प्राकृतिक सम्पदाको दोहन हुँदा राज्य मौन रहेको आरोप «

प्राकृतिक सम्पदाको दोहन हुँदा राज्य मौन रहेको आरोप

पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरुको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दु:ख व्यक्त गरेका छन् ।
उनले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यक भन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताए । पूर्व राष्ट्रपति यादवले नदीनाला दोहन, तराईका जंगलको विनाश, चुरे क्षेत्रको दोहन र चुन ढुंगा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका कारण प्राकृतिक विपद्हरु दिनप्रतिदित बढीरहेको बताए । उनले नेपालमा मात्रै नभइ विश्वमा नै क्लाइमेट इमर्जेन्सी, ग्लोवल वार्निङको समस्या रहेको बताए ।
“प्रकृतिलाई शोषण गरेकै कारण प्राकृतिक विपद्हरु निम्तिरहेका छन् । हाम्रै हिमालको हिउँ पग्लिरहेको छ । नदीनाला दोहन गरिरहेका छौँ” उनले भने, “चुरे क्षेत्र समाप्त भइरहेको छ । तराईको जंगल समाप्त भएको छ । तर लिडरलाई मतलव छैन ।”
यादवले वैज्ञानिकहरुले प्राकृकित श्रोत सम्पदाहरुको दोहन गर्दा आउनसक्ने परिणामको चेतावनी दिँदासमेत विश्वका नेतृत्वकर्ताहरुले जलवायु परिवर्तनको विषयमा कुनै चासो नदिनु दुखद भएको टिप्पणी गरे । उनले प्रकेति दोहन गर्दा हाल जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढीरहेको उल्लेख गर्दै यस्ता समस्याहरु समाधानका लागि विशेष योजना बनाएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे । उनले प्रकृतिको संरक्षण नगरे मानव सभ्यता नै धरापमा पर्ने अवस्था आइसकेको बताए ।
पूर्व राष्ट्रपति यादवले प्राकृतिक सम्पदाहरुको विनाशका कारण कोरोना लगायतका विभिन्न रोगहरु आइरहेको भन्दै प्रकृतिको संरक्षण गर्न सबै जुट्नुको विकल्प नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्