अर्थतन्त्रमा दसैंको योगदान «

अर्थतन्त्रमा दसैंको योगदान

दसैंलाई सबैभन्दा बढी सांस्कृतिक तथा कतिले धार्मिक चाड मान्ने गरेको पाइन्छ । तर, दसैंसँगै रमाइलो गर्ने, मीठो खाने तथा आफन्तकहाँ टीका लगाउन जानेजस्ता अन्य सामाजिक तथा आर्थिक पाटो पनि जोडिन्छ । अझ कति त आजकाल यसै समयमा घुम्न जाने भन्ने चलन पनि सुरु भएको छ । त्यसैले दसैंले बजार अर्थतन्त्रलाई चलायमान बनाउँछ । बहुसंख्यक हिन्दू धर्मावलम्बीले मनाउने पर्व भएका कारण पनि कतिले दसैंलाई हिन्दू चाड पनि भन्ने गरेको पाइन्छ । तर, सामाजिक, सांस्कृतिक तथा आर्थिक पक्ष पनि जोडिएका कारण दसैं हिन्दूहरूको मात्र चाड पर्व रहेन । विगतमा पनि दसैैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख अवसर हुने गथ्र्यो । किनकि हालजस्तो चाहेका बेला किनमेल गर्ने वा घरपरिवार एकै ठाउँमा जम्मा हुने अवस्था थिएन । त्यसैले पनि विगतमा दसैं झन् बढी आर्थिक रूपमा स्थानीय अर्थतन्त्र चलायमान बनाउने पर्व हुन्थ्यो । दसैं नजिकिएपछि दसैंका लागि भनेर किनमेलका लागि बजार लाग्ने समयमा यसैबेला नै धेरै कारोबार गर्थे । खाद्यवस्तुदेखि लत्ताकपडा तथा विभिन्न अन्य आवश्यकताका वस्तु किन्न दसैं कुर्ने प्रचलन पछिसम्म पनि थियो । त्यसकारण व्यवसायीहरू पनि दसैंको प्रतीक्षामा हुन्थे । आ–आफ्ना रुचिअनुसारका खाना तथा पेय पदार्थमात्र नभएर नयाँ सामान किन्ने पनि अवसरका रूपमा लिने गरिएकाले व्यापारीले पनि दसैंका लागि विशेष सामान मगाउने तथा वर्षभरिको करिब एकतिहाइ व्यापार यसै बेला गर्ने गरेको देखिन्छ । त्यसैकारण व्यवसायीका लागि पनि दसैं प्रतीक्षाको विषय हो । विश्वभरका नेपालीले दसैंमा लत्तकपडा, माछामासु, पेय पदार्थ तथा यातायातमा राम्रै खर्च गर्ने गर्छन् । यस्ता पर्वविशेषले अर्थतन्त्रलाई पुनर्जीवन दिन्छ । सरकारी कर्मचारी, सेना, प्रहरी, शिक्षकलगायतका करिब ५ लाख कर्मचारीले मात्र नभएर निजी कम्पनीका कामदारले पनि दसैैं खर्च पाउने चलन रहेका कारण बजारमा पैसा आउँछ । बजारमा पैसा आउनुको अर्थ उपभोग्य खर्च बढी हुन्छ । तर, नेपालको आफ्नो उत्पादन कम अनि आयात बढी भएका कारण उपभोगमा हुने खर्च सबै नै आयातित वस्तुका लागि खर्च हुन्छ । राजस्वको प्रमुख स्रोत आयातमा लागाइने मूल्य अभिवृद्धि कर, भन्सार महसुल र अन्त:शुल्क भएका कारण दसैंमा हुने आयात वृद्धिले समग्र राजस्व परिचालनमा सघाउ भने पुर्‍याउँछ ।
नेपालीहरूले विदेशबाट पठाएको रेमिट्यान्सले धानेको अर्थतन्त्रमा धेरै उपभोगका कारण वास्तवमा अर्थतन्त्र चलायमान भए तापनि आन्तरिक उत्पादनलाई सघाउ पुग्ने गरेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार दसैताका औसतमा १५–१६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिन्छ । तर, त्यसको अधिकांश हिस्सा उपभोगमा खर्च हुने गरेको छ । त्यसैले दसैं खर्च तथा उपभोगको पर्व हो । यदि नेपाली आन्तरिक उत्पादन बढी हुन्थ्यो भने दसैंको उपभोग तथा खर्चले नेपाली अर्थतन्त्रलाई प्रत्यक्ष फाइदा हुने गथ्र्याे । तर, आयातित अर्थतन्त्र भएका कारण बजार चलायमान भए तापनि दसैंले आन्तरिक उत्पादनमा भने धेरै टेवा दिँदैन । तर पनि चाडपर्व तथा परम्पराका कारण रेमिट्यान्स आय तथा वर्षभरिको आयबाट सञ्चित धन उपभोग भने वर्षभरिको कुल राष्ट्रिय उपभोगको २० प्रतिशत जति हुने अनुमान छ । पछिल्ला समय देखासिकी गर्ने तथा रेमिट्यान्सकै कारण ठूलो जनसंख्या सहरोन्मुख भएका कारण पनि दसैं बढी खर्चिलो बन्दै गएको छ । त्यसमा रेमिट्यान्सले पनि अझ बढी उपभोगको संस्कृतिलाई बढावा दिएको छ । तर, सहरबाट ठूलो संख्यामा गाउँ जाने नेपालीको संख्या बढेका कारण पछिल्लो समय ग्रामीण अर्थतन्त्रमा पनि दसैं खर्चले केही योगदान दिएको छ । यसले स्थानीय आर्थिक गतिविधिमात्र नभएर हवाई तथा स्थल यातायातलगायत अन्य पेसा–व्यवसायमा पनि ठूलो राहत हुने गरेको छ । सहरहरू सुनसान हुने तर गाउँ गुल्जार हुने भएका कारण ग्रामीण अर्थतन्त्र चलायमान हुने भए तापनि गाउँमा पनि आन्तरिक उत्पादनभन्दा आयातित वस्तु नै उपभोग हुने हुनाले आन्तरिक उत्पादन धेरै बढाउन भने मद्दत गरेको देखिन्न । तर, लामो बिदा भएका कारण दसैंले सामाजिक सम्बन्धलाई सुदृढ बनाउन सघाउ पुर्‍याएको देखिन्छ । साथै, छोटो समयका लागि आम्दानी तथा रोजगारी वृद्धि भएको पनि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्