कोहलपुरमा पार्क निर्माण कोहलपुरमा पार्क निर्माण «

कोहलपुरमा पार्क निर्माण कोहलपुरमा पार्क निर्माण

 पश्चिम तराईको प्रमुख केन्द्र मानिने कोहलपुुर चौराहमा आकर्षक पार्क निर्माण गरी सञ्चालनमा ल्याइएको छ । यसअघि मर्मत सम्भारको अभावमा जीर्ण अवस्थामा रहेको पार्कलाइ सिद्धार्थ बिजनेश गु्रप अफ्नो हस्पिटालिटीले स्तरोन्नति गरी सञ्चालनमा ल्याएको हो । 

आकर्षक ढंगले पुनर्निर्माण गरिएको उक्त पार्कको सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । पार्कको सहरी विकासमन्त्री मो. इस्तियाक राईले उद्घाटन गरेका हुन् । पार्क उद्घाटन गर्दै मन्त्री राईले देशको समृद्धिका लागि सरकार र निजी क्षेत्र एक जुट भएर अगाडि बढ्नु पर्नेमा जोड् दिए । हस्पिटालिटी ब्यवसाय क्षेत्रको अग्रणी कम्पनीको रूपमा रहेको सिद्धार्थ गु्रप र कोहलपुर नगरपालिका बीचको सहकार्यबाट भब्य पार्क निर्माण हुनु निक्कै सकारात्मक कार्य भएको उनले बताए । 

देशका विभिन्न स्थानमा होटल व्यवसाय सञ्चालन गरी नाम कमाएको सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीले कोहलपुर नगरपालिकासँग सम्झौता गरी  करिब ५० लाख रुपैयाँको लागतमा पार्क निर्माण गरेको हो । पूर्व–पश्चिम राजमार्ग र नेपालगन्ज सुर्खेत सडक मार्ग जोडने उक्त चौराहमा निर्माण भएको पार्कमा जडान भएका रंगिचंगी लाइटिङ र पानीको फोहराले आकर्षक देखिन्छ । 

करिब १७ हजार ५ सय वर्गफिटको पार्कभित्र चाइनिज दुबोका साथै रंगिचंगी फूल रोपेर हरियाली र आकर्षक बनाइएको छ । त्यस्तै पार्कको मध्यभागमा एउटा अग्लो स्तम्भ छ । सो स्तम्भको अग्रपंक्ति सिरमा बाघको प्रतिमा छ भने स्तम्भको तल्लो भागमा झिलिमिली लाइटिङसहितको मनमोहक देखिने पानीको फोहरा निर्माण गरिएको छ । दिउसो सामान्य दृश्य देखिए पनि सन्ध्याकालमा निक्कै आकर्षक देखिने उक्त पार्क संरक्षणका लागि सिद्र्धाथ गु्रपले आगामी १५ वर्षसम्म मालीको ब्यबस्था गरेर नियमित रूपमा रेखदेख मर्मत गर्ने गरी कोहलपुर नगरपालिकासँग सम्झौता भएको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए  ।

पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्य र साझेदारी गरेर अघि बढ्ने उद्देश्यले पार्कको मर्मत संहार र जीर्णोद्धार गरेर पार्क सञ्चालनमा ल्याइएको सिद्धार्थ बिजनेस गु्रपका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए । “हामीले हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गत पार्क निर्माणमा लगानी गरेका हांै,” उनले भने, “सम्झौताअनुसार हामीले गर्नुपर्ने सम्पूर्ण कार्यका लागि हामी तयार छौं ।” पार्क निर्माणले सरकार र निजी क्षेत्रबीच सहकार्यको माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्