Logo

तलेजु भवानीको मन्दिरमा भक्तजनको भीड

प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा मंगलबार बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको हो । वर्षमा एक पटक महानवमीको दिनमा मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको भीड रहेको थियो । हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन आम सर्वसाधारणका लागि मन्दिर खुला गरिने परम्परा अनुसार मंगलबार मन्दिर खुला गरिएको हो । तलेजु मन्दिरमा ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मुल चोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मुल मन्दिरमा फर्काइने प्रचलन छ ।
तलेजु भवानीलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आईतवार बिहान १०ः०५ बजे हनुमानढोका दरबार क्षेत्रको मुलचोकमा यात्रा गराइएको थियो । तलेजु भगवतीलाई त्यसै दिन बिहान ११ः३५ बजेको साइतमा स्थिरासनमा राखिएको थियो भने महाअष्टमी (सोमवार) राति कालरात्री पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गरिएको थियो । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन समितिले दिएको साइतअनुसार बिहान ७ः३५ बजे यात्रा गराइनेछ । बिहान ८ः४७ बजे तलेजु भवानीलाई मुल मन्दिरमा स्थिरासन गराइनेछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत विधिवत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी
चढाइने परम्परा छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलि सहित दुर्गा भवानीको विशेष
पूजा आराधना र दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत एवं देवीस्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिण्डो,
घिरौंला, मुला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार, महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्