झापामा सन्थाल नृत्यको रौनक

नेपालीहरुको महान पर्व दसैं शुरुभएसंगै झापामा सन्थाल नृत्य शुरु भएको छ ।
दसैंको घटस्थापनादेखि नवमीसम्म मुरली, झ्याम्टा र ढोल बोकेर टोली–टोली मिलेर देउसी खेले जस्तै दसैँ गीत गाउँदै र नाच्दै घर घर र बजारमा नृत्य देखाउने उनीहरु बिजयादशमीको दिनदेखि झापाका विभिन्न स्थानमा लाग्ने दसैंमेलामा सामुहिक नृत्य देखाउँदै आएका छन् ।
दसैंमा ‘दुर्गा पूजा’ धुमधामका साथ मनाउने उनीहरुले गाउँगाउँमा स्थापना गरिएका दुर्गा माताका मन्दिरमा पनि नृत्य प्रदर्शन गर्ने गरेका छन् । सन्थाल पुरुष र महिला रङ्गीचङ्गी पहिरन, कमिज गञ्जी, धोती, शिरमा मयुरको प्वाँख र ऐना, कम्मर र खुट्टामा झुम्का र कल्ली लगाएर दसैंमेलामा मौलिक सांस्कृतिक नृत्यहरु बाजा गाजासहित देखाउने गरेका छन् ।
हरेक वर्षको दसैंमा सन्थाल जातिको सांस्कृतिक नृत्य मुख्य आकर्षण बन्ने गरेको छ । पछिल्लो समय लोप हुँदै गएको सन्थाल समुदायको भेषभुषा, रहनसहन, भाषा, संस्कृतिको संस्कृति संरक्षण एवम् प्रवद्र्धन गर्ने उद्देश्यले झापाका विभिन्न स्थानमा दसैंमेला तथा सन्थाल नृत्य प्रतियोगिता गरिँदै आएको छ ।
झापाको घैलाडुव्वा, डाँगीबारी, गरामनी, सैनिकमोड, गौरीगञ्ज, टाघनडुब्बा, फुलबारी, महाभारा, लालपानी, शरणामती, झापाबजार, चारआली, लखनपुर, पाडाजुँगी, मंगलबारे, गेउरिया, तोपगाँछी, गौरादहका विभिन्न स्थानमा लाग्ने मेलाहरुमा सन्थाल जातिको नृत्य मुख्य आकर्षण बन्ने गरेका छन् ।
दसैंको बेला मात्र मुख्य आकर्षण बन्ने सन्थाल जातिको नृत्यलाई निरन्तरता दिन कठीन बन्दै गएको झापा बाह्दशीका ताला मुर्मू बताउँछन् । विभिन्न संघसंस्थाका कार्यक्रम र राजनीतिक दलका सभा सम्मेलनमा समेत झाँकी प्रस्तुतिका लागि निम्त्याइने गरेपनि आफूहरुलाई बाजा र पोशाक जुटाउनै हम्मेहम्मे पर्दै गएको उनले बताए ।
पछिल्लो समय सन्थाल समुदायका युवा रोजगारीका लागि भारत तथा अन्य मुलुक जाने गरेकाले नृत्य टोली जुटाउन पनि कठिन हुँदै गएको कमल गाउँपालिकाका लखिराम मुर्मू बताउँछन् । आफूहरुले नाचेरमात्र घरव्यवहार चलाउन कठीन हुने भएकाले अरु पेसा अंगाल्नुपर्ने वाध्यताले आफ्नो नृत्य संस्कृतिलाई निरन्तरता दिनै कठिन हुँदै गएको उनले बताए ।
पूर्वी नेपालको झापामा सन्थालको जनसंख्या ५१ हजार भन्दा बढी रहेकोछ । — तुलसीप्रसाद निरौला