Logo

दसैंमा चिउरी पेलेर तेलको जोहो

सबैतिर दसैंको चहल पलह सुरु भइसकेको छ । विदेशिएका तथा सहर गएकाहरू पनि गाउँ फर्किन थालेका छन् ।
घोराही–१३ मौलाकोटका बासिन्दाहरू भने यतिबेला दसंैका लागि तेलको जोहोका लागि चिउरी पेल्न थालेका छन् । बिहानैदेखि रातिसम्म नै उनीहरू तेलको जोहो गर्न व्यस्त हुने गरेका हुन । घोराही उपमहानगरपालिका–१३ को विकट बस्ती मौलाकोटदेखि केही परको जंगलमा हिमाल मगर, उनकी आमा र दिदीले दसंैका लागि चिउरीको तेल पेल्न परम्परागत काठको कोलमा व्यस्त थिए । नेपालीहरूको महान पर्व विजया दसमी सुरु भएसँगै उनीहरूलाई पनि दसंै र तिहारका लागि रोटी पकाउनेदेखि सिजनमा चिउरीको तेल बिक्री गरेर दुई चार पैसा कमाउनका लागि तेल पेल्न भ्याइनभ्याई छ । यस सिजन जंगलमा सात बोरा चिउरीका फल टिपेका हिमालको परिवारले आठ धार्नी चिउरीको तेल पर्ने अनुमान गरेका छन् ।
“जंगलमा ठूला–ठूला रुख भएका कारण धेरै चिउरी टिप्न सकेनांै । यस वर्ष सात बोरामात्रै चिउरीको फल टिपेका थियौं,” हिमालले भने, “त्यही फल पेल्दा आठ धार्नी जति तेल पर्ने अनुमान छ ।” यही तेलबाट दसै र तिहारका लागि रोटी पकाउनका साथै केही तेल बिक्री गर्ने बताए । मौलाकोटकै स्थानीय गंगबहादुर थापाले पनि चाडपर्वका लागि चिउरीको तेल पेलिसकेका छन् । सानो परिवारसँगै उमेरले नसक्ने भएका कारण आपूmले चाडपर्वमा रोटी पकाउने र घरमा खानका लागि मात्रै चिउरीको तेल पेलेको गंगाबहादुरले बताए । “चिउरीको फल टिप्नलाई जंगल जानुपर्छ । तर उमेरले नसक्ने भएकाले फल टिप्नलाई रुख चढ्न सकिँदैन । खसेका फलमात्रै टिप्ने हो,” गंगाबहादुरले भने, “त्यसैले चाडपर्वमा रोटी बनाउनका लागि मात्रै भए पनि चिउरीको तेल पेलेर राखेका छौं ।” सक्नेले धेरै तेल बनाएर बिक्रीसमेत गर्ने गरेको उनले बताए । तर जंगल गएर फल टिप्नु पर्ने, घर ल्याएर कुटेर र कोलमा पेलेर तेल निकाल्दा मिहिनेत धेरै लाग्ने भएका कारण पहिलेको तुलनामा धेरै मानिसले चिउरीको तेल पेल्न छोडेको उनी बताउँछन् ।
चिउरीको तेल स्वास्थ्यका लागि फाइदासँगै पकाएका रोटीहरू बास्ना आउने भएकाले मौलाकोटका अधिकांस स्थानीयले दसै तथा तिहारका अवसरमा चिउरीको तेल पेल्ने गरेको गंगाबहादुर बताउँछन् । “अन्य समयमा तोरीको तेलले काम चलाए पनि चाडपर्वमा चिउरीको तेल खाने गर्दछन्,” उनले भने, “जसले गर्दा आजभोलि कहिलेकाहीं तेल पेल्नलाई समेत पालो कुर्नुपर्छ ।” अधिकांस स्थानीयले चाडपर्वमा घरका लागि चिउरीको तेल पेल्ने गरे पनि ठूलो परिवार हुने र मिहिनेत गर्ने परिवारले चिउरीको तेल बेचेर राम्रो आम्दानी गर्ने गरेका छन् । तर पछिल्लो समय बजारमा पाइने अन्य तेलका कारण धेरै मानिसले चिउरीको तेल पेल्न छोडेको उनी बताउँछन् । यसको मुख्य कारण चिउरीको तेल पेल्न धेरै दु:ख छ । “चिउरीको तेल पेल्नलाई धेरै मिहिनेत गर्नुपर्छ । तर मानिसह” सुविधा खोज्छन्,” उनले भने, “जसले गर्दा घरनजिकै भएको जंगलका फलहरू खेर जान्छन् । यहाँबाट मानिसहरू एक घण्टा हिँडेर बजार गएर तेल ल्याएर खाने गर्दछन् ।”
मौलाकोटसँगै बुढाकोट, लापेलगायतका घोराही उपमहानगरपालिकाका पहाडी क्षेत्रका विभिन्न स्थानका स्थानीयले वर्षेनी जंगलबाट चिउरीको फल ल्याएर तेल पेल्ने गरेका छन् । स्थानीयका अनुसार चिउरी चैतको अन्तिम तिर फूल खेल्न थाल्छ । चैत महिनामा फुलेर असारदेखि साउन महिनासम्म चिउरी पाक्ने गर्दछ । त्यसरी पाकेर खसेको फल टिप्ने, सफासँग धुने र सुकाउने गरिन्छ । त्यसपछि तेल पेल्नका लागि तयार गर्न फललाई धुलो बनाउन ढिकीमा कुट्ने र नरम बनाउनका लागि आगोमा पकाउने गरिन्छ । आगोमा पकाएर नरम बनाएपछि त्यसलाई काठको कोलमा हालेर पेलेर तेल निकाल्ने गरिँदै आएको माधव केसीले बताए । तेल पेल्नका लागि आधुनिक कोल नहुँदा स्थानीयले परम्परागत रूपमा बनाएको काठको कोलबाटे पेल्ने गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्