साफा अवार्डबाट विभिन्न कम्पनी सम्मानित «

साफा अवार्डबाट विभिन्न कम्पनी सम्मानित

सार्क राष्ट्रका लेखा व्यवसायीहरूको संगठन दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) ले सन् २०१६ मा उत्कृष्ट वार्षिक प्रतिवेदन पेस गर्ने एक दर्जन कम्पनीलाई विभिन्न पदकबाट सम्मान गरेको छ । साफा सम्मेलन–२०१८ अन्तर्गत बुधबार भएको कार्यक्रममा महालेखा परीक्षक टंकमणी शर्मा र अर्थसचिव शंकर अधिकारीले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने साफा सदस्य देशका कम्पनीहरूलाई सम्मान गरे ।
साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०१६ विभिन्न १२ वटा क्षेत्रका कम्पनीलाई प्रदान गरिएको छ । जसअन्तर्गत कृषि विधामा गोल्डेन हार्भेस्ट एग्रो लिमिटेड–बंगलादेश, सूचना प्रविधिमा माइन्डट्रि लिमिटेड–भारत, डाइभर्सिफाइड होल्डिङ विधामा क्रिसेन्ट स्टिल एन्ड एलाइड प्रोडक्ट लिमिटेड–पाकिस्तान, वित्तीय सेवा विधामा आईडीएलसी फाइनान्स लिमिटेड–बंगलादेश, बिमा विधामा प्राइम इन्स्योरेन्स बंगलादेश, उत्पादनमूलक विधामा ब्रिटिस अमेरिकन टोबाको कम्पनी लिमिटेड–बंगलादेशले पदक जितेका छन् ।
यसैगरी गैरसरकारी विधामा सिटिजन्स फाउन्डेसन–पाकिस्तान, निजी क्षेत्रका बैंक विधामा बिआएसी बैंक लिमिटेड–बंगलादेश, सार्वजनिक बैंक विधामा जनता बैंक–बंगलादेश, सार्वजनिक क्षेत्रका संस्था विधामा इन्फास्टक्चर डेभलपमेन्ट कम्पनी लिमिडेड–बंगलादेश, सेवा विधामा नुवारा इलिया होटल–श्रीलंका, इन्टिग्रेटेड रिपोर्टिङ विधामा आईडीएलसी फाइनान्स लिमिटेड बंगलादेशले पदक जितेका छन् । यसैगरी सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्रनेन्स भने इस्लामी बैंक बंगलादेश लिमिटेडले जितेको छ ।
सबै विधामा फस्र्ट रनर्सअप तथा सेकेन्ड रनर अपसमेत घोषणा गरी पदक प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ट वार्षिक प्रतिवेदन पेस गर्ने कम्पनीलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । जसमा नेपालबाट वित्तीय सेवा विधामा कैलाश विकास बैंक र निजी बैंक विधामा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र निर्माण क्षेत्रमा बुटवल पावर कम्पनी लिमिटेड सम्मानित भएका छन् ।
साफामा हाल नेपाललगायत अफगानिस्तान, बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका लेखाव्यवसायी संस्था सदस्य छन्, जसमा ३ लाख ७५ हजारको हाराहारीमा लेखा व्यवसायीहरूको संलग्नता छ । साफा सदस्य संस्थाको रुपमा आइक्यानले सम्मेलन आयोजना गरेको हो ।
नेपालको तर्फबाट नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आइक्यान)का पूर्वअध्यक्ष सुबोधकुमार कर्ण सन् २०१८ का लागि साफाको अध्यक्ष पदमा मनोनित भएका छन् । यसरी नेपालले महत्वपूर्ण जिम्मेवारी सम्हालेको यो दोस्रो पटक हो । यसअघि संस्थाका पूर्वअध्यक्ष कोमलबहादुर चित्रकारले सन् २०१० मा अध्यक्षको जिम्मेवारी समालेका थिए । पदक वितरण कार्यक्रममा महालेखा परीक्षक शर्माले देशमा सुशासन कायम गर्न लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्