क्यान्डिडेट मास्टर थापाको विजयी सुरुवात

डिफेन्डिङ च्याम्पियन क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमाजारी एसियन एमेच्योर चेस च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् । सन् २०१९ नोभेम्बरमा काठमाडौंमा सम्पन्न च्याम्पियनसिपको विजेता थापाले बिहीबार सम्पन्न पहिलो चरणको खेलमा कुवेतका अलमुहाइनी अब्दुलाजीजलाई पराजित गरेका हुन् । अक्टोबर ५ सम्म सञ्चालन हुने प्रतियोगितामा एसियाका २० देशका १४६ जना खेलाडीको सहभागिता छ ।
नौ चरणसम्म सञ्चालन हुने प्रतियोगिताअन्र्तगत शुक्रबार साँझ हुने दोस्रो चरणको खेलमा थापाले जापानका ताकेनुउची अत्सुसीसँग प्रतिस्पर्धा गर्नेछन् । फिडे रेटिङ २ हजारभन्दा कम भएका र अधिकतम फिडेमास्टरसम्मको टाईटल प्राप्त खेलाडीको मात्र सहभागिता रहने प्रतियोगिताका विजेताले १५ सय डलर नगद पुरस्कार प्राप्त गर्ने छन् ।