Logo

सीमापारी भने चहलपहल

दसैं सुरु भइसक्दा पनि नेपालगन्ज सुनसान

पश्चिम तराईको व्यापारिक सहर नेपालगन्जमा दसैं सुरू भइसक्दा समेत यस वर्ष खासै चहलपहल बढेको छैन । पछिल्लो समय विश्व व्यापारमा देखिएको मन्दीका कारण बजारमा अत्याधिक महंगी बढेको छ ।
उपभोक्ताको क्रय क्षमता घट्दै गएको अवस्थामा यतिबेला नेपालीका घरआँगनमा दसैँको चटारो सुरु भइसकेको छ । बजारमा दसैंको किनमेल गर्नेको चहल पहल छ । खासगरी दसैंको बेला नयाँ लुगा लगाउने, मिठो मसिनो खाने, मरमसलादेखि नयाँ भाडाकुँडा किन्नेहरुको भिड पहिले भन्दा बढीरहँदा नेपालगन्जका व्यापारीहरु भने सोचेजस्तो व्यापार नभएको बताउँछन् ।
न्युरोडमा जुता चप्पल व्यवसाय गरीरहेकी माया खड्काले भनिन्, “पहिले दिनमा कम्तीमा पनि १५ देखि २० हजार रुपैयाँ कारोबार हुन्थ्यो तर अहिले त मुस्किलले दुई हजारको बिक्री हुन्छ ।”
नेपालगन्जमा पछिल्ला केही वर्षयता चाडवाडको समयमा समेत व्यवसाय हुन सकेको छैन् । पछिल्ला दुई वर्ष कोरोनाका कारण व्यवसाय ठप्प हुँदा धरासायी भएको अर्थतन्त्र यस वर्षको दसैंमा केही सुधार हुने आशामा नेपालगन्जका व्यवसायी थिए । तर गत वर्ष कोराना महामारीका कारण व्यवसाय घटेको भन्दै चित्त बुझाउनु परेपनि यसपाली गत वर्ष भन्दा कम व्यापार भएको त्रिभुवन चोकमा कपडा पसल संचालन गरेका सुनिल गुप्ताले बताए । “यसपाली सबै राम्रै थियो अब त व्यापार राम्रो होला भन्ने अपेक्षामा हामी थियौं” उनले भने, “यसपाली झन डामाडोल हुनेभयो ।”
यता लामो समयदेखि कोरोना महामारीको असर र विश्व व्यापारमा देखिएको मन्दीका कारण उपभोक्ताको क्रय क्षमता घट्दै गएको छ । वर्षदिनको चाड भएका कारण मिठो मसिनो खाने र नयाँ लुगा लगाउने बाध्यताका बिच खर्चिलो बन्दै गएको दसैंलाई कसरी पार लगाउने भन्ने सकस उपभोक्तामा भएको स्थानीय श्यामप्रसाद सापकोटाले बताए । “बजारमा हर सामान महंगो छ” उनले भने, “यसपाली त दसैं कसरी मान्ने भन्ने चिन्तामा छौं ।”
व्यापार नहुनुमा विकास निर्माणका गतिविधि नहुँदा सर्वसाधारणसँग पैसा नहुनु र बैंकले कर्जाको ब्याजदरमा उच्च वृद्धि गर्दा बढेको महंगीका कारण व्यवसायी मारमा परेको निजी क्षेत्रका व्यवसायीहरुको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान सदस्य कृष्णप्रसाद श्रेष्ठ बैंकको चर्को व्याज वृद्धि र विकास निर्माणका कार्य नहुँदा सर्वसाधारणसँग पैसा नभएकोले महंगी बढनुका साथै व्यापारमा गिरावट आएको बताउँछन् ।
नेपालगन्जका व्यापारी व्यापार नभएर बस्नुपरेपनि उत्ता सीमापारी रुपैडिहामा भने नेपालीहरुको थामीनसक्नु भिड छ । पश्चिम तराईका विभिन्न जिल्लाबाट सस्तो पाइने भन्दै उपभोक्ताहरु दैनिक सीमा पारी पुग्ने गरेपनि कतिपय सामानमा ठगिने गरेका छन् । त्यहाँवाट खरिद गरेर लैजाने उपभोग्य सामग्रीको भन्सारसमेत नर्तिने भएका कारण एकातिर सीमावर्ती नेपाली बजार फस्टाउन सकेको छैन भने अर्कोतिर सरकारी राजस्व पनि गुम्ने गरेको छ ।
सरकारले सीमापारीबाट सामान ल्याउँदा एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार लिने नीति बनाएपनि सरकारी उदासीनताका कारण त्यो प्रभावकारी हुन सकेको छैन । स्वदेशी उत्पादन प्रर्वद्धन, भन्सार नियमनमा कडाई र चाडवाडको बेलामा सहुलियत दिने राज्यको नीति नाम मात्रको भएका कारण उपभोक्ता आकर्षित हुन सकेका छैनन् । जसका कारण मुलुकको समग्र अर्थतन्त्र प्रभावित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्