Logo

पहिलो खण्डको काम तीव्र गतिमा

तामाकोसी–बाह्रबिसे प्रसारणलाइन

तामाकोसी–बाह्रबिसे–काठमाडौं चार सय केभी प्रसारण लाइनको पहिलो खण्डको आठ किलोमिटर तार तान्ने काम पूरा भएको छ । तामाकोसी–बाह्रबिसे पहिलो खण्ड ४४ किलोमिटर लामो छ । दुई खण्डमा निर्माणाधीन आयोजनाको दोस्रो खण्डको तुलनामा पहिलो खण्डको काम तीव्र गतिमा भइरहेको छ ।
आयोजना र प्रसारण लाइनको जिम्मा पाएको कम्पनी केईसीले संयुक्त रूपमा सर्भे र डिजाइनपछि टावरको काम गरिरहेको छ । आयोजनाका इन्जिनियर गजेन्द्र यादवका अनुसार पहिलो प्याकेजको ७६ वटा टावरको जग पूरा भएको छ भने ५७ वटा टावर उठाइसकिएको छ । पहिलो प्याकेजको १ सय १८ वटा टावरमध्ये दोलखामा ८५ वटा, सिन्धुपाल्चोकमा २७ र रामेछापमा तीनवटा पर्छ । दोलखामा दुईवटा टावर गुठीको जग्गामा परेकाले त्यसको निर्णयका लागि क्याबिनेट पठाउने तयारी छ ।
तामाकोसी–बाह्रविसे चार सय केभी प्रसारण लाइनको टावरले ओगट्ने जग्गाको दोलखामा ८० प्रतिशत र सिन्धुपाल्चोकमा ३६ प्रतिशत बढी मुआब्जा वितरण भएको छ । आयोजनाको दोलखा सिन्धुपाल्चोकमा पर्ने टावरले ओगट्ने निजी आवादी जग्गाको मुआब्जा वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले तोकेको मूल्यांकनका आधारमा आयोजनाले मुआब्जा वितरण गरेको हो ।
आयोजनाको टावर राख्दा २ सय १६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ । औसतमा प्रतिरोपनी सात लाख मूल्यांकन भएको आयोजनाका इन्जिनियर गजेन्द्र यादवले जानकारी दिए । दोलखा जिल्लामा मात्र करिब १५ करोड मुआब्जा वितरण गर्नुपर्छ । आयोजनाले डेढ वर्षअघि मात्र मुआब्जा वितरण सुरु गरेको हो ।
तामाकोसी नदी र सुनकोसी नदी आसपासको विद्युत काठमाडौंसम्म पुर्‍याउन तामकोसी–काठमाडौं चार सय केभी प्रसारणलाइन आयोजनाअन्तर्गत दुई प्याकेजका काम भइरहेको छ । आयोजनाको पहिलो खण्डको तामाकोसी (रामेछापको साँखेदेखि सिन्धुपाल्चोकको बाह्रबिसे) सम्मको नयाँ ठेक्का भारतीय कम्पनी केईसी इन्टरनेसनल लिमिटेडले पाएको छ । कम्पनीले करिब ४४ किलोमिटर प्रसारण लाइनको डिजाइन, उपकरण आपूर्ति, जडान र सञ्चालनका लागि एक करोड ७३ लाख १७ हजार अमेरिकी डलर र ७१ करोड ७७ लाख ९७ हजार (करबाहेक) रुपैयाँमा ठेक्का पाएको छ ।
यसमध्ये दोलखामा १८ वटा र सिन्धुपाल्चोकमा १३ वटा टावर वन क्षेत्रमा पर्छ । वनमा टावर निर्माणका लागि एक हजार र तारमुनी पर्ने चार हजार रुख काट्नु पर्ने देखिएको छ । दोस्रो प्याकेजको बाह्रबिसेदेखि काठमाडौंको लप्सीफेदीसम्म पर्छ । त्यसको १ सय २२ वटा टावरमध्ये १ सय ६ वटाको जगको काम पूरा भएको छ भने एक सयवटा टावर नै उठेको छ । दोस्रो प्याकेजको सिन्धुपाल्चोक र काभ्रेपलान्चोकमा मुआब्जा वितरणको काम भने अन्तिम चरणमा पुगेको आयोजनाका सामाजिक सुरक्षण अधिकृत सन्तोष काफ्लेले जानकारी दिए । तर लप्सीफेदीमा सब स्टेसन निर्माणको काम सुरु हुनै सकेको छैन । काठमाडौं र भक्तपुरमा भने मुआब्जा वितरणको काम सुरु नै हुन सकेको छैन ।
एसियाली विकास बैंकको ऋण लगानीमा आयोजना निर्माणाधीन छ । लप्सीफेदीबाट नुवाकोट–पोखरा–बुटवल क्षेत्र भने एमसीसीको आयोजनाले चार सय केभीकै अर्को प्रसारणलाइन निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्