Logo

डा. अधिकारीको आम्दानी खर्च सार्वजनिक

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश ‘क’ बाट प्रदेश सांसदमा निर्वाचित भएका डा. रामकुमार अधिकारीले प्रदेश सभा सदस्य भएवापत प्राप्त गरेको सरकारी सुविधा र पाँच वर्षे कार्यकालमा गरेको व्यक्तिगत खर्च सार्वजनिक गरेका छन् ।
डाक्टर अधिकारी तीन महिना १७ दिन सामाजिक विकास राज्यमन्त्रीसमेत भएका थिए । डा. अधिकारी ५४ महिना प्रदेश सभा सदस्य (तीन महिना १७ दिन राज्यमन्त्री) हुँदा कर कटाएर जम्मा ३७ लाख ७० हजार प्रदेश सरकारबाट बुझेको उल्लेख गरेका छन् । यसैगरी उक्त रकमबाट भएको खर्च पनि सार्वजनिक गरेका छन् । नीलकण्ठ–३, जीविका होटेल, पुछारबजारमा आफू, आफ्नो निजी सचिव र नेता कार्यककर्ताले करिब चार वर्षमा खाना, खाजा र होटेलको कोठा भाडासमेत चार लाख चार हजार, नीलकण्ठ–३, सिरानबजार सम्पर्क कार्यालयको भाडा एक लाख २५ हजार भएको उल्लेख गरेका छन् । यसैगरी नीलकण्ठ–३, सिरानबजार योग सेन्टरलाई फर्निचर खरिद ७० हजार र नीलकण्ठ–३, पुछारबजार कोठा भाडा ५० हजार तिरेको बताएका छन् ।
र विभिन्न अन्य हार्डवेर पसल, धादिङबेसीबाट सिमेन्ट, रड, जस्तापाता, प्लम्बिङका सामान, खानेपानी र सिँचाइका लागि पाइपहरू किनेर जनतालाई बाँड्न दुई लाख ५० हजार खर्च गरेका छन् । आफू प्रदेश सभा सदस्य र राज्यमन्त्री हुँदा अन्य फुटकर खर्च, दान, चन्दा, बिरामीलाई सहयोग आदि गरी तीन लाख १८ हजार खर्च गरेका छन् । डा. अधिकारीले ३७ लाख ७० नै खर्च गरेको विवरण सार्वजनिक गरेका छन् ।
आफ्नो कार्यकालमा आफ्नो निर्वाचन क्षेत्रमा बागमती प्रदेशबाट करिब १० वटा बहुवर्षीय योजना र संघीय सरकारबाट पनि तीनवटा बहुवर्षीय योजना ल्याउने दाबी गरेका छन् । ती बहुवर्षीय योजना कार्यान्वयनका चरणमा रहेको र केही योजना अधुरै रहेको बताएका छन् । आफ्नो कार्यकाल पाँच वर्षमा आफ्नो निर्वाचन क्षेत्रमा पाँच अर्ब ३७ करोड ६५ लाख ल्याएको उनको दाबी छ । सामाजिक विकास राज्यमन्त्री हुँदा बागमती प्रदेशअन्तर्गतका सबै जिल्ला अस्पताल र अन्य केही अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न प्रमुख भूमिका खेलेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्