दर्जनौ हिमचुचुराले उपल्लो डोल्पाको गरिमा बढायो

उपल्लो डोल्पामा काञ्जिरोवा दक्षिण (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर, वेज चुचुरो (७,१३९ मिटर) यहाँको सुन्दरता बढाएको छ । समुन्द्री सतहबाट ५हजार मिटरभन्दा माथि बाह्रै महिना हिउँले ढाकिने क्षेत्र यस प्रदेशमा पर्दछ ।
यस जिल्लाको दुई महापर्वतीय हिमश्रृंखलाहरु (धौलागिरि र काञ्जिरोवा हिमश्रृंखला) पूर्व पश्चिम फैलिएर रहेका छन् । पर्वतारोहण र ट्रेकिङको लागि महत्वपूर्ण मानिने यस क्षेत्रमा वर्षैभरी तापक्रम ऋणात्मक हुनेगर्छ ।
यस क्षेत्रमा धौलागिर हिमाल (७७५४ मिटर), चुरेन हिमाल (७३७१ मिटर), पुँठा हिमचुली (७२४९ मिटर), माउन्ट पुथा हिमचुली (७२४६ मिटर), मुकोट हिमाल (६६३८ मिटर), काञ्जिरोवा हिमाल (६२२१ मिटर), डाँफे शैल (६१०३ मिटर) र अरनिको चुली (६०३४मिटर ) र नुमला बगला पासलगायतका ५,००० मिटर भन्दा अग्ला भाग तथा सधै हिउँले ढाकिरहने पर्वत हिमशिखरहरू र कतिपय हिमनदीहरूले यहाँको गरिमाका साथै अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।
फोक्सुण्डो ताल र निकुन्जमा पाइने भारी मात्राका वन्यजन्तुले समेत थप उपल्लो डोल्पाको आक्रर्षण बढाएको छ । सरकारले हिमाली सहर बनाउँदै भन्दै धोलाई विशेष ध्यान दिएपछि थप यहाँका स्थानीयवासीको उर्जा आएको छ ।
वर्षमा एक बाली पाक्ने उवा भित्र्याउने चटारो
ठूलो भूगोल, आधा वर्ष हिउँले ढोकेको प्रकृतिक रुपमा नाकाबन्दी हुने उपल्लो डोल्पाका कृषकहरु बाली भित्र्याउन लागेका छन् । वर्षमा एक बाली मात्र हुने उहाँका स्थानीयवासीले उत्पादन गरेको अन्नले ३ महिना खाना पुग्दैन । जडीबुटीको भण्डार रहेको उपल्लो डोल्पा चीनको सीमासँग जोडिएको छ । आफूलाई सीमा रक्षकको उपमा दिने यहाँका सर्वसाधारणहरु खाद्यान्न आपूर्ति गर्न महाभारतको लडाई नै लड्नु पर्ने बाध्यता रहेको डोल्पोबुद्ध –१ धो का प्रेमा र्दोजे गुरुङले बताए ।
एक, दुई दिनमा घुम्न आउनेलाई आहा लागेपनि सधैँ यही बस्नेको जनजीवन निकै कष्टकर रहेको उनको भनाइ छ । चिसो मौसम र भारी हिमपात हुने भएकाले वैशाखमा लगाएको एक मात्र बाली उवा बल्ल पाकेर भित्र्याउने अवस्थामा पुगेको उनले बताए । यहाँ वर्षमा एक मात्र बाली पाक्ने भएकाले खाद्यान्न उत्पादन कम हुने गर्दछ । मंसिरबाट चैतसम्म हिमपात जारी रहने भएकाले उपल्लो डोल्पाका तीन स्थानीय तहमा सर्वसाधारण घर भित्र बसेर संकलन गरेर राखेको अन्न उपभोग गर्दछन् ।
प्रकृतिक रुपमा नाँका बन्दी भएर एक गाउँको सर्वसाधारण अर्को गाउँमा जान सक्ने अवस्था नहुँदा विकास निर्माणका कामसमेत ठप्प हुने गर्दछ । बाहिरबाट खाद्यान्न आपूर्ति गर्न समेत मुस्किल पर्छ । हुने खाने सर्वसाधारण बेशी झर्छन् । वैशाखदेखि मंसिरसम्म यहाँका पाटनहरुमा संकलन गरेको जिम्बु छिमेकी जिल्लासँगै देशका अन्य भागमा बिक्री गरेर दैनिक हातमुख जोड्नका लागि आर्थिक उर्पाजन हुने गरेको शे–फोक्सुण्डोकी प्रेमा गुरुङले बताइन् ।
आर्यतित अन्नका कारण उपल्लो डोल्पाको बसाइ महंगो बन्दै आएको छ । तिते फापर सामान्य मात्रामा उत्पादन हुने गरेको गुरुङको भनाइ छ । पशुपालन व्यवसायबाट अर्को आम्दानीको स्रोत बन्दै गएको छ । खाद्यान्न ढुवानीदेखि दूधका लागि चौँरी पालन, मासु र उनका लागि भेडा पालन गर्ने उपल्लो डोल्पाका सर्वसाधारण राज्यको लगानी नहुँदा आफूहरु हैरान भएको बताएका छन् । यातायातको पहँुच नभएका कारण अर्को समस्या हुँदै आएको छ । गुम्बाहरुको खास क्षेत्रको रुपमा रहेका उपल्लो डोल्पामा आम्चीको भरमा उपचार पद्दति सुरु गरिन्छ । स्वास्थ्य संस्था नाम मात्रको हुँदा आम्चीको भरमा उपचार हुने गरेको छ । स्थानीय सरकारले समेत आम्चीलाई सहयोग गर्दै आएको छ ।