विश्व बैंकको प्रक्षेपण
अर्थतन्त्र विस्तार, मुद्रास्फीति बढ्ने

विश्व बैंकले रुस–युक्रेन युद्ध र आन्तरिक कारणले चालू आर्थिक वर्षमा मुद्रास्फीति ६.३ प्रतिशत पुग्ने अनुमान गरेको छ । तर, अर्थिक वृद्धि भने ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।
नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै विश्व बैंकले गत आर्थिक वर्षमा ३.६ प्रतिशतमा खुम्चिएको मुद्रास्फीति यसपटक बढ्ने अनुमान गरेको हो । तर, बढ्दो मुद्रास्फीतिले क्रय शक्ति घटाउने तथा आयात प्रतिबन्धको विस्तारले आर्थिक वृद्धिलाई संकुचित बनाउने अनुमानका बीच विश्व बैंकले चालू आर्थिक वर्ष २०७९/०८० मा ५.१ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको हो । यसअघि बैंकले सार्वजनिक गरेको ‘साउथ एसिया इकोनोमिक फोकस’मा ३.७ प्रतिशतमात्र आर्थिक वृद्धि रहने गरेको प्रक्षेपणलाई संशोधन गरी ५.१ प्रतिशत वृद्धिदर हासिल हुने बताएको हो ।
तर, यसै महिना एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धि ४.७ प्रतिशतले हुने प्रक्षेपण सार्वजनिक गरेको थियो भने बजेटमार्फत सरकारले चालू आवमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।
विश्व बैंकले कोभिड–१९ विरुद्धको भ्याक्सिन अभियान, सिमाना पुन: खोल्ने कार्यसँगै लगानीको लागि आन्तरिक मागमा बलियो वृद्धिले आर्थिक वृद्धिदरलाई पुनर्बहाली गर्न सकेको भन्दै यो भी–सेपको आर्थिक विस्तार भएको जनाएको छ । विश्व बैंकका अनुसार स्थिर, उत्पादकको मूल्यमा भने नेपालको वृद्धिदर ५.५ प्रतिशत रहने छ भने उद्योग क्षेत्रको वृद्धिदर सर्वाधिक १०.२ प्रतिशत रहने कारण उच्च आर्थिक वृद्धिदरमा योगदान दिने छ । आउँदो वर्ष पनि उद्योग क्षेत्रले ८.९ प्रतिशतकोे वृद्धिदर हासिल गरे पनि कृषि क्षेत्रको वृद्धिदर संकुचित हुँदा नेपालको समग्र वृद्धिदर ५.१ प्रतिशतमा सीमित रहने बैंकद्वारा ‘नेपाल डेपलपमेन्ट अपडेट्स’मा उल्लेख छ ।
यसैगरी, कृषि क्षेत्रको वृद्धिदर गत आर्थिक वर्षभन्दा खुम्चिने भन्दै बैंकले गत आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.८ प्रतिशत रहेकोमा चालू आर्थिक वर्ष २.३ प्रतिशतमात्र रहने जनाएको छ । बैंकका अनुसार सेवा क्षेत्रले पनि ५.९ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने छ ।
विश्व बैंकले कोरोनापछि पर्यटन क्षेत्रमा देखिएको सुधार र विद्युत उत्पादनमा भइरहेको वृद्धिले समग्र उत्पादन क्षेत्रमा पर्ने सकारात्मक प्रभावका कारण अर्थतन्त्र विस्तारमा योगदान पुग्ने विश्लेषण गरेको छ । नेपालमा सार्वजनिक ऋणको स्तर पनि स्थिर रहने अपेक्षा विश्व बैंकले गरेको छ । बैंकले नेपालको ऋणभार बढेर जीडीपीको ४१.५ प्रतिशत पुग्ने बताएको छ । हाल नेपालको ऋणभार जीडीपीको ४०.६ प्रतिशत पुगेको छ । विदेशी मुद्राको सञ्चितीमा परेको दबाबसमेत क्रमश: कम हुँदै जाने अनुमान पनि बैंकको छ ।
जलवायु परिवर्तनका कारण नेपालमा परेको प्रभावबारे समेत विश्लेषण गरेको भन्दै बैंकले नेपाल विश्वव्यापी रुपमा हरितगृह ग्यासको नगण्य योगदानकर्ता भए पनि जलवायु परिवर्तनको जोखिम भएका मुलुकको अग्रस्थानमा पर्ने पनि जनाएको छ । विश्व बैंकका अनुसार आगामी दिनमा यसका प्रभावहरु अझ तीव्र गतिमा देखिने छन् ।
बैंकले चालू आवमा नेपालको शोधनान्तर घाटा अझ बढेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १२.८ प्रतिशत पुग्ने चेतावनी पनि दिएको छ । बैंकले दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्रको विस्तार औसतमा ५.८ प्रतिशत रहने भन्दै भारतले सेवा क्षेत्र र निर्यात व्यापारका कारण सकारात्मक वृद्धि गरिरहेको पाइएको जनाएको छ ।
दक्षिण एसियामा सबैभन्दा संकटमा श्रीलंकाको अर्थतन्त्र रहेको छ । चालू आवमा श्रीलंकाको अर्थतन्त्र ९.२ प्रतिशतले घट्ने अनुमान विश्व बैंकले गरेको छ ।
विश्व बैंकले अर्थतन्त्र विस्तार हुने बताउँदै गर्दा अन्तर्राष्ट्रिय मुद्रा कोषले भने विश्वव्यापी मन्दीको जोखिम बढ्दै गएको जनाएको छ । आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले युक्रेनमा रुसको आक्रमण र कोभिड महामारीका कारण उत्पन्न परिस्थितिका कारण अर्थतन्त्रको अवस्था राम्रो नभएको बताएकी छिन् । उनले मुद्रास्फीतिजस्ता महत्वपूर्ण समस्यालाई सम्बोधन गर्न पहल गर्नुपर्ने पनि बताइन् ।