Logo

जनजीवन प्रभावित, गृहमन्त्रीद्धारा, उपचार, राहत र पुनःस्थापनाका लागि निर्देशन

पश्चिम तराईमा अविरल वर्षा

पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।
पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा केही दिन यता भइरहेको अविरल वर्षाका कारण बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको हो । वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो । गत मंगलवार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडादसैं पनि राम्रोसँग मनाउन नसकेको स्थानीयहरु बताउँछन् ।
देशभर नै दसैंको समयमा आफन्त, इष्टमित्र, मान्यजनको हातको टीका थाप्न र आर्शिवाद लिन वर्षाका कारण कठिनाइ भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदलि रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण देशभरका विभिन्न सडकहरु अवरुद्ध हुँदा दसैं मनाउन गाउँ गएकाहरु शहर फर्किन पाएका छैनन् भने गाउँमै दसैंको टीका ग्रहण गर्न पनि आफन्तहरुकोमा जान सकेका छैनन् ।
यसैबीच, गृहमन्त्री बालकृष्ण खाणले दाङका विभिन्न स्थानमा निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि हेलिकोप्टर प्रयोग गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् ।
गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीप कोइराला, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरी बलका लुम्बिनी प्रदेश प्रमुख नायब महानिरीक्षक विदुर खड्कालाई टेलिफोन गर्दै उनले सरकारको मुख्य दायित्व नागरिकको जिउ धनको रक्षा गर्नु रहेको जनाउँदै विपद्मा परेकाको तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्