बाढी प्रभावित भन्छन् : चाडपर्व आयो के खाने, के लगाउने ?

यही १ असोजको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुपर्यो । केही पूर्णरूपमा विस्थापित भए भने केही आंशिक रूपमा । पूर्ण रूपमा विस्थापित भएका यतिबेला भत्केको घर निर्माणमा जुटेका छन् भने आंशिक रूपमा विस्थापित भएका राहतका लागि नगरपालिका धाउनमै व्यस्त छन् ।
चाडपर्व आएसँगै भजनीका अधिकांशको घरमा यतिबेला अन्न छैन । बाढीले क्षति पुर्याएका स्थानमा कयौंको घरमा भएको अन्नपात बाढीमै बग्यो भने कयौंको बाढीले भिजेर पूर्णरूपमा नष्ट भयो । भजनी नगरपालिका–५ लालभोजीमा तुलाराम चौधरी मंगलबार नगरपालिका पुगेका थिए ।
बाढीका कारण विस्थापित भएका उनी राहतका लागि नगरपालिका पुगेका हुन् । घरमा भएको सबै अन्नपात बाढीले बगाएपछि खानका लागि घरमा केही नहुँदा त्यसैको जोहोका लागि नगरपालिका पुगेका उनी चाडपर्वको समयमा भएको विपत्तिले निकै अप्ठ्यारोमा पारेको सुनाउछन् । “छ जनाको परिवार छ । घरमा खानको लागि केही छैन,” उनी भन्छन्, “के खाने, के लगाउने निकै समस्या छ । परिवार पाल्नुछ । खेती पाक्न अझै महिना लाग्छ ।”
सोही ठाउँका रामबहादुर चौधरी पनि बाढीका कारण विस्थापित भए । घरको अन्नपात बग्यो । खेतमा लगाएको धानबाली नष्ट भयो । शरीरमा लगाएको एक जोर लुगाभन्दा केही पनि बचाउन नसकेका रामबहादुरलाई पनि खानको निकै समस्या भएको छ । नगरपालिकाले दिएको राहतले एक दुई छाक टार्न भ्याए पनि अरु दिनको जोहो कसरी गर्ने भन्ने चिन्तामा उनी छन् । “घरमा खानलाई केही छैन । लगाउनलाई नत लुगा ।” उनी भन्छन्, “चाडपर्व आए, आफूहरू त जसोतसो चुप बसौंला, तर बालबालिकालाई कसरी मनाउने भन्ने पीर छ ।”
उनले गाउँघरमा अरुको देखासेखी बढी चल्ने गरेको बताउँदै अर्कोले खाएको र लगाएको बालबालिकालाई जसरी पनि पुर्याउनुपर्ने बाध्यता जस्तै बन्ने गरेको बताउँछन् । “हामी पीडित छौं । चाडपर्वमा रमाइलो नगर भन्नुभएन । आफूसँग अरुले गरेजस्तो गर्न स्रोत छैन ।” उनी भन्छन्, “नगरपालिकाले २५ केजी चामल उपलब्ध गराएको छ । त्यसै चामलले हामीले दसैं मनाउनु छ । के बालबालिकाको इच्छा पूरा होला, चाडवाडमा के हाम्रो पेट भरिएला ?”
भजनी–३ का राजेन्द्र विक अझै घर फर्किएका छैनन् । परिवारका अन्य सदस्य घर फर्किएको भए पनि आफू अझै हुलाकी सडकको त्रिपालमै बस्दै आएको उनी बताउँछन् । “घर लिपपोत हुँदैछ । गाई वस्तुको गोठ भत्केका कारण अन्त बाँध्ने ठाउँ नभएपछि तीनको रेखदेखका लागि हुलाकी सडकमै छु ।” उनी भन्छन्, “गोठ बनेपछि घर गाई वस्तु लिएर जानुपर्ला ।” उनी घर पुगेर अस्तव्यस्त घरको अवस्था, हिलाम्मे आँगन, भत्केका घरका भित्ताले मन थाम्न मुस्किल हुने गरेको बताउँछन् ।
वडा नं ८ का रति ढकाल पनि अझै घर फर्किएका छैनन् । उनी हुलाकी सडकको किनारमा त्रिपालमै बस्दै आएका छन् । उनका लागि यो पटकको दसैंले छुन सकेको छैन । दिउँसो घर पुगेर घर मर्मतको काम गरे पनि बस्नका लागि त्रिपालमै आउनुपर्ने बाध्यता रतिलाई छ । “घर छैन । जमरा राख्ने ठाउँ छैन । खानका लागि घरमा अन्न छैन । हामीलाई केको दसैं ।” उनी भन्छन्, “ज्यान बाँचेको छ । कतैबाट खाद्यान्न सहयोग भयो भने त्यसैबाट गुजारा गरेर ज्यान जोगाउने बाटो खोज्दै छौँ । यो वर्षको दसैं त त्यस्तै भयो हाम्रा लागि ।”
भजनीका बाढी प्रभावितलाई सबैभन्दा ठूलो समस्या नै खाद्यान्नको भएको छ । घरको सबै अन्नपात केही बगेर त केही भिजेर नष्ट हुँदा यतिबेला ती पीडित परिवारलाई के खाने भन्ने चिन्ताले सताएको छ । खेतमा लगाएको धानबाली पनि कयौँ किसानको नष्ट भएको छ । बाँकी रहेको धान भित्र्याउन पनि अझै महिना दिन लाग्ने स्थिति छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीले भने, “घरमा भएको अन्न खाली भइसकेको छ । बाहिरको भित्र्याउन अझै एक महिना लाग्छ । अब एक महिनासम्म पुग्ने राहत नगरपालिकाको स्रोतले भ्याउन सक्दैन ।” उनले बाढीका कारण तीन हजार घर पूर्ण र चार हजार घरमा पानी पसेको अनुमानित तथ्यांक रहेको बताउँदै अझै वास्तविक तथ्यांक आउन समय लाग्ने बताए ।
“हामीसँग वास्तविक तथ्यांक आइसकेको छैन । वास्तविक तथ्यांक आएपछि कति क्षति भएको रहेछ थाहा हुनेछ ।” उनले भने, “पानी पसेका घरमा पनि खाद्यान्न बचेको छैन । बचेको खाद्यान्न पनि काम नलाग्ने भएको हामीले देखेर आएका छौँ ।” नगर प्रमुख केवल चौधरीले विस्थापित नागरिकका लागि आवश्यक राहत सहयोगका लागि आह्वान गरिएको जनाउँदै राहत सामग्री नगरपालिकालाई उपलब्ध भए पनि विस्थापित धेरै भएका कारण पुर्याउन नसकिएको बताउँछन् ।
उनी बाढी आएको दिनदेखि आफूहरूले शान्तिको श्वास फेर्न नपाएको जनाउँदै बाढीबाट विस्थापित परिवारको अवस्था हेर्दा निकै पीडादायी रहेको र त्यो पीडालाई आफूहरूले समाधान गर्न प्रयास गरे पनि सफल हुन नसकेको बताउँछन् ।
“हामीसँग सीमित स्रोतसाधन छ । त्यो स्रोतसाधनले सबै प्रभावितको समस्या समाधान गर्न निकै कठिन छ,” नगर प्रमुख चौधरीले भने, “अहिले विस्थापित नगरपालिका आएर दसैँ मनाउने आधार बनाइदिनुपर्यो भन्दै आग्रह गर्नुहुन्छ । हामी एक्लैले यस्तो विपत्तिको सामना गरेर नागरिकको आवश्यकता पूरा गर्न सक्छौं ?”