महंगो दसैंमा विपन्नलाई मुस्किल

तातोपानी गाउँपालिका २ का लोकबहादुर दमाई शनिबार बिहानै खसी किन्न निस्किए । खल्तीमा १५ हजार बोकेर खसी किन्न बजार पुगेका लोकबहादुरको पैसा १५ किलो खसी पनि आएन् । खसी व्यापारीले कम्तीमा १९ हजार भन्दा तलको खसी नआउने भनेपछि उनी रित्तै फर्किए । गत वर्ष १३ हजारमा २० किलोको खसी किनेर दसैं मनाएका लोक बहादुरको यसपालीको महंगीले दसैं सोचे जस्तो नहुने बताउँछन् ।
त्यस्तै तातोपानी २ कै मुकेश परियार खसी किन्नका लागि १५ हजार लिएर निस्किएका थिए । घर नजिककै खसी ल्याएकोले सस्तो पनि हुने र फूलपातीमा बजार जाने झन्झट पनि नहुने सोचेर खसी किन्न निस्किएका उनी पनि खसीको मूल्य सुनेर रित्तै फर्किए । गत वर्ष ८ हजारमा १३ किलोको खसी किनेका मुकेशले यसपाली खसीको मूल्य बढ्दा किन्नै नसकिने अवस्था रहेको सुनाए ।
विगत दुई वर्ष यता जुम्लामा खुसीबोका घट्दै गएको र बाहिरी जिल्लाबाट आयात नहुने भएकाले मूल्य दोब्बर महंगो भएको हो । गत वर्ष १३ हजारमा पाइने खसी यसवर्ष २० हजार नहाली नआउने अवस्था छ ।
बजारको महंगी पनि उत्तिकै रुपमा बढेको विपन्नका लागि दसैं निकै सकसपूर्ण हुने देखिएको छ । जुम्लाका लागि चालु आवको दसैं तिहार लक्षित सहुलिय पसल सञ्चालनका लागि १२ सय क्वीन्टल खाद्यन्न सकिएको छ । बजारको दैनिक उपभोग्य वस्तु चामल, तेल लत्ता कपडा सबै महंगीएको छ ।
“स्याउ बेचेकै पैसाले दसैं मनाइन्थ्यो । उधारो स्याउ लिएको व्यापारीले अझै पैसा दिएको छैन” पातारासीका तारा बोहोरा भन्छन्, “महंगी बढ्दा दसैं टार्न समस्या भएको छ ।” जडिबुटीको व्यापार पनि यस वर्ष राम्रो नभएकोले पातारासी गुठिचौरका विपन्न नागरिकको घरमा दसैंको रौकन आउने अवस्था छैन ।
इन्धनको मूल्य बढ्दा बजारमा महंगी बढेको छ । तर चाड पर्व लक्षित बजार अनुमगनलाई जोड दिइने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटा बताउँछन् । उनका अनुसार उपभोक्ता ठग्ने व्यापारीलाई कारबाही गरिने छ ।