Logo

व्यापारी भन्छन्— बैंकको ऋण तिर्न नसकेर भाग्ने अवस्था आयो

सीमावर्ती नेपाली बजार दसैंतिहार आउन लाग्दा पनि सुनसान

विराटनगर–६ का शंकर साहले व्यापार गर्न थालेको गत वैशाखदेखि २८ पूरा भएर २९ वर्षमा लागेको छ । उनी विराटनगर–९ को गुद्रीबजारमा कपडाको व्यापार गर्दै आएका छन् । तर, साहले तीन दशकको व्यापारको अनुभवमा यस्तो मन्दी कहिल्यै सामना गर्नुपरेको थिएन । केही वर्षदेखि उनलाई पसलको भाडा तिर्न पनि धौधौ पर्न थालेको छ । यसको एउटै कारण हो— व्यापार नहुनु ।
दसैं आउन लाग्दा पनि बजार सुनसान छ । विगतमा यो समयमा फाट्टफुट्ट बिक्री हुन्थ्यो । तर, यसपटक दिनमा ५ सयको पनि सामान बिक्री नभएको साह बताउँछन् । “व्यापार गर्न थालेको झन्डै तीन दशक हुन लाग्यो, यस्तो अनुभव त मैले कहिल्यै गरेको थिइनँ,” साह भन्छन्, “सीमावर्ती बजारले हाम्रो व्यापारलाई चौपट्टै पार्‍यो ।” विराटनगरबाट ७ किलोमिटरको दूरीमा भारतीय सीमावर्ती बजार जोगबनी पर्छ । जुन बजार नेपाली उपभोक्ताकै कारण सधैंजसो गुल्जार हुन्छ । जोगबनीमा चाडबाडबाहेकको समयमा पनि दैनिक ३–४ करोडको कारोबार हुन्छ । दसैं–तिहारजस्ता चाडपर्वको समयमा त जोगबनीमा दैनिक १० करोडभन्दा बढीकै कारोबार हुने गरेको छ । कोरोनाको समयमा सीमा नाका बन्द हुँदा विराटनगरको व्यापार निकै फस्टाएको थियो । “जोगबनी बजार विराटनगरका लागि अभिशाप नै भयो,” साहले भने, “यही व्यापार गरेर बूढो भइसकियो, अब अन्य पेसा–व्यवसाय गर्ने अवस्था पनि छैन ।”
त्यस्तै विराटनगर–१० का संजयकुमारसिंह मण्डलले विराटनगर मेनरोडमा १७ वर्षदेखि इलेक्ट्रोनिक्सका सामानको व्यापार गर्दै आएका छन् । उनको पनि पीडा उस्तै छ । घरबेटीले हरेक वर्ष पसलको भाडा बढाउने गरेको उनको दुखेसो छ । बैंकको ब्याज, पसल भाडा, बिजुली, पानी, विभिन्न शीर्षकका करलगायत हरेक वर्ष बढ्दै गए पनि आम्दानी भने बढ्न नसकेको उनको भनाइ छ । “खर्चको ग्राफ हरेक वर्ष बढ्दै गएको छ,” मण्डलले भने, “तर, आम्दानी भने घट्दो क्रममा छ । यसले व्यापारीहरूलाई विकल्प खोज्न बाध्य बनाएको छ ।” मण्डल खुद्रा व्यापार संघ विराटनगरका अध्यक्ष हुन् । उनका अनुसार धेरै व्यापारीहरूले पसल छाडेर विदेश पलायन भएका छन् ।
सरकारको नीतिकै कारण नेपालमा व्यापार–व्यवसाय गर्ने अवस्था नभएको मण्डलले आरोप लगाए । सीमा नाकामा कडाइ गर्ने हो भने जोगबनी जाने क्रम कम हुने उनको सुझाव छ । अझ चोरीपैठारी भएर आउने सामानसित भन्सार कर तिरेर आयात भएका वस्तुले प्रतिस्पर्धा गर्नुपरेको छ । खुला सिमानाका कारण धेरै सामान अवैध रूपमा आउने गरेको छ । एक हजारभन्दा बढीको सामान ल्याउँदा अनिवार्य करबिजक काट्नुपर्ने नियम छ । तर, उक्त नियम कार्यान्वयन भएको छैन । जोगबनी जाने उपभोक्ताले एकपटकमा २०–३० हजारसम्मको सामान ल्याउने गरेका छन् । यसरी ल्याउने सामानमाथि सीमा नाकामा बसेका प्रहरीले पनि आँखा लगाउँदैन । “यताका प्रहरी प्रशासनलाई समेत पारिका व्यापारीले किनेका हुन्छन्,” मण्डलले भने, “यदि कडाइ गर्ने हो भने उताको व्यापार सुक्छ, त्यही भएर यताका पुलिस र भन्सारका कर्मचारीलाई समेत पारिका व्यापारीले मिलाएका हुन्छन् ।”
मुख्य गरी नेपाली उपभोक्ता चिनी, मसला, कपडालगायतका सामान खरिद गर्न जोगबनी पुग्ने गरेका छन् । नेपालमा भन्दा २० प्रतिशत सस्तो पर्छ जोगबनीमा । देखिँदा सस्तो लागे पनि तौल र नापमा नेपाली उपभोक्ता ठगिने गरेको अध्यक्ष मण्डल बताउँछन् । उनकै शब्दमा ५ किलो चिनी घरमा ल्याएर तौलँदा साढे ४ किलोमात्रै हुन्छ । तर, व्यापारीले ५ किलोकै पैसा लिन्छन् । जाने–आउने गाडी भाडा, समय, जोगबनीको भीडमा हुने कष्ट सबैलाई मूल्यांकन गर्ने हो भने नेपालकै बजारमा खरिद गर्दा उपभोक्ता फाइदामा हुने अर्का किराना व्यापारी मनोज यादव बताउँछन् । जोगबनीमा नेपाली उपभोक्ताको अनुहार हेरेर त्यहाँका व्यापारीले सामान दिने गरेको यादवले बताए । “अलि बाठो र जान्नेबुझ्ने उपभोक्ता भएमा अलि राम्रो सामान दिने गर्छन्,” यादवले भने, “सोझा उपभोक्तालाई त कम गुणस्तरका सामान दिन्छन् तर पैसाचाहिं कसेर लिन्छन् त्यहाँका व्यापारीले ।”
दसैं–तिहारको समयमा विराटनगरमा मुस्किलले ५ करोड कारोबार हुने गरेको विराट व्यापार संघका पूर्वअध्यक्ष सुजन थापा बताउँछन् । यो लत्ताकपडा, गाडी, इलेक्लोनिक्सका सामान सबैको कारोबार हो । तर, जोगबनीमा खाद्यान्न र लत्ताकपडाको मात्रै १० करोडको कारोबार हुन्छ । जोगबनीको व्यापार शतप्रतिशत नेपाली उपभोक्ताले टिकेको छ । भन्सारमा कडाइ, खुला सीमाबाट हुने चोरीपैठारी नियन्त्रण, चिनीलगायतका खाद्यान्नमा लाग्दै आएको भन्सार शुल्कलाई शून्यमा नझारेसम्म विराटनगर मात्रै होइन, पूर्व मेचीदेखि महाकालीसम्मका भारतीय सीमावर्ती नेपाली बजारको अवस्था माथि नउठ्ने थापाको भनाइ छ । “नेपाली व्यापारीहरू बैंकको किस्ता तिर्न नसकेर भाग्नुपर्ने अवस्थामा पुगेका छन्,” थापाले भने, “चाडबाडमा बिक्री बढेदेखि त्यसैको आम्दानीले बैंकको ब्याज तिरिन्थ्यो । तर, अहिलेको अवस्थालाई हेर्ने हो भने पसल भाडा तिर्न पनि गाह्रो छ ।”
सोह्रश्राद्ध सुरु भएदेखि नै जोगबनीमा नेपाली उपभोक्ताको भीड लाग्ने गरेको जोगबनीमा विगत ३३ वर्षदेखि व्यापार गर्दै आएका अशोक जैन बताउँछन् । अन्य समयमा भन्दा दसैंतिहारमा बढी बिक्री हुने गरेको उनले बताए । उनका अनुसार न्यूनतम ५ देखि ४०–५० हजारसम्मका सामान एउटै व्यक्तिले किन्ने गरेका छन् । परिवारका तीन–चार जना जाने र बेग्लाबेग्लै झोलामा सामान राखेर ल्याउँछन् । प्रहरीले पनि चाडबाडको सामान ल्याउँदा खासै वास्ता गर्दैन । तर, यही मौकामा कतिपय कारोबारीले विराटनगरका पसलहरूमा ल्याएर बिक्रीसमेत गर्ने गरेका छन् । “कोरोनाको बेला त हामी यहाँबाट व्यापार छाडेर भाग्ने बेला भएको थियो । दिनमा एक–दुई हजारको पनि सामान बिक्री हुँदैनथ्यो,” जैनले भने, “तर दसैंतिहारको १५ दिनको कारोबारले अन्य समयको सबै घाटा उकास्छ ।”
नेपाली बजारलाई चलायमान बनाउन सरकारले नीतिमा परिवर्तन गर्नुपर्ने उपभोक्तावादी नेता कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ बताउँछन् । उनले भन्सार शुल्क घटाउनेदेखि सीमा नाका कडाइ गर्नेसम्मको काम सरकारले गर्नुपर्ने सुझाव दिए । भण्डारीले उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्दै स्थानीय व्यापारीहरूले चाडबाड लक्षित छुटका योजनाहरू ल्याउनपर्ने बताए । “तौलका कुरादेखि गुणस्तरका बारेमा उपभोक्तालाई जानकारी गराए पक्कै पनि जोगबनी जाने क्रम घट्ने थियो,” भण्डारीले भने, “धेरै उपभोक्ता लहैलहैमा भारतीय बजार जाने गरेका छन् ।”
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाली बजार उपभोक्तामैत्री बनाउन प्रशासनका तर्फबाट कुनै कसरत नराख्ने बताए । उनले चाडवाडमा राति अबेरसम्म पसल खोल्नका लागि सुरक्षा प्रदान गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाए । प्रजिअ दाहालले सीमा नाकामा कडाइदेखि खुला नाकाबाट हुने अवैध आयातलाई निरुत्साहित गर्न प्रहरीको उपस्थिति बढाइएको सुनाए । “सीमावर्ती बजारको यो समस्या विगतदेखिकै हो,” उनले भने, “तर पनि अवैध आयात बन्द गर्ने काम गरिरहेका छौं ।”

क्याप्सन
विराटनगरको मुख्य बजार मेनरोडका सुनसान पसलहरू ।

प्रतिक्रिया दिनुहोस्