सिट बाँडफाँटप्रति मुगु कांग्रेस क्रुद्ध, गठबन्धन नमान्ने चेतावनी

आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि सत्तारुढ गठबन्धनले गरेको सिट बाँडफाँटप्रति मुगुका कांग्रेस नेता–कार्यकर्ताले आपत्ति जनाएका छन् ।
मुगुबाट उम्मेदवार सिफारिस कांग्रेसका नेता र अन्य जिल्लास्तरका नेता गरी १४ जनाले सामूहिक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ जिल्लाका उम्मेदवार सिफारिस नभएको भन्दै आपत्ति जनाएका हुन् ।
उनीहरूका अनुसार समानुपातिकमा कर्णाली प्रदेशसभामा मुगुका कोही पनि सिफारिस भएका छैनन् भने प्रतिनिधिसभामा एक जना अन्तिमतिर सिफारिसमा परेका छन् ।
सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट हुँदा प्रत्यक्षतर्फ मुगु जिल्लाबाट प्रतिनिधिसभाको मात्र सिट पाएको र प्रदेशसभाको दुबै सिट गुमाउनुपर्ने अवस्था आएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । उनीहरूले प्रदेशसभाको प्रत्यक्षतर्फ पनि पार्टीले उम्मेदवार पाउनुपर्ने माग गरेका छन् ।
सञ्चार माध्यममा आएको सूचनालाई पुष्टि हुने गरी निर्णय भएको खण्डमा नेपाली कांग्रेस मुगु गठबन्धनको निर्णय मान्न बाध्य नहुने र नेपाली कांग्रेस मुगुले प्रतिनिधिसभामा एकल रुपमा निर्वाचन लड्ने व्यहोरा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई अवगत गराउन चाहन्छौं’ उनीहरूले विज्ञप्तिमा भनेका छन् ।