दूरसञ्चारसँग सम्बन्धित सेवा स्वत: नवीकरण गर्न नपाइने

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार क्षेत्रमा मूल्य अभिवृद्धि जन्य सेवा (भीएएस) स्वत: नवीकरण नगर्न सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले यस्तो सेवाको अवधि सकिनु अघि सम्बन्धित सेवाग्राहीलाई जानकारी दिनुपर्ने र सेवाग्राहीको अनुमतिपछि मात्र नवीकरण गर्न सकिने जनाएको छ । प्राधिकरण प्रवक्ता सन्तोष पौडेलले हाल सामाजिक सञ्जालहरूमा सेवा प्रदायकहरूले स्वत: नवीकरण हुने गरी भीएएस सेवा सञ्चालन गरेको भन्ने जानकारी आएकोले यस्तो निर्देशन दिइएको जानकारी दिए ।
प्राधिकरणले दिएको निर्देशनविपरीत स्वत: नवीकरण गरेमा सम्बन्धित कम्पनीमाथि कारबाही हुने प्रवक्ता पौडेलको भनाइ छ । उनका अनुसार दूरसञ्चार सेवा प्रदायकहरूले सञ्चालन गरेका भीएएस (भ्यालू एडेड सर्भिस)को अवधि सकिन लागेको जानकारी उक्त सेवाका ग्राहकहरूलाई सेवा अवधि सकिनु अगावै एसएमएस मार्फत निशुल्क रुपमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । यस्तै, सेवा नवीकरण गर्ने वा नगर्ने सम्बन्धमा एसएमएस मार्फत ग्राहकको प्रतिक्रिया माग गर्नुपर्ने जनाइएको छ ।
“एसएमएसमार्फत नवीकरण गर्न अनुरोध गर्ने ग्राहकका लागि सेवा प्रदायकले सो सेवा नवीकरण गर्ने व्यवस्था गर्नु पर्नेछ तर एसएमएसमार्फत नवीकरण नगर्ने जानकारी गराउने तथा कुनै प्रतिक्रिया नजनाउने ग्राहकहरूका लागि उक्त सेवा स्वत: नवीकरण नगर्न नगराउन हामीले निर्देशन दिएका छौं,” उनले भने ।
प्राधिकरणबाट यसअघि पनि विभिन्न समयमा सेवाप्रदायक कम्पनीहरूलाई भीएएस सेवाका सम्बन्धमा निर्देशन दिइरहे पनि कम्पनीहरूले पालना गरेका छैनन् । मंगलबारको निर्देशनपछि कुनै कम्पनीले पनि प्राधिकरणको निर्देशनविपरीत स्वत नवीकरण हुने गरी भीएएस सेवा संचालन गर्ने गराउने गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने प्रवक्ता पौडेलले बताए । प्राधिकरणको यस्तो निर्देशन तथा परिपत्र विपरित कुनै कम्पनीले स्वत नवीकरण हुने गरी भीएएस सेवा सञ्चालन गरेको विषयमा कसैलाई जानकारी भएमा सूचना उपलब्ध गराइदिन पनि अनुरोध गरेको छ ।