Logo

कारोबार मेरो पालिका

स्थानीय सरकारको अनुभूति गराउने उत्तरगयाको अठोट

fbt

रसुवा जिल्लामा अवस्थित नेपालकै प्रसिद्ध धार्मिक स्थल उत्तरगया धामबाट उत्तरगया गाउँपालिका नामकरण गरिएको हो । प्राकृतिक, धार्मिक, सांस्कृतिक रूपले मनोरम यो गाउँपालिका साबिकको लहरेपौवा गाउँ विकास समितिको वडा नं. १ देखि ७ र ९, ठूलोगाउँ गाउँ विकास समिति, डाँडागाउँ गाउँ विकास समिति र हाकुगाउँ गाउँ विकास समितिको वडा नं. ८ र ९ गाभेर बनाइएको हो । यस गाउँपालिकाको क्षेत्रफल १०४.५१ वर्गकिलोमिटर छ ।
मुलुक संघीय संरचनामा गएपछि दोस्रो कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ वैशाख ३० मा सम्पन्न निर्वाचनबाट निर्वाचित अध्यक्ष एवं उपाध्यक्षसहितका जनप्रतिनिधिले गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट स्वीकृत गराई कार्यान्वयनको चरणमा रहेको छ । नीति तथा कार्यक्रमबाट गाउँपालिकाले वार्षिक रूपमा गर्ने कार्यक्रमहरूको प्राथमिकीकरण र बजेट विनियोजन गरेका छौं । हाम्रो वार्षिक कार्यक्रममा प्राथमिकीकरणमा परेका कार्यक्रमहरू : शिक्षा, स्वास्थ्य सेवा, पूर्वाधार निर्माण, कृषि तथा पशुपालन, खानेपानी तथा सरसफाइ, सामाजिक सुरक्षा, पर्यटन प्रवद्र्धन, युवा तथा खेलकुद, विपद् व्यवस्थापन, सुशासन तथा सार्वजनिक सेवा, सञ्चार तथा सूचना प्रविधि, वन तथा वातावरण संरक्षण रहेका छन् ।
सामाजिक रूपान्तरण र आर्थिक विकास गर्न मानव पुँजी अपरिहार्य हुने भएकाले प्रारम्भिक शिक्षादेखि नै प्रविधियुक्त बनाई क्रिएटिभ लर्निङमा आधारित शिक्षा कार्यक्रम सञ्चालन गर्ने, गुणस्तरीय र जीवन उपयोगी शिक्षाको सुनिश्चितताका लागि योजना निर्माण चरणमा रहेका छौं । प्राविधिक जनशक्ति तयार गर्न आर्थिक रूपमा विपन्न तथा जेहनदार विद्यार्थीलाई प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत तीनवर्षे डिप्लोमा तहको अध्ययनका लागि प्रत्येक वडाबाट तीन–तीन जनालाई छात्रवृत्ति दिन प्रारम्भ गरेका छौं ।
सिटिइभिटीसँगको सहकार्यमा प्रत्येक वडाबाट २०–२० जनालाई स्वरोजगारमूलक तीनमहिने तालिम दिने कार्यक्रम बनाएका छौं । बालविकास सहजकर्ता, विद्यालय सहायक, विद्यालय सहयोगी, गाउँपालिकाका अनुदान शिक्षक, कर्मचारीको बनोबल बढाउन शिक्षक कर्मचारी उपदान कोषको व्यवस्था गर्दै छौं । गाउँपालिकामै आँखा केन्द्र सञ्चालन गर्न तिलगंगा आँखा केन्द्र स्थापना गरेका छौं । डाँडागाउँ, ठूलोगाउँ र लहरेपौवा स्वास्थ्यचौकीबाट विशेषज्ञ डाक्टरसहितको टेलिमेडिसिन सेवा सञ्चालन गर्ने योजना बनाउँदै छौं । पालिका अस्पताल बनाउन जग्गाको पहिचान गर्दै छौं । ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गर्दै छौं ।
यसैगरी पूर्वाधार विकासमा सञ्चालनमा रहेका सडकहरूको स्तरोन्नति गरी बार्‍है महिना सहज यातायातको पहुँच रहने बनाउन र आवश्यकताअनुसार नयाँ सडक बनाउनेछौं । सडक गुरुयोजनाअनुसार यातायातको पूर्वाधारमा काम गर्नेछौं । त्यसबाट उत्तरगया गाउँपालिकालाई समृद्ध उत्तरगया, सुखी उत्तरगयावासी कोसेढुंगा साबित हुनेछ । यस गाउँपालिकामा अन्तर्राष्ट्रिय सडक मार्ग भारत र चीन जोड्ने गल्छी रसुवागढी सडक करिब १६ किलोमिटर र त्रिशूली–धुन्चे–रसुवागढी सडक करिब ६ किलोमिटर पर्छ । यस सडकको उपयोग गर्ने र निर्माणाधीन जलविद्युत् आयोजनाहरूसँग समन्वय गरी आयोजनाको पहुँच सडक कालोपत्रे गर्न सहजीकरण गर्नेछौं । सडकसँग नजोडिएका घरहरूलाई गोरेटो बाटोलाई व्यवस्थित गर्नेछौं ।
कृषि तथा पशुपालनका क्षेत्रमा बालीमा लाग्ने रोग नियन्त्रण गर्ने, माटो परीक्षण गरी माटोअनुकूल बोटबिरुवा तथा बीउको व्यवस्था मिलाउने, कृषि तथा पशुपालन उपजको बिक्री–वितरणका लागि सहजीकरण गर्ने, कृषि तथा पशुपालन उद्यमशीलता परियोजना सञ्चालन गर्ने, एक घर एक फलफूलका बिरुवा हरेक वर्ष वितरण गर्नेछौं ।
सबैका लागि पानी उपलब्ध गराउन तथा सरसफाइमा पहुँच अभिवृद्धि गर्न एक घर एक धारामार्फत चौबीसै घण्टा पानी उपलब्ध गराउन सरोकारवालाहरूसँग समन्वय तथा साझेदारी गर्ने, सफासुग्घर उत्तरगया बनाउन सार्वजनिक तथा निजी साझेदारीमा बजार क्षेत्रको सरसफाइ गरी फोहोर व्यवस्थापन गर्नेछौं । रोजगार प्रवद्र्धन र आर्थिक विकासका लागि सभ्य, समृद्ध उत्तरगया हाम्रो सान, कृषि जलस्रोत पर्यटन विकासको अभियानलाई मूर्त रूप प्रधान गर्न पर्यटन, कृषि तथा पशुपालन, जडीबुटी खेतीलाई व्यावसायिक बनाउने योजना छ ।
सरकारबाट प्रदान गरिने सामाजिक सुरक्षा भत्ताबाट कोही पनि वञ्चित नहुने गरी प्रचारप्रसार तथा चुस्तदुरुस्त सेवा प्रवाह गर्ने, महिला तथा बालबालिकाविरुद्ध हुने सबै किसिमका भेदभाव र शोषण तथा हिंसा अन्त्य र वालविवाह तथा वहुविवाह अन्त्यका लागि अभियान सञ्चालन गर्ने, दलित तथा विपन्न परिवारको समृद्धिका लागि रोजगारी सिर्जना गर्ने कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
सहकारीको माध्यमबाट गरिबी निवारण गर्न सहकारीको संस्थागत क्षमता अभिवृद्धि, नियमन र सुशासन प्रवद्र्धन, कृषि सहकारीहरूलाई प्रोत्साहन गर्ने, गरिब विपन्न, शैक्षिक बेरोजगार र वैदेशिक रोजगारबाट फर्केकाहरूका लागि सहकारी संस्थामार्फत कर्जा प्रवाह र व्यवसाय गर्न उत्प्रेरित गर्नेछौं । पर्यटन प्रर्वद्धनमार्फत स्वरोजगार बनाउन र पर्यटकको सहज बसोबासका लागि होमस्टे सञ्चालन गर्न प्रोत्साहन गर्नेछौं ।े
उत्तरगया धाम, भाँगे झरना गलेगढी, तिरुलगायतका स्थानको श्रव्यदृश्य सामग्रीमार्फत प्रचारप्रसार गर्ने योजना छ । यसैगरी युवाहरूको आकर्षणको केन्द्र खेलकुदलाई खेल संस्कृतिका रूपमा विकास गर्न पूर्वाधार विकास, तालिम प्रशिक्षण, प्रतियोगिता गरी खेलकुदमा उत्तरगयाको पहिचान बनाउने योजना रहेको छ । विपद् व्यवस्थापनमा विपद् व्यवस्थापन कोष निर्माण गर्ने, जोखिमयुक्त क्षेत्रको भौगर्भिक अध्ययन गराउने, विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरी जोखिम न्यूनीकरण गर्ने योजना अघि सारेका छौं ।
सुशासन तथा सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउन जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास तथा प्रोत्साहन कार्यक्रम गर्नेछौं । जनप्रतिनिधिहरू र कर्मचारीलाई लिजासम्बन्धी तालिम सम्पन्न गरेका छौं । अब मध्यकालीन खर्च संरचनाको योजना बनाउँदै छौं । भिजेल प्रोफाइल, आवधिक योजना र योजना बैंक बनाउन तयारी गरिरहेका छौं । योजना बैंकमा जम्मा भएका योजनाहरूको प्राथमिकीकरण गरेर विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने गरी गाउँपालिका आफंैले गर्ने, बागमती प्रदेश सरकारले गर्ने र संघीय सरकारले गर्ने योजना छुट्ट्याउनेछौं ।
विकासलाई घरबस्तीमा पुर्‍याउन टोल विकास संस्था बनाउने र सोही संस्थामार्फत टोलको विकास गर्ने गरी तयारी गरिरहेका छौं, जसबाट पहुँचका आधारमा योजना पार्ने वा सुशासन भंग हुने कार्यको अन्त्य हुनेछ । सुशासन कायम भई स्थानीय सरकारको जनताले अनुभूति गर्न पाउनेछन् । अहिले हाम्रो गाउँपालिकाको प्रशासनिक भवन व्यवस्थित छैन । बजेट विनियोजन गरेका छौं । जग्गा प्राप्ति प्रक्रिया अघि बढाउँदै छौं । पाँच वडामध्ये एक वडा कार्यालय मात्र आफ्नो भवनमा छ । केही वर्षमै सबै वडा कार्यालयहरूको सुविधा सम्पन्न कार्यालय भवन बनाउनेछौं ।

प्रदेश: बागमती
जिल्ला: रसुवा
पालिका: उत्तरगया गाउँपालिका
वडा संख्या: ५
अध्यक्ष: माधवप्रसाद अर्याल
उपाध्यक्ष: चमेली गुरुङ
प्रमुख प्रशासकीय अधिकृत: दीपक प्रसाद अधिकारी
कार्यालय: लहरेपौवा
जनसंख्या: ८,५७१

प्रस्तुति: राजेन्द्र बस्नेत

प्रतिक्रिया दिनुहोस्