कांग्रेस भित्र नै बिद्रोह गर्नुपर्ने बेला आयो: गगन थापा «

कांग्रेस भित्र नै बिद्रोह गर्नुपर्ने बेला आयो: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताए ।
शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । महामन्त्री थापाले नेपाली कांग्रेसभित्र सही ढंंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको उल्लेख गरे । उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरू निर्वाचनको गोलचक्करमा मात्रै सीमित भएको दाबी गरे ।
महामन्त्री थापाले पार्टी भित्रका नेताहरूले नै पार्टीमा न्याय, सन्तुलन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यक्ताको बोध हुन थालेको जिकिर गरे । उनले युवाहरूको समर्थनले आफूमा यस्ता विकृतिहरूलाई चिर्ने शासह थपिएको भन्दै युवाहरूलाई निराश नबनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
महामन्त्री थापाले भने, ‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र ठूलो बिद्रोह गर्नुपर्ने बेला आएको छ । पार्टीलाई ठिक ठाउँमा पुर्‍याउनुपर्ने बेला आएको छ । नत्र त पार्टी मात्र सत्ताको हतियार हुनेभयो । केको लागि पार्टी भन्दा जनमत, केको लागि गठबन्धनभन्दा चुनाव जित्नको लागि यसरी कुनै एउटा पार्टी मात्रै होइन, सबै गठबन्धन गरिरहेका छन् । सबै सिस्टम नै के हुनलाग्यो भने चुनावमय भयो । निर्वाचनदेखि निर्वाचनको गोल चक्कर । यो मात्रै सबै कुरा भयो । हाम्रो आफ्नै पार्टी भित्र अहिले हर्ने हो भने यत्रो ठूलो असन्तुष्टि छ । पार्टीमा न्याय भएन भन्नेछ । सन्तुलन भएन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्नेछ । यो सबै कुरालाई चिर्नको लागि अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यक्ताको बोध हुन थालेको छ । यसको लागि युवाहरूको उपस्थितिले तागत बढाएको छ । युवाहरूलाई निराश बनाउँदिन ।’
महामन्त्री थापाले सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गरे । उनले सरकार मात्र निर्वाचनलगायत अन्य कुरामा केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासिन बनेको बताए । उनले पूर्ववर्ती सरकारलाई कोरोनाको बेलामा काम भएन भनेर बिरोध गरिरहेको तर अहिले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारबाट डेंगु नियन्त्रण र न्यूनीकरणका लागि पहल हुन नसकेको बताए ।
महामन्त्री थापाले डेंगुका कारण चाडबाडको बेलामा जनजीवन प्रभावित बनेको भन्दै प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर संक्रमणलाई न्यूनीकरण गर्ने अभियान शुरु गर्नुपर्ने बताए । उनले सरकारसँग देशभरको डेंगु संक्रमणलाई कसरी घटाउने, रोकथाम कसरी गर्ने, अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने भन्ने बारेमा छुट्टै अभियान सञ्चालन गर्न माग गर्नुभयो । महामन्त्री थापाले सरकारले महामारीको बेलामा अरु कुरालाई प्राथमिकतामा राखेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने जिकिर गर्नुभयो । उहाँले आफू स्वास्थ्यमन्त्री रहँदा बनाएको बीमा विधेयक, ऐन लागू भएको भए बीमा गरेका नेपाली नागरिकहरूले अस्पतालको शैय्यामा सुतिसकेपछि खल्तीबाट एक रुपैयाँ पैसा पनि तिर्नुपर्ने अवस्था नआउने दाबी बताए ।
उनले भने, ‘यो बेलामा सरकारले पनि काम गर्नुपर्नेछ, मैले प्रधानमन्त्रीलाई भेटेर भनेको पनि छु, यहाँबाट पनि भन्छु, यत्रो डेंगु लागेको बेलामा नेपाल सरकारले जुन प्राथमिकताका साथ यो विषय लाग्नुपर्ने हो, काम गर्नुपर्ने हो, पटक्कै काम गरेको छैन । यसमा हाम्रो ठूलो असन्तुष्टि छ । काम गरेको तरिका चित्त बुझेको छैन । हिजो हामीले कोभिडको बेलामा त्यो बेलाको सरकारलाई यत्रो कोभिड भइरहेको बेलामा जसरी काम गर्नुपर्ने हो, त्यसरी काम भएन भनेर भन्यौँ । आज आफ्नै सरकारको बारेमा भन्नुपर्दा, सरकार कसैको हुँदैन, सरकार देश र जनताको हुन्छ । मेरो पार्टीको नेता प्रधानमन्त्री हुनुहुन्छ, त्यो पार्टी भित्रको कुरा हो, तर आज प्रधानमन्त्री त सिंगो देशको हो । आजको दिनमा मुल काम भनेको यत्रो प्रकोप फैलिसक्यो । चाडबाडको बेलामा यस्तो अस्तव्यस्त भएको छ, तत्काल प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक बोलाएर, स्थानीय सरकारको साथीहरूलाई बोलाएर एकै ठाउँमा बसेर देशभर संक्रमणलाई कसरी घटाउने, यसको रोकथाम कसरी गर्ने, अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने भन्ने बारेमा सरकारले छुट्टै अभियान सञ्चालन गर्नुपर्छ । सरकारको यो जिम्मेवारी हो । अरु कुरामा ध्यान दिएर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन । मैले स्वास्थ्य मन्त्रालयमा हुँदा बीमाको ऐन, अहिले ५ वर्षमा कार्यान्वयन भएको भए र त्यो अनुसारको संरचना बनेको भए आज डेंगुको संक्रमणको बेलामा यो र त्यो गर्नुपर्छ भनिरहनु पर्दैन थियो । मैले बनाएको कानून मात्रै लागू गरेको भए विनाद चौधरीले पनि वर्षको केही पैसा तिर्नुपर्दथ्यो, सडकमा मकै बेच्नेले पैसा तिर्न नसक्दा सरकारले तिर्नुपर्दथ्यो । अस्पतालको बेडमा गएर बीमा गरेका व्यक्तिहरू सुतिसकेपछि एक रुपैयाँ पैसा पनि खल्तीबाट तिर्नुपर्दैन थियो ।’
महामन्त्री थापाले देशको आजको सबैभन्दा ठूलो मुद्दा नेपालका युवाहरूले स्वदेशमा नै रोजगारी पाउने कुरा हुनुपर्ने बताए । उनले वर्तमान अवस्थामा नेपालको राजनीतिको प्राथमिकतामा चुनाव लड्ने, जित्ने र सरकार बनाउने कुरामा मात्रै सीमित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्