Logo

सुनसान वीरगन्जको व्यापार, रक्सौल गुल्जार

आर्थिक कारोबार र आयात–निर्यातको प्रमुख नाका वीरगन्ज सधैं गुल्जार हुनुपर्ने हो । तर, चाडबाडको समयमा समेत वीरगन्ज बजारको व्यापार सुनसान नै छ । मधेस आन्दोलनदेखि खस्किएको वीरगन्जको बजार अझै सुधार हुन सकेको छैन ।
मधेस आन्दोलनमा सीमा नाकामा अवरोध हुँदा ठोरी नाकाबाट चितवन हुँदै पोखरा, बुटवल, काठमाडौंलगायतका सहरमा सामानको आपूर्ति हुने गरेको थियो । वीरगन्ज नाकाबाट सामान तस्करीको माध्यमबाट जितपुर, सिमरा हुँदै काठमाडौं पुग्ने गरेको थियो । त्यही समयदेखि वीरगन्जको बजार उठ्न सकेको छैन ।
कोरोना संक्रमण महामारीको समयमा नाका बन्द हुँदा नेपाली उपभोग्य वस्तु र वीरगन्ज बजारले केही राहत पाएका थिए । तर, फेरि कोरोना संक्रमण सामान्य अवस्थामा आएपछि रक्सौल–वीरगन्ज नाका खुला हुँदा वीरगन्जका उपभोक्ता सस्तो पाउने भन्दै रक्सौल जान थाले ।
जितपुर, हेटौंडा, नारायणघाट, काठमाडौंलगायतका उपभोक्ता पनि दसैं बजारका लागि रक्सौल नै पुग्ने गरेका छन् । तर, पहिलेको तुलनामा मधेस आन्दोलनपछि रक्सौलमा पनि नेपाली उपभोक्ताहरू कम जाने गरेको रक्सौलका व्यापारीहरूले बताउने गरेका छन् ।
हेटौंडा, नारायणघाटका उपभोक्ता जितपुर, सिमराको बजारमा नै अल्झिने गरेका छन् । वीरगन्ज आए पनि सिधै रक्सौल नै पुग्ने गरेका छन् । वीरगन्जका स्थानीय उपभोक्ता पनि वीरगन्ज भन्दा सस्तोमा उपभोग्य वस्तुहरू रक्सौलमा नै पाउने भएकाले प्राय सीमापारि नै जाने गरेका छन् ।
“यसपालिको बजार के भयो थाहै भएन,” सिटी मार्ट वीरगन्जका सञ्चालक राम लामा भन्छन्, ‘बरु कोरोना महामारीको समयमा नाका बन्द हुँदा स्थानीय उपभोक्ताहरू वीरगन्जमा नै किन्नुपर्ने अवस्थाका कारणले कारोबार राम्रै हुन्थ्यो । यसपटकको व्यापार दसैंको पहिलो दिन नै सुनसान छ ।”
वीरगन्जको बजार अहिले झन्डै ६० प्रतिशतले गिरावट आएको नेपाल उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य गोपाल केडिया बताउँछन् । उनी भन्छन्, “हामीले नेपाली उपभोक्ताका लागि चाहिने हरेक सामान बिक्री गर्ने गरेका छौं । तर, अहिलेको बजार ६० प्रतिशतले कमी आएको छ । बजारमा पैसा छैन । दसैं नै सुनसानजस्तो भएको छ ।”
बजारमा चहलपहल सुरु भएको छ । दसैं सुरु भए पनि वीरगन्जका साना तथा ठूला व्यापारीहरू व्यापार नहुँदा निराश भएका छन् । उपभोक्ता महँगीले जीवन धान्न मुस्किल परेको दुखेसो गरेका छन् । दुई वर्ष कोरोना महामारीले थलिएको बजार सामान्य भएपछि बजारको अवस्था सुधार हुने व्यवसायीहरूले आशा गरेका थिए ।
तर, कोरोनापछिको देशको अर्थतन्त्र निकै निराशाजनक देखिएको छ । फेरी डेंगीको त्रास, बढ्दो बेरोजगारी तथा आर्थिक अभावका बीच आमनागरिकमा यसपालिको दसैं उत्साहपूर्ण देखिएको छैन । यो वर्ष आशा भए पनि व्यापार भने पहिलेको तुलनामा नहुँदा व्यापारी पनि निराश छन् ।
रूस र युक्रेन तनावले उत्पादन आपूर्तिमा पारेको प्रभावले इन्धनमा भएको मूल्य वृद्धि र उपभोग्य वस्तुको मूल्यले आकाश छोएको छ । शतप्रतिशत प्रतीत पत्रमा मात्रै आयात गर्नुपर्ने राष्ट्र बैंकको बाध्यकारी प्रावधानले सामान आयातमा पनि कमी आएको र बजारको महँगीले पनि बजारलाई प्रभावित बनाएको छ ।
व्यापारी व्यापार नहुँदा निराश त छन् नै, आम उपभोक्ता महँगीले गर्दा थप पीडित छन् । पसलैपिच्छे फरक भाउ र मनपरी मूल्यले उनीहरू आजित देखिन्छन् । स्थानीय उपभोक्ता वीरगन्ज बजारभन्दा सीमापारि रहेको भारतीय बजार रक्सौल बजारमा पुग्ने गरेका छन् ।
वीरगन्जका व्यापारीलाई अहिले बैंकको ब्याज तथा घर भाडा तिर्नसमेत मुस्किल परेको दुखेसो गर्ने गरेका छन् । अकासिएको महँगी र बेलाबेलामा बजार अनुगमनको नाममा हुने नियामक निकायका कारणले पनि व्यवसायीहरू पसल बन्द गरेर बस्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।
बजारमा उपभोग्य वस्तुको मात्रै होइन, हरेक वस्तुको मूल्यवृद्धि भएको छ । कतिपय व्यापारीलाई भने मूल्यवृद्धिको बहाना गर्न सजिलो पनि हुने गरेको छ । खासगरी भारतीय बजारबाट अवैध रूपमा आउने उपभोग्य वस्तुहरूको भारतीय रुपैयाँको अधिकतम उपभोक्ता मूल्यभन्दा झन्डै दोब्बर मूल्यमा सामान बिक्री गर्ने गरेका छन् ।
त्यसरी बिक्री गर्ने सामानहरू अधिकांश भारतबाट अवैध बाटोबाट आउने गरेका छन् । अवैध बाटोबाट आउने सामानहरू वीरगन्जका व्यापारीहरूले बिल बिजकबिना नै बिक्री गर्ने गरेका छन् । यसले उपभोक्ताहरू ठगिने गरेको गुनासो गर्ने गरेका छन् ।
अधिकतम उपभोक्ता मूल्य लेखिएको भारतीय वस्तुहरूको भारतमै महँगो पर्ने अर्थात् अवैध बाटोबाट ल्याउने गर्दा महँगो पर्न जाने र महँगो पर्ने गरेको बहाना व्यवसायीले गर्ने गरेका छन् । यसले आम उपभोक्ताहरूलाई मात्रै होइन, वैध व्यापार गर्ने व्यवसायीहरूलाई पनि मार पर्ने गरेको उनीहरू बताउछन् ।
वीरगन्जमा दसैं बजारको रौनक पहिलेको जस्तो नरहेको युवा व्यवसायी शिवम साह बताउँछन् । उनी भन्छन्, “पहिले–पहिले दसैं सुरु भएपछि दसैं बजारमा जुन खालको मानिहरूको भीड हुने गरेको थियो, बजारका कपडा पसल, विभिन्न घरायसी सामग्रीका पसलहरूमा जुन भीड देखिने गरेको थियो, त्यो भीड अहिले देखिँदैन । एक त आममानिससँग अहिले पैसा छैन । केही ठूला धनाढ्यहरूसँग होला, तर सामान्य नागरिक, जो दिनभरी कमाएर बेलुका खानुपर्ने अवस्थाका गरिब बिपन्न मात्रै होइन, निम्न मध्यमवर्गीय परिवारमा पनि पैसा छैन । त्यसले पनि बजारमा खासै रौनक देखिँदैन ।”
वीरगन्जको सडकमा सवारी चाप र मानिसहरूको भीड देखिन्छ । तर, वीरगन्जका पसलेहरूले दसैंको मेलामा सडकमा राखिने खेलौना र जेरीको पसल हेरेर दिन बिताउने गरेका छन् । हरेक दसैंमा विद्युतीय सामग्री र सवारी साधनहरू पनि निकै बिक्री हुने गरेको थियो । तर, यो वर्षको दसैंमा मोटरसाइकल शोरुमहरूमा पनि सवारी साधन खरिद तथा एक्चेन्ज गर्नेहरूको भीड देखिँदैन । टिभी, फ्रिज, वासिङ मेसिन र मोबाइल खरिद गर्ने ग्राहकहरू न्यून मात्रै देखिएका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष प्रेमचन्द गोयल भन्छन्, “आएको सामान थन्किएर बसेको छ । व्यापार छैन । मान्छेसँग पैसा छैन । खवुला सिमानाका कारणले सामानहरू भन्सार क्षेत्रमा बिक्री हुँदैन । पहाडतिर मान्छेसँग क्रयशक्ति पनि कम भएको छ । तीन–चार वर्षअघिको जस्तो दसैं बजार वीरगन्जमा छैन ।”

सस्तो बजारले उपभोक्ताले राहत पाउने आशा
महँगो दसैंमा वीरगन्ज उद्योग वाणिज्य संघले सञ्चालनमा ल्याएको सस्तो पसलले केही उपभोक्तालाई राहत दिने आशा संघका अध्यक्ष डा. सुवोध गुप्ताले गरेका छन् । हरेक वर्ष दसैंदेखि सुरु हुने सस्तो बजार यस वर्ष पनि वीरगन्ज उद्योग वाणिज्य संघले सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सञ्चालनमा ल्याइएको दसैं संस्तो बजार पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले उद्घाटन गरेका छन् ।
सस्तो बजार उद्घाटन गर्दै प्रजिअ ढकालले वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको सस्तो बजारबाट वीरगन्जलगायत आसपास क्षेत्रका आम सर्वसाधारण लाभान्वित हुने बताए । उनले वीरगन्ज उद्योग वाणिज्य संघले सर्वसाधारणलाई लक्षित गरी दसैंको अवसर पारी आयोजना गरेको दसैं सस्तो बजार सञ्चालन गर्ने कार्यको सराहना पनि गरे ।
घरेलु तथा साना उद्योग कार्यालय, पर्सा र वीरगन्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सञ्चालन गरिएको सस्तो बजार सात दिनसम्म लाग्नेछ । दसैं सस्तो बजार, २०७९ घटस्थापनादेखि फूलपातीसम्म आयोजना हुने बताइएको छ । उक्त सस्तो बजारमा दैनिक उपभोग्य सामग्रीसहितका १९ वटा स्टल राखिएको छ ।
दैनिक उपभोग्य वस्तुहरू सुपथ मूल्यमा एकै थलोमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले बताए । दसैं सस्तो बजारमा दैनिक उपभोग्य सामग्रीहरू एकैथलोमा सुपथ मूल्यमा उपलब्ध भइरहेकाले यस्ता सामग्री खरिद गरी लाभान्वित हुन आम उपभोक्तालाई गुप्ताले आग्रह पनि गरे ।
सस्तो बजारमा नेपाली उत्पादनहरू उपभोक्तालाई जानकारी हुने र भारतीय वस्तुको मूल्यसँग समेत तुलना गर्न सक्ने भएकाले सस्तो बजारले आम उपभोक्तालाई राहत पनि हुने विश्वास संघले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्