सिटिजन्स बैंकद्वारा कम्प्युटर र प्रिन्टर प्रदान

सिटिजन्स बैंकले शाखा कार्यालय भूमे रुकुम पूर्वले एक संस्थालाई सहयोग गरेको छ । भूमे गाउँपालिका–३, मा रहेको झुम्लाबाङ भिलेज फाउन्डेसन संस्थालाई बैंकले ५० हजार रकम बराबरको सामग्री सहयोग गरेको हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालनअन्तर्गत एक कम्प्युटर र एक प्रिन्टर सामग्री हस्तान्तरण गरेको सिटिजन्स बैंक भूमे शाखा कार्यालयका प्रबन्धक दुर्गाबहादुर डाँगीले बताए । “बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहयोग गर्ने गरेका छौँ,” उनले भने, “बैंकको सहयोग योजनाअनुसार विभिन्न क्षेत्रबाट सहयोग गर्ने गरेको र नागरिकमा बैंकिङको कारोबार गर्नमा बानी बसालदिने उद्देश्यले सहयोग गर्ने गरिएको छ ।”
फाउन्डेसनले विगत ९ वर्षको अन्तरालमा शिक्षा, स्वास्थ्य, वित्तीय, संस्कृति तथा कृषिजस्ता काममा सकृया रहेको छ । विभिन्न व्यक्तिबाट सहयोग तथा श्रमदान गरेर अहिले फाउण्डेशनले विद्यालयमा भवन निर्माण, स्वास्थ्य एकाइ सञ्चालन गरिराखेको र संस्कृति भवन निर्माण काम भईराखेको फाउन्डेसनका कार्यकारी निर्देशक अयज बूढाले जानकारी गराए । अहिलेसम्ममा देश विदेशबाट विभिन्न व्यक्ति तथा संघ–संस्थाबाट आर्थिक, भौतिक, सामग्री तथा स्थानीयले श्रमदानबाट आफूमा भएको सीप सहयोगले फाउन्डेसन सञ्चालन भइराखेको बूढाले बताए ।
स्थानीय तहमा बैंक नहुँदा बैंकिङ कारोबारका लागि सिस्ने गाउँपालिकाको रुकुमकोट र कतिपय अवस्थामा रुकुम पश्चिममा समेत पुग्नुपर्ने बाध्यता अब बैंक स्थापना भएपछि सहज भएको छ । जिल्लाका तीन स्थानीय तहमै बैंकको शाखा स्थापना भएर कामकाज सुरु गरेको छ । बैंकले सरकार र सर्वसाधारण दुवैलाई सजिलो बनाइ दिएको हो । सिद्धार्थ बैंकले पुथाउत्तरगंगा गाउँपालिकामा शाखा स्थापना गरी कामकाज सुरु गरेको छ । सिस्ने गाउँपालिकामा नेपाल बैंक लिमिटेडसहित चार बैंक तथा सहकारी वित्तीय संस्थाले काम सञ्चालन गरिराखेका छन् । रुकुमपूर्व जिल्लाका सबै स्थानीय तहमा बैंक पुगेका छन् ।