Logo

स्मार्ट क्यूआर र नेपाल–पे क्यूआरबीच अन्तर आबद्धता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) तथा नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेसनल पेमेन्ट स्वीच मार्फत् क्यूआर अन्तरआबद्धता कायम गर्न सम्झौता भएको छ ।
सम्झौता पत्रमा एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु तथा एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरू, एससिटी तथा एनसिएचएलका सञ्चालक समितिका सदस्यहरूको उपस्थिति थियो ।
एससिटी तथा एिसीएचएल बीचको यो सम्झौताले क्यूआर सम्बन्धी भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ । उक्त सम्झौतापश्चात स्मार्ट क्यूआर उपलब्ध रहेका मोबाइल बैंकिङ वा वालेटका ग्राहकले नेपाल–पे क्यूआरका मर्चेन्टहरूलाई क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । त्यसै गरी नेपाल–पे क्यूआर उपलब्ध रहेका मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आइपिएसका प्रयोगकर्ताले स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्नेछन् ।
यसरी ग्राहकलाई दुवै नेटवर्क भित्रका क्यूआर सम्बन्धी भुक्तानी गर्न सहज हुने छ भने बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई पनि छुट्टै मर्चेन्ट आबद्ध गराउन आवश्यक हुने छैन ।
हाल नेपाल–पे क्यूआरमा ७० हजार भन्दा बढी र स्मार्ट क्यूआरमा १ लाख ६० हजारभन्दा बढी मर्चेन्टहरू आबद्ध छन् । नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल–पे क्यूआर सञ्चालनमा ल्याइएको हो ।
नेसनल पेमेन्ट स्वीचका निम्ति हाल हालसम्म ५७ वाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनी तथा १३ भुक्तानी सेवा प्रदायकले सम्झौता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्