Logo

सिन्धुलीमा कम उमेरमा गर्भपतन गर्ने किशोरीको संख्या बढ्दो

सिन्धुलीमा कम उमेरमा गर्भपतन गर्ने किशोरीको संख्या बढ्दो देखिएको । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष मुनिका किशोरीको संख्या बढ्दै गएको हो । कम उमेरमा गर्भवती बन्नु स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण भए पनि विगत तीन वर्षको तथ्यांक हेर्दा जिल्लामा २० वर्ष मुनिका किशोरी सुरक्षित गर्भपतन गर्नेको संख््यामा वृद्धि भएको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख राजेन्द्र पोखरेलका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा २ सय ३ जनाले गर्भपतन गराएकोमा ३२ जना २० वर्षमुनिका किशोरीले गर्भपतन गराएका छन् । यस्तै आव २०७७/०७८ मा २ सय ६६ जनाले गर्भपतन गराएकोमा २२ किशोरी रहेको उनले जानकारी दिए । आव २०७८/०७९ मा ३ सय २१ जनाले गर्भपतन गराएकोमा ८७ किशोरी रहेका छन् । परिवार नियोजनका साधनको उपलब्धता हुँदाहुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रुपमा लिने गर्दा यस प्रकारको समस्या देखिएको पोखरेलको भनाइ छ ।
परिवार नियोजनका साधन प्रतिको बेवास्ताका कारण पनि गर्भपतन गराउनेको सख्या बढेको देखिन्छ । असुरक्षित तवरले गरिएको गर्भपतनमा विभिन्न कारणले गर्भ नरहने तथा संक्रमणका कारण गर्भ तुहिने सम्भावना उच्च रहने चिकित्सकको भनाई छ । “कम उमेरमा विवाह गरेर मात्रै तथ्यांक बढेको होइन, उमेर नपुगेका किशोरीहरू यौन क्रियाकलापमा सहभागी हुने गरेको पनि भेटिएको छ”, पोखरेलले भने ।
स्वास्थ्य संस्थाबाट सेवा लिनु सकारात्मक भए पनि कम उमेरमै किशोरीहरू गर्भवती हुनु सोचनीय विषय भएको उनले बताए । स्रोतका अनुसार असुरक्षित गर्भपतन गराउने किशोरीहरूको संख्या पनि कम छैन । अवैध तरिकाबाट गर्भवती भएका अधिकांश महिलाहरूले मान्यता नपाएका संस्थामा सेवा लिने गरेको एक स्वास्थ्यकर्मीले दाबी गरे । “उमेर नपुगेका युवती गर्भवती हुनु उमेर पुगेका महिला हुनुभन्दा दोब्बर खतरा हुन्छ”, उनले भने, “आमाको मृत्यु हुने र गर्भमा जटिलता देखिने सम्भावना अत्यधिक हुन्छ ।” २० वर्षभन्दा कम उमेरमा आमाको स्वास्थ्य पूर्ण रूपमा विकसित नभएको हुनाले गर्भ रहन गएमा त्यस्तो महिला जोखिममा पर्ने सम्भावना हुने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
“औषधि खाएर गर्भपतन गराउन २० वर्षमुनिका युवतीहरू धेरै आउँछन्,” सिन्धुलीमा संचालित एक मेडिकल सञ्चालकले भने । कम उमेरमा गर्भ रहने र पतन गराउने क्रम बढेको भन्दै कार्यालयले परिवार नियोजनसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने जनाएको छ । परिवार नियोजनका साधनमध्ये छोटो अवधिका साधन प्रयोग गर्नेको संख्या उल्लेख्य छ । कार्यालयबाट कन्डम, पिल्स लगायत छोटो समयका लागि काम गर्ने साधन र इम्प्लाट र कपर–टी लगायत ५ वर्षभन्दा लामो समय काम गर्ने साधन प्रयोग गर्ने गरेको जनाइएको छ ।
विश्व स्वास्थ्य संगठन (२०१२० का अनुसार तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन मानेको छ । नेपालमा हाल १२ हप्तासम्मको गर्भपतनलाई सुरक्षित मानिन्छ । सरकारी मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट १२ हप्तासम्मको गर्भपतन नि:शुल्क रूपमा गराउन सकिन्छ । त्यस्तै, जर्बजस्ती करणी वा बलात्कारको हकमा भने १८ हप्तासम्मको गर्भलाई जुनसुकै बेला गर्भपतन गर्न सकिने व्यवस्था छ ।
गर्भमा रहेको शिशु विकलांग भएमा, आमाको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएमा पनि जुनसुकै बेला गर्भपतन गराउन सकिन्छ ।त्यसबाहेक, अनिच्छित गर्भ रहेको खण्डमा नौ हप्तासम्मको गर्भपतन गर्दा त्यसको जोखिम कम रहन्छ भने १२ हप्ता भन्दा माथिका गर्भपतनमा जोखिम हुने सम्भावना बढी रहने चिकित्सकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्