Logo

दसैं आशिर्वाद र शक्ति आर्जन गर्ने चाड हो

दसैं नेपालीहरूको महान् पर्व हो । यो पर्व नेपालीहरूले देश विदेश सबै ठाउँमा उत्साहपूर्वक मनाउँछन् । समय परिस्थिति अनुसार चाड मान्ने शैली पनि फरक हुँदै गएको छ । प्रविधिले गर्दा विदेशमा बसेका आफ्ना आफन्तले मान्यजनसँग प्रविधिको प्रयोग गरी टीकाप्रसाद र आशिर्वाद ग्रहण गर्ने गरेका छन् । २०/२५ वर्ष अगाडि दसैं मान्ने परम्परा मौलिक थियो भने अहिलेको दसैं मान्ने परम्परा प्रविधिले पनि परक पारिदिएको छ । हिँजोका दिनमा दसैं कहिले आउँछ भनी पात्रो हेरेर दसैंका योजना बनाउने गरिन्थ्यो । नयाँ लुगा लगाउने, मीठो खाना खाने, आफ्ना आफन्तकोमा टीका लगाउन जाने योजना बन्थ्यो । त्यतिबेला यातायातको साधन खासै हुन्थेन । प्राय:जसो स्थानमा हिँडेर नै जानु पथ्र्यो । र, त्यतिबेलाको दसैंको रौनक नै फरक थियो विशेष रमाइलो पनि हुन्थ्यो । गाउँघरमा रोटे पीङ, लिंगे पीङ हाल्ने गरिन्थ्यो । टाढा टाढाबाट घरमा टीका लगाउन आउँदा छुट्टै रमाइलो हुन्थ्यो । तर अहिले समय परिस्थितिअनुसार चाडबाडको रौनक नै परिवर्तन भएको छ । समय परिवेशअनुसार आएको परिवर्तनले दसैं मनाउने शैली, खानपिनले फरकपन महसुस गर्न सकिन्छ । ३० वर्ष अगाडिको दसैं र अहिले मानिने दसैंका बारेमा शिक्षाविद् एवं संस्कृतिविद्हरूसँग कारोबार राष्ट्रिय आर्थिक दैनिकले गरेको कुराकानीको सार :

दसैंको रौनक घट्दै गएको छ
डा. निर्मलमणि अधिकारी
शिक्षाविद्
३० वर्ष अगाडि नेपालको अर्थतन्त्रमा नगद जुटाउने अवस्था थिएन । त्यसो भएको हुनाले नेपालीलाई नगद जुटाउन गाह्रो थियो । दसैं चाहिँ जसरी पनि नगद जुटाउने र खर्च गर्ने चाडको रूपमा रहेको हुन्थ्यो । लुगाफाटा किन्नदेखि मासु खानु छ भने चाहिँ दसैं आउँदै छ भन्ने हुन्थ्यो । दसंै आउँदै छ नि त भनेर पर्खिने त्यस्तो चलन पनि थियो । ३० वर्ष अगाडि चाइनाको खासाबाट अहिलेजस्तो सस्तो लुगा नआउने बेलामा धेरै जोर लुगा किन्न पनि कोहीकोही धनी मानिसबाहेक अरुलाई धेरै गाह्रो हुन्थ्यो । तर अहिले प्रत्येक घरघरबाट वैदेशिक रोजगारीमा जाने धेरै छन् । पढ्न पनि जाने हुनाले नगदको प्रवाह धेरै देखिन्छ । त्यसैले त्यो बेलामा मानिसको खाने लगाउने कुरा किन्ने विलासिता भन्ने सोचिन्थ्यो । अहिले आधारभूत आवश्यकतामा परेको छ । यस्तो परिवर्तन चाहिँ स्पष्ट रूपमा देखिन्छ ।
अहिले गाउँमा फर्किने जुन संख्या हो त्यो चाहिँ पहिलेको भन्दा अलि घटेको छ । दसंैको बेलामा मानिसको संख्या गाउँमा धेरै बढने देखिन्थ्यो । पहिलेभन्दा तुलनात्मक रूपमा बढेको देखिएता पनि ३० वर्ष अगाडिको तुलनात्मक रूपमा रमाइलो घटेको छ । बाटोघाटो सफा गर्ने, पिङ हाल्ने दसंैको अवसर पारेर विभिन्न प्रतियोगिता जुन बेला व्यापक रूपमा हुन्थ्यो । त्यो कुरा घटेर गएको छ । गाउँका कयौं घरमा दसंैमा वृद्धवृद्धा मात्रै बस्ने गरेको पनि देखिएको छ । गाउँमा आवतजावत दसैंभन्दा पनि माओवादी द्वन्द्वकालदेखि नै घटन थालेको हो । त्यतिबेलादेखि दसंैको रमाइलो वा रमझम पूर्ण रूपमा स्थापित हुनसकेको छैन । उपभोक्तावादीले पहिलाभन्दा अहिले अझै धेरै जितेको छ । पहिले प्रसस्त खाने कुरा नहुँदा पनि दसंैमा एक दिन मिठो मसिनो खाने भन्ने थियो । तर अहिले त्योबेला जस्तो रहेन । अहिले मानिसले सामाजिक सञ्जालमा देखाउने कुरो बढेको छ । तर त्यसले के गर्‍यो भने मानिसको भेटघाट गर्ने आवश्यकता हो, त्यसलाई कम गराइदियो । मान्छे वास्तविक दुनियाँभन्दा बाहिरी दुनियाँमा वा देखावटीमा अलमलिएको छ । वास्तवमा दसैंको जुन रौनक हो त्यो घटेकै हो ।
दसैंको बेलामा शक्तिपीठहरूमा देवीको आरधाना, भक्ति अनुष्ठान गर्ने परम्परा बढेको देखिन्छ । पाँच वर्षदेखि यता आश्रम गुरुकुलको संख्या बढेको छ । नेपालमा अहिले त्यस कारणले पनि गर्दा दसंैमा आध्यात्मिक अनुष्ठान र धार्मिक साधना गर्ने परम्परा पहिलेको तुलनामा बढेको अवश्य हो ।

मान्यजनको हातबाट टीका ग्रहण गर्ने पर्व हो
डा. सूर्यप्रसाद ढुङ्गेल
संस्कृतिविद्
३० वर्ष अगाडि र अहिलेको दसंैमा रमाइलो फरक हुँदै गएको छ । त्यतिबेलाको जस्तो रमाइलो अब कहाँ हुन्छ र । त्यतिबेला हामीले दसैं कहिले आउँछ भनेर कुथ्र्यौं । त्यसको कारण के थियो भने मान्छेको खानपिनमा फरकपन थियो । त्यतिबेला माछा मासु अहिलेजति कहाँ उपलब्ध हुन्थ्यो र । पहिले पूरा पेटभरि मासु खान पनि दसंै आउनु पथ्र्याे । नयाँ कपडा भनेको दसंैमा बाहेक अरुबेला पाइँदैन थियो । तर आजभोलि दसंै कुर्नुपर्ने अवस्था छैन ।
अर्को कुरा पाहुना र आफन्त मिलेर रमाइलो गर्ने गथ्र्यौं । त्यसबाट मनोरञ्जन लिने त्यो संस्कृति र रौनक थियो । अहिले क्रमश: घट्दै गएको छ । मनोरञ्जनका साधनहरूरु कम छन् । मानिसहरू नयाँ प्रविधिमा अलमलिने थुप्रै मनोरञ्जनका साधनहरू भएकाले पुराना मनोरञ्जनका साधन अलिकति ओझेलमा परे । त्यसकारण पहिलेको दसंै र अहिलेको दसंैमा धेरै फरक छ । दसैं भनेको कस्तो पर्व हो भने शक्तिको उपासना गर्ने पर्व हो । नौ दिनसम्म देवीको पूजा आरधना गर्ने र शक्तिआर्जन गर्नका लागि मान्यजनको हातबाट टीका प्रसाद ग्रहण गर्ने मूल पर्व हो यो । तर ती कर्महरू ओझेल पर्न थालेका छन् । यसमा अरु धर्मको प्रवाह पनि देख्न थालिन्छ । हाम्रो धर्म संस्कृतिलाई अलि ओझेलमा पर्न थालिएको होकि भन्ने पनि देखिन्छ । अर्को अहिलेका बालबालिकालाई दसंै भनेको के हो, चाडपर्व भनेको के हो, यो किन मान्ने, कसरी मान्ने, केका लागि मान्ने मान्दा के हुन्छ नमान्दा के हुन्छ त्यसबारेमा हामी अभिभावकहरूले ज्ञान दिन सकेनौं । हाम्रो शिक्षा विदेशी संस्कृतिसँग सम्बन्धित हुन पुगेको छ । त्यसकारण हाम्रो धर्म संस्कृति, परम्पराका कुरा अलिकति कमजोर हुँदै गए । जुन माथिल्लो पिडिले तल्लो पिडिमा हस्तान्तरण गर्दै जानु पथ्र्याे त्यो भएन । आफ्नो तरिकाले दसंै मान्छौ राजसी तामसी सबै छन् । तर जति जोगाउने कुरा हो त्यो चाहिँ घट्दै गइरहेको छ ।

हरेक चिजमा परिवर्तन देखिएका छन्
निर्मला ढकाल
समाजशास्त्री
यो ३० वर्षभित्रमा धेरै ठूलो परिवर्तन आएको छ । टेलिभिजनको, सञ्चारमाध्यमहरूको तीव्र विकास भयो । विश्व नै लगभग उही समयमा विश्वले एक कुनाबाट अर्को कुनाको खबरहरू थाहा पाउने भयो । यी कारणले गर्दा हरेक चिजमा धेरै परिवर्तन देखिएका हुन् । त्यस्तै दसैं पर्वमा पनि ठूलो परिवर्तन आयो, जसले गर्दा ३० वर्षअगाडिको जुन भित्री मनबाट नै उत्साह भित्री मनबाट तागत आएको जस्तो आफैंलाई तागत आएको जस्तो एकदमै हौसलापूर्ण त्यो समय हो । दसैंको समयलाई प्रतीक्षा गरेर बसेको जस्तो महसुस हुन्थ्यो भने अहिलेको दसँंचाहिँ केवल मनोरञ्जनतिर केन्द्रित र त्यो मनोरञ्जनमा पनि आधुनिक प्रविधिसँग सम्बन्धित मनोरञ्जन र भित्री प्रविधिसँग बढी प्रभावित भएर गर्ने मनोरञ्जन, त्यसले बढी प्राथमिकता पाएको हुनाले दसैंको वास्तविक महŒव, रहस्य, स्वाद जुन थियो त्यो पनि खल्लो र नमनाएको होइन । चाड मनाउने पनि छ, तर भित्रबाट जुन रसिलो, स्वादिलो महिनौंदेखि प्रतीक्षामा हुने त्यो किसिमको दसैंजस्तो अहिले दसैं छैन, ठूलो भिन्नता भएको छ । हालको दसैंमा आएको विकृति भने कुन कारणले दसैंलाई मनाइएको हो ? दसैंको महŒव के हो ? भन्ने कुरामा अहिलेका पुस्ताको त्यति ध्यान गएको छैन, तर ध्यान के कुरामा गएको छ भने अब दसैं आयो, कुन–कुन कुराबाट मनोरञ्जन गर्ने, कुन–कुन उपायबाट धूमधाम रमाइलो गर्ने, त्यो विधालाई पनि राम रमाइलोमा परिवर्तन गरेर यो बिदाको सदुपयोग भने कुन किसिमको रमाइलो गरेर यो बिदालाई प्रयोग गर्ने भन्ने कुरामा गयो । जस्तो ३० वर्षअगाडिको दसैँमा कसरी शक्ति आर्जन गर्ने, देवीको पूजा कुन प्रविधिले गर्ने, आफ्नो कुल, धर्म, रीतिरिवाजअनुसार देवीको आराधना गर्ने हो नि ! त्यो समयमा त्यतापट्टि ध्यान केन्द्रित थियो र कुन–कुन किसिमले गर्दा त्यो उत्कृष्ट हुन्छ, देवीलाई खुुसी बनाउन के गर्नुपर्ला, कसरी गर्नुपर्ला, केके नयाँ किसिमको भजन–कीर्तन, पूजापाठ गर्न सकिन्छ, कति कडा व्रत बस्न सकिन्छ या आफ्नो कुल परम्पराअनुसार कसरी गर्ने सकिन्छ भनेर त्यो कुरामा ध्यान थियो भने अबको ध्यानचाहिँ कसरी मनोरञ्जन गर्न सकिन्छ, ज्यादाभन्दा ज्यादा भन्ने कुरामा त्यता ध्यान गएको हुनाले एकदमै मूल विषयको दायाँबायाँबाट मूल विषयवस्तु छुट्यो र अर्कैतिर यसको बढी हाबी हुन थालेको महसुस हुन्छ मलाई । खासै सचेत भएर यसरी गर्नुपर्छ भनेर नै हाम्रो संस्कृति नबिग्रियोस्, नमासियोस् भनेर त्यसलाई जोगाउन सचेत भएर त्यही किसिमले मनाउनेहरूको सानो जमात छ । अब त्योभन्दा बाहिरी हिसाबले विषयवस्तु नै नबुझीकन जतिबेला मनोरञ्जनमा मात्रै ध्यान दिने भइसकेपछि त्यो विकृति स्वत: आफैं भित्रिन्छ । किनभने त्यसको महŒव, त्यसको विषयवस्तु, त्यसको कारण, त्यसको दर्शन बुझेर मनाएको भए पो देशमा एउटा विचार आउँछ, देशमा विकृति आउँदैन । देशमा एउटा उमंग, उत्साह, शक्ति आउँछ भने अब त्यो कुरा छोडिएको छ, त्यो कुरापट्टि बेवास्ता गरिएको छ । वास्ता भने खालि मनोरञ्जनतिर मात्रै छ । त्यसो हुनेबित्तिकै विकृतिको त डंगुर लाग्ने सम्भावना हुने भइहाल्यो ।
लेखनाथ पौडेलको कति राम्रो कविता छ—
यो सारा हिलोमैलो हरायो पानीको वर्षा
भवानीको पूजा भयो चल्यो आनन्दको चर्चा
जता जाउँ उतै भन्छन् दसैं आयो दसैँ आयो ।
यो कविताले भन्छ, यस्तै भित्री मनले गर्थे र कविहरू पनि उत्साहित भएर कविता रचना गरे । अब अहिले त्यस्तो माहोल कहाँ छ ? अहिले त माहोल हल्काहल्का एकदम सतहमा दौडियो, हरेक चाडपर्वहरू देशको मर्मतिर जान लागेनन् ।

मौलिकता हराउँदै गइरहेको छ
डा. माधव लामिछाने
उप–प्राध्यापक
३० वर्षअगाडिको दसैं र हालको दसैं हेर्दा हिजोको दिनमा प्रविधिमा विकास भएको थिएन । पहिला असोज लागेदेखि नै बच्चाहरू चङ्गा उडाउने, आकाशतिरको रंगीन, रमाइलो, त्यो अहिले देखिँदैन । किनभने आजभोलिका बच्चालाई मोबाइल भए हुने, त्यसैमा भुल्ने, त्यसमै रमाउने गर्छन् । ती बच्चाहरू बाहिरी वातावरणमा रमाउने संस्कृति नै हराइसक्यो । जस्तै बाहिरी क्रियाकलाप जस्तै रोटे पिङ, पिङ, चङ्गाजस्ता विभिन्न खेल खेल्थे तर पहिले ठाउँठाउँमा देखिए पनि अहिले धेरै ठाउँमा छैन । अब आर्थिक रूपमा हेर्ने हो भने नेपालीहरूको खर्च गर्ने क्षमता अलि बढेको छ । ३० वर्षअगाडिको तुलनामा यो आ–आफ्नो कामको कारणले हुनसक्छ, किनभने देशको उत्पादन त जिरो छ, आयात मात्र बढी छ, निर्यात छैन । तर पनि विदेशबाट आएको हुनाले किनमेलको माहोल बढी बनेको बजारमा बढी भीडभाड खालको माहोल पनि बनेको छ भने धार्मिक रूपमा त त्यति परिवर्तन आएको छैन । किनभने त्यो आस्था, भक्ति प्राय: पहिले पनि त्यही थियो, अहिले पनि त्यही छ । तर, सांस्कृतिक रूपमा अलिकति विचलन कस्तो आएको छ भने ३० वर्ष अगाडिचाहिँ यो दसैँतिहार चाड सबै नेपालीको हो भन्ने भावना थियो । तर, अहिले त्यसमा केही मात्रामा राजनीति विष भरिएको छ र केही मान्छे, समुदायले यो हाम्रो होइन भन्ने कुरा पनि गरिरहेका छन् । धार्मिक रूपमा नमाने पनि सांस्कृतिक रूपमा सबै नेपालीको भन्ने थियो । साथै, त्यस्ता भाव सबैमा भयो भने राम्रै हुन्छ, तर छैन अहिले । तर, धार्मिक रूपमा खासै त्यस्तो परिवर्तन देखिँदैन । धर्मको रूपमा यसलाई देवीको पूजा गरेर, उपासना गरेर घरघरमा पहिला–पहिला जुन हुन्थ्यो अहिले पनि त्यही खालको भइहाल्छ । केही सांस्कृतिक रूपमा परिवर्तन अवश्य आएको छ र सामाजिक समाजमा यसको केही आर्थिक प्रभाव र अहिले प्रविधिको कारणले गर्दाखेरि चङ्गा उडाउने, पिङ हाल्ने त्यो छैन र हाम्रो नेपाली समाजमा जोडिएका चिजहरू त्यो सबै हराउँदै गए र मानिसहरूमा पनि पहिलेजस्तो ती कुराहरूमा त्यति रुचि छैन । किनभने मनोरञ्जनका अरू साधनहरू प्राप्त भए, ती चिज भनेको मनोरञ्जनका लागि प्रयोग गरिने हो, अरू नै सजिलो साधन भइसकेपछि किन अरू गर्ने, किन गाह्रो गर्ने भन्ने भाव आएको हो कि भन्ने मलाई लाग्छ । चाडपर्व भनेको हाम्रो धार्मिक रूपमा भिज्नु हो र त्यसलाई अलिकति खानपिनसँग बढी जोडेर माछामासुको बढी प्रयोग, जाँडरक्सीको बढी प्रयोग, सकीनसकी भए पनि देखावटी जीवन जिउने खालको विकृति अभैm पनि देखिन्छ । पहिलेचाहिँ यति धेरै सहरीकरण थिएन, त्यसैले मान्छेहरूले वर्षभरिका लागि यही मौका कुरेर बस्थे र किन्थे पनि । अब अहिले त प्राय: सबै ठाउँमा यातायातको सुविधा छ र आवश्यक परेको अवस्थामा जहाँ जस्तो कपडा किन्ने वातावरण छ, त्यही पनि दसैं भन्ने खालको अलिकति मानिसहरूमा छ । त्यसैले सामान्य हैसियत भएका मान्छेहरूको आर्थिक कमी छ अथवा आयआर्जन स्रोत कम छ, तिनीहरूका लागिचाहिँ जसरी पनि किनमेल गर्ने भन्ने खालको भावना देखिन्छ र यही बेलामा बढी चोरीडकैती हुनेजस्ता विकृति त देखिन्छ । दसैंले नेपालीपन झल्काउने कुरामा पनि कमी आएको छ, किनभने त्यो विकासअनुसार एउटा कालक्रम प्रविधिको विकासले धेरै कुरा भित्रिनु त्यो स्वाभाविक नै हो । तर, हाम्रो नेपाली संस्कृतिमा भने आफ्नो संस्कृति–परम्परालाई चाहिँ त्यसलाई त्यहीँ रूपमा राखिरहने भन्दा पनि अरूको संस्कृतिपट्टि बढी लच्किने, अरूको संस्कृतिबाट बढी प्रभावित हुने, आफ्नो संस्कृति–परम्परालाई भने त्यति वास्ता नगर्ने, त्यो खालको प्रविधि नेपालीहरूमा धेरै भएको हुनाले त्यसलाई हाम्रो परम्परा, हाम्रो यो मौलिक पर्व हो भन्ने बुझेर जोगाउने भन्दा पनि अरू संस्कृतिबाट जे कुरा आइरहेका छन् र त्यसैलाई बढी र त्यसको प्रवाहमा आएर मौलिक चिज हराउँदै गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्