Logo

महान् चाड दसैँ किन मनाइन्छ ?

बडादसैँ आश्विन शुक्ल प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो । दसैँलाई बडादसैँ, दशहरा, विजयादशमी, आयुध–पूजा आदि नामले जानिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । नवदुर्गा भवानीका यी नव–रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाका दिनदेखि महानवमीका दिनसम्म क्रमश: एक–एक दिन गरी नौ दिनसम्म पूजा गर्ने गरिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रूपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । दसैँ हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दू संस्कृति वीरताको पूजक अनि सौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव–पर्व सुरु भएको हो । हिन्दूहरूको महान् चाडका रूपमा दसैँ हर्षोल्लासका साथ मनाउँछौँ । बडादसैँको पर्वमा मालसिरी वा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ । देशविदेश वा टाढाटाढा भएका आफ्ना साथीभाइ, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । पर्वले यस्तो सुनौलो अवसर जुटाइदिन्छ । त्यसको बेग्लै मज्जा छ । दसैँमा दक्षिणा, टीका, जमरा र पिङको मज्जालाई छुट्टै खास अर्थ र महŒवका रूपमा लिइन्छ । नवरात्रिको सातौं दिन फूलपाती हो । नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घर–घरमा भिœयाइन्छ । वर्षा ऋतु सिद्धिएर शरद् ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भिœयाउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहँदैनन् भन्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहिआएको छ । सप्तमीमा विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भिœयाउँछन् । नवरात्रिको आठौं दिन महाष्टमीमा महाकाली–भद्रकालीको विशेष पूजाआजा गरिन्छ । पूजापश्चात् मानिसहरू नवदुर्गा, आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पुजी बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिन्छन् । नवरात्रिको नवौं दिन महानवमीमा विशेष गरी सिद्धिधात्री देवीको पूजाआजा गरिन्छ । यसै दिन बिहान कलपुर्जा, हातहतियार तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । नवरात्रिको दसौं दिनलाई विजयादशमी भनिन्छ । आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने बुझ्नुपर्छ । यो दसैँको खास दिन हो । देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ । त्यसपछि घरका मूलमान्छेले नव दुर्गा भगवतीको प्रसादस्वरूप अबिर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन् । यस दिन पिङ खेल्यो या भुइँबाट खुट्टा छोड्यो भने मरेपछि स्वर्ग गइन्छ भन्ने मान्यतासमेत छ । दसैँमा टीका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरू पनि लुकेका छन । यो वर्ष विश्वभरि नै कोरोना भाइरसले गम्भीर असर पारेको छ । दसैँमा चङ्गा उडाइन्छ । किनभने यतिबेला आकाश खुला हुन्छ । न झरी, न जाडो । सन्तुलित मौसममा चङ्गा उडाउनुको छुट्टै आनन्द छ । धार्मिक कथनचाहिँ के छ भने खेतीबालीका लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश भगवान् इन्द्रकहाँ पुर्‍याउन चङ्गा उडाइन्छ । अहिले यो मनोरञ्जनको माध्यम बनेको छ । वर्षा ऋतुको समाप्तिसँगै आउने दसैँको मनमोहक मौसममा चङ्गा उडेको देख्दा मन पनि चङ्गा हुन्छ, खुसी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्