मूल्यवृद्धि फिर्ता लिन निर्माण व्यवसायीको माग

निर्माण व्यवसायीहरूले सिमेन्ट, छडलगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । उद्योगहरूले एकतर्फीरुपमा सिमेन्ट, छडलगायतका निर्माण सामग्रीमा अप्रत्यासित ढंगले चर्को मूल्यवृद्धि गरेको भन्दै व्यवसायीहरूले तत्काल फिर्ता लिन माग गरेका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघले बुटवलमा पत्रकार सम्मेलन गरी १५ दिनभित्र मूल्यवृद्धि फिर्ता नभए देशभरका निर्माण व्यवसायी काम बन्द गरेर आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । उचित कारण र आधार विनै कार्टेलिङ गर्न मिलेमतोमा मूल्यवृद्धि गरिएकाले यथाशीघ्र फिर्ता गर्नुपर्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले बताए । उद्योगहरूले इन्धनको मूल्य र भारतबाट आयात हुने कच्चा पदार्थमा मूल्यवृद्धि भएकाले सिमेन्ट र छडमा मूल्यवृद्धि भएको हो भनी गरेको प्रचार गलत भएको अध्यक्ष श्रेष्ठले बताए । उनले इन्धन र कच्चा पदार्थमा भएको मूल्यवृद्धिको तुलनामा कैयौं गुणा बढी निर्माण सामग्रीमा मूल्यवृद्धि गरिएको दाबी गरे । जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेका जिल्ला दर रेट निर्धारण समितिको बैठकले अप्रत्याशीत रुपमा वृद्धि भएको दररेट परिवर्तन गर्नसक्ने कानुनी व्यवस्था भएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट सो समितिको बैठक बसाली नयाँ दररेट निर्धारण गर्न पनि महासंघले माग गरेको छ ।
महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजनको व्यवस्थालाई कडाइका साथ लागू गर्न पनि माग गरेको छ । “मूल्यवृद्धि गर्नुपर्ने औचित्य उद्योगी र सरकारले पुष्टी गर्न सकेका छैनन्,” अध्यक्ष श्रेष्ठले भने, “अस्वाभाविक रूपमा गरिएको मूल्यवृद्धि फिर्ता नभए देशभरका निर्माण व्यवसायी आन्दोलनमा जान्छन् ।”
निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले राष्ट्रिय गौरवका आयोजनाहरू, भूकम्पपछिको पुनर्निर्माण र करिब ८ लाख नीजि आवासीय भवन निर्माण कार्य प्रभावित हुने महासंघको भनाई छ । सरकारले मूल्यवृद्धि फिर्ता नगराए मूल्यवृद्धिबाट पर्न जाने क्षतिको क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने महासंघले माग गरेको छ ।
अध्यक्ष श्रेष्ठले देशभरका निर्माण व्यवसायीले सरकारबाट करिब ४२ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको भन्दै उक्त रकम यथाशीघ्र उपलब्ध गराउन माग गरे । ठूलो परिमाणको बक्यौता रकम भुक्तानी नहुँदा बजारमा बैंकिङ तरलताको अभाव भएको र अर्थतन्त्रमा नकारात्मक असर परिरहेको महासंघको ठहर छ । महासंघले संस्थाका तत्कालीन अध्यक्ष शरदमान गौचनको हत्यामा संलग्न केही अभियुक्त अझै पक्राउ नपरेको भन्दै तत्काल पक्राउ गरी सुरक्षाको प्रतयाभूति दिलाउन पनि माग गरेको छ ।