ्रि सुपरमार्केट स्थापना गर्न एक वर्षभन्दा बढी समय लगाएर परीक्षण कार्य गरेको छ । एक वर्षको परीक्षणपछि यो आम मानिसका लागि खुला गरेको हो । यसको नाम अमेजन गो सुपरमार्केट राखिएको छ । यसबाट सामान किनेर बाहिर निस्कँदा कसैलाई चेकआउट गराउनु पर्ने छैन । अर्थात् तपाईंले आफ्नो क्रेडिट कार्ड स्वीप गर्न जरुरत पर्नेछैन, न त नगद भुक्तानी नै गर्नुपर्नेछ । यो पसल यस्तो पसल हो, जसमा तपाईंलाई कुनै क्यास काउन्टर देखा पर्दैन । तपाईं यसमा जहाँ जहाँ जानुहुन्छ जे जे सामान रोज्नुहुन्छ ,रोजेका सामानहरूबाट कुनै सामान फेरि जहाँको त्यही राख्नु हुन्छ ।
अमेजन पसलमा छिर्न तपार्इंको स्मार्टफोनको पहिचान गरिन्छ । तपार्इंको स्मार्टफोन त्यसमा छिर्न सक्षम हुन्छ भने तपार्इं जान पाउनु हुनेछ । अर्थात् तपार्इंको स्मार्टफोनमा पैसा तिर्न सक्ने एप वा बैंकिङ सेवा उपलब्ध छ भने तपाईं छिर्न पाउनु हुनेछ । तपार्इंले प्रवेशद्वारमा स्मार्टफोनको पहिचान गराई भित्र छिर्नुस् । तपार्इंले खोजेका दैनिक प्रयोग हुने जुनसुकै सामान रोज्नुस् र निस्कनुस् । कसैले चेकजाँच गर्दैन । यस्तो विशाल पसल अमेजन कम्पनीले सञ्चालनमा ल्याएको हो । यो बजार एआई प्रणालीमा आधारित छ ।
अमेजनको यो स्मार्ट सुपरमार्केटमा ग्राहकका सबै गतिविधि एआई प्रणाली जडित क्यामराहरूले पछ्याउँछन् । तपार्इंले किलोमा कि ग्राममा कि मिलिग्राममा सामान किन्नुभएको हो, त्यसको वजनको हिसाब पनि सेन्सरहरूले गर्छन्, कुनै तौलने तुलो चाहिँदैन । अमेजनले प्रयोग गरेको यस्तो सेन्सरको नाम ‘वेट सेन्सर्स’ हो । यो सुपरमार्केट अमेजनको सियाटलस्थित प्रधान कार्यालयको भुइँ तलामा खोलिएको छ ।
यो पसलमा प्रवेश गर्न एउटा अनिवार्य सर्त भनेको तपाईंको स्मार्टफोनमा कम्पनीको ‘अमेजन गो’ एप भने हुनुपर्नेछ । यही एपसँगको कनेक्सनका आधारमा प्रवेशद्वारदेखि नै तपाईंको स्मार्टफोनको स्क्यान गरिन्छ । अनिमात्र तपार्इंजस्ता ग्राहकलाई प्रवेशको बाटो खुल्छ । प्रवेश गरेपछि ढुक्क हुनुस्, तपाईंले जुनसुकै सामान रोज्नुस्, मन नलागे छाड्नुस् कसैले केही भन्दैन ।
कम्प्युटरका आँखा (कम्प्युटर भिजन) मेसिन सिकाइका लघुकण (मेसिन लर्निङ अल्गोरिद्म) र सेन्सरहरूको संयोजन अनलाइन मार्केटमा नम्बर वान कम्पनीले सुरु गरेर ग्राहकलाई चकित पार्ने काम गरिरहेको छ । पसलमा खरिद कार्य सुरू गर्न सुरुमा क्यूआर कोडमा अमेजन गो एप स्काट गर्नुपर्ने हुन्छ ।
कम्पनीले तपार्इंले खरिद गरेको सामानको मूल्यको शुल्क तपार्इंको अमेजन खाताबाट लिनेछ, जुन खाता अमेजन गो एपसँग जोडिएको हुन्छ । साथसाथै तपाईंले के–के लिनु भएको हो, त्यसको हिसाब पनि त्यही खाताले दर्साउनेछ । तपाईंले रोजेका सामानलाई त्यहीँ छाड्नु भयो भने त्यस्ता सामानको शुल्क तपाईंको खाताबाट काटिने छैन । यो सबै एआईको कमाल हो ।
हामीकहाँका सुपरमार्केटमा यस्तो व्यवस्था नहुँदा उपभोक्तालाई केहीबेर लाइनमा कुर्नुपर्ने हुन्छ । तर, यहाँ भने यस्तो झन्झटिलो पट्यारलाग्दो समय लाग्दैन । कम्पनीले यस्ता समय उपभोक्ताका मूल्यवान हुन्छ, त्यसको ख्याल गरी यो सुविधा उपभोक्ताले दिएको हो ।
यो एउटा नमूना सुपरमार्केट हो । सियाटलस्थित बिना कामदार चलेको मात्र नभई यो सुपरमार्केट खाना पकाइरहने, स्टक समानलाई ठाउँमा मिलाइरहने र उपभोक्तालाई कुन सामान लिने भनेर सघाइरहने कुनै मानिस बिनाका पसलहरू हुने कम्पनीले जनाएको छ । यस्ता पसलले तपाईंलाई तयारी अवस्थामा खाजा र खाना लिएर तयार रहनेछन् । त्यहाँ तपार्इंले पाउरोटी, दूध, चीज र चकलेटजस्ता खाना सहजै पाउन सक्नु हुनेछ । यस्तो सेवा अमेजनले अमेजन मिल किट्स्मार्फत उपलब्ध गराउँछ । तपार्इंले खान चाहेको खाना पकाउन चाहिने सबै वस्तु र यसलाई कसरी बनाउन सकिन्छ तिनका सबै विधिबारे प्याकेजमा उपलब्ध हुन्छ । उपभोक्ताले खानेकुराको छनोटमात्र गर्नुपर्नेछ ।
करिब १८ सय वर्गफिटको क्षेत्रमा अमेजन गो सुपरमार्केट फैलिएको छ । अमेजनका कामदारहरूका लागि सन् २०१६ डिसेम्बर ५ मा खोलिएको थियो । यसको परीक्षणकालमा आफ्ना कामदारहरूका लागि खोलिएको थियो । त्यतिबेला अमेजनले यो पसल सन् २०१७ को सुरूमा सार्वजनिक रूपमा खुला गर्ने अपेक्षा गरेको थियो । अमेजनको यो पसलको तयारीबारे परिचित एक व्यक्तिका अनुसार उसलाई चुनौतीहरू थपिए ।
ढिलाइ हुने कारणमा ती चुनौतीहरू रहेका थिए । ती व्यक्तिका अनुसार उस्तै उस्तै शरीर भएका उपभोक्तालाई ठीक–ठीक पहिचान गर्ने समस्या पनि ती चुनौतीमा रहेका थिए । क्यासलेस पसलमै भने अमेजनको यो पसल पहिलो होइन । बिङ्गोबोक्सले चीनमा यस्ता केही सुपरमार्केटहरू सञ्चालन गरिरहेको छ, जहाँ मानिसहरू हुँदैनन् । तर, ती क्यासलेस पसलहरू अमेजनको यो पसलजस्तो प्रविधियुक्त सम्पन्न भने छैनन् । किनकि यी पसलहरू एआईले पछ्याउने प्रणालीमा आधारित छैन ।
गत वर्ष यो कम्पनीले प्रांगारिक खाद्य सामग्री खरिद गरेको थियो । यसले आफ्ना ४७० स्टोरहरूका लागि १३.७ अर्ब अमेरिकी डलर बराबरको सामान खरिद गरेको थियो । अमेरिकाभरि अमेजनका दर्जन बढी पुस्तक पसलहरू छन् । ती पुस्तक पसलहरूले खेलौना, इलेक्ट्रोनिक्स सामान र साना–साना उपहार पनि बेच्ने गर्छन् । अमेरिकाका विभिन्न ठूला पसलहरूमा अमेजनका साना–साना पसलहरू पनि छन् । तर अमेजनले भने आफ्नो नयाँ अमेजन गोको विस्तारबारे केही खुलाएन् । अमेजन गोका उपाध्यक्ष गियान्ना पुरिनिले एक अन्तवार्तामा भनिन्, “यो पसल परीक्षणको चरणमा धेरै राम्ररी काम ग¥यो । यो कार्य गर्न तयारीका चार वर्षलाई धन्यवाद छ ।” उनका अनुसार प्रविधिले कम्प्युटर भिजन र मेसिन लर्निङलाई वास्तवमै उन्नत बनाएको छ ।
एआईको प्रविधिमा निर्माण गरिएको अमेजनको यो सुपरमार्केटमा उपभोक्तालाई निःसन्देह नयाँ खरिद संस्कृतिबाट परिचित गराउँछ । ठीक त्यसैगरी काठमाडौंको सडक पेटीमा खोलिएका पसलहरूमा खरिद गर्ने अनुभव भन्दा सुपरमार्केट र मलहरूमा खरिद गर्ने अनुभव भए जस्तै ।
तर, यहाँको सुपरमार्केटको अनुभवले विश्वका सामान्य सुपरमार्केटमा दिन अनुभव धेरैथोर उस्तै अनुभव हुन्छ । अमेजन गोले निःसन्देह फरक खालको अनुभव दिलाउनेमा शंका भने छैन । सूचना प्रविधिको विकासले क्यासलेसको बाटोमा डोरिएको नेपाली समाजले त्यस्तो स्मार्टफोन एपको उपभोक्ता संख्या वृद्धि गराउने भने पक्का छ । यसको तीव्रताले आगामी ५ वर्षभित्र यस्तो मल काठमाडौंमै खुल्न सक्न सक्ने अनुमान गर्न सकिन्छ ।